Below Menu
Below Menu

सहकारी अभियानमा छन् एकसेएक महिला

सहकारी अभियानमा छन् एकसेएक महिला

नेपालको सहकारी अभियानको वर्तमान परिदृश्यको एउटा महत्वपूर्ण पाटो आज यहाँ चर्चा गर्न चाहन्छु । यो पाटोबारे अभियानमा अगाध प्रेम र आस्था राख्ने अनि अत्यधिक अपेक्षा र विश्वास गर्ने हामी जस्ता व्यक्तिहरु जानकार नभएका होइनौं तर यसले यो पटक आमरुपमा आवश्यक चर्चा पाएन कि भन्ने महसूस व्यक्तिगत रुपमा भएको छ । त्यसैले अस्ति, ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको पावन दिनमा विशेषतः सहकारी यससम्बन्धी सञ्चारमाध्यमहरुमा खबरहरु खोजेँ । केही आए, औपचारिकताहरु उनीए तर मुख्य विषयमा अपेक्षित चर्चा भएन । सहकारी क्षेत्रमा संलग्न सञ्चारकर्मी साथीहरुको ध्यान पनि पुगेन कि ? कलमजीवीहरुको कलमले शब्दहरुसँग साइनो गाँस्न सम्झिएन कि ? जे होस्, मनमा भावहरु उम्लिएपछि, केही उत्खनन प्रयास गरेको छु ।

७१ वर्ष पुगिसकेको मुलुकको सहकारी अभियानले धेरै उपलब्धिहरु हासिल गरेको छ । १० खर्बको कारोबार गर्ने सहकारी अभियानले सदस्यहरुको आर्थिक सामाजिक जीवनको क्यानभासमा परिवर्तनका कुचीहरुले सजीव चित्रहरु कोरेको छ । रुपान्तरणका रंगहरुले चित्रहरुमा खुसीका बुट्टाहरु भरेको छ । हिजो एक छाक खान मुस्किल हुनेहरुको मुहार सहकारीमै संलग्न भएर फेरिएको छ । सहकारीकै माध्यमबाट हजारौंको बचतको जोहो भएको छ, हजारौंको वित्तीय व्यवस्थापन भएको छ, हजारौं कर्ममा विश्वास गर्ने भएका छन्, हजारौं स्वरोजगार बनेका छन्, हजारौंका सन्तानहरुका सपनाहरु साकार भएका छन्, हजारौं नेतृत्व जन्मिएका छन्, हजारौं जीवनमा शिक्षा, चेतना र सम्भावनाको दियो प्रज्ज्वलित भएको छ । हुँदा खानेलाई हुनेखाने बनाएको छ, दिशा र गन्तव्य बोध नभएकाहरुलाई बाटो देखाएको छ, सहकारीले सहजता प्रदान गरेको छ । सामाजिक पूँजी निर्माणमा सहयोग पुर्याएको छ । विकट ठाउँहरुमा सहकारीहरु जन्मिएका छन्, विकराल परिस्थितिहरुमा सहकारीहरु सहयोगी हात भएका छन्, विरानो बस्तीहरुमा सहकारी आफन्त बनेर आडभरोसा दिलाएका छन् । यी सबै अवस्थाहरुबीच सहकारीकै कारण मुलुकको जनसांख्यिक बनोटमा आधा भन्दा बढी हिस्सा ओगट्ने महिलाहरु पनि कुनै न कुनै रुपमा माथि उठेका छन् । ८ मार्चको सेरोफेरोमा सहकारी अभियानका महिलाका सपना, सफलता र संघर्षका विषयहरु त्यति चर्चा भएन कि भन्ने महसूस गरेँ ।

सहकारी अभियानकै मात्र कुरा गर्दा महिला सहभागिता पुरुषको तुलनामा बढी छ । पछिल्लो तथ्यांक हेर्दा सहकारीमा महिलाको सहभागिता ५४ प्रतिशत छ । ३१ हजार बढी सहकारीमध्ये करिब ४ हजार २ सय सहकारीहरू महिलाद्वारा मात्रै सञ्चालित छन् । २०२९ सालमा इलाममा दर्ता भएको ‘महिला सुनाखरी बहुउद्देश्यीय संस्था’  नेपालको पहिलो महिला सहकारी हो भनिन्छ । महिला विकास कार्यालयको मातहतमा दर्ता भएका केही सहकारीभन्दा बाहेक सबै सहकारीहरू क्रियाशील छन् र समुदायमा आधारित भएर सञ्चालित छन् । सहकारी क्षेत्रमा समस्या आइरहँदा समेत महिलामात्रै आबद्ध महिलाकै नेतृत्वद्वारा सञ्चालित संस्थाहरु ‘सेफ एण्ड सेक्युरर्ड’ छन् । यो नेपालको सहकारी अभियानकै लागि गौरवको विषय हो ।

अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिलाहरुका योगदान र संघर्षका कथाहरु बग्रेल्ती आउनुपथ्र्यो । सहकारीका सामान्य महिलाका फेरिएका जीवनहरु, व्यवस्थापनमा काम गर्ने सानोदेखि उच्चतहका महिलाहरु, सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिमा बसेर निस्वार्थ योगदान गर्ने महिलाका मनोभावहरु सञ्चारमाध्यममा प्रशस्त आउनुपथ्र्यो तर मैले पाइनँ । जब महिलालाई सम्मान र उनीहरुको कर्मको आराधना गरिन्छ तब मानव सभ्यता, संस्कृति र समाजनै पुजित हुन्छ भनिन्छ । नेपालको सहकारी अभियानमा महिलाहरुको नेतृत्वदायी भूमिकाको चर्चा गर्दा बिर्सन नहुने केही नामहरुमा ओमदेवी मल्ल, २०३३ सालमा साझा नामक पुस्तिका प्रकाशन गर्नुभएकी सावित्री थापा (नेफ्स्कूनको पूर्व उपाध्यक्ष) पम्फा राई, रोहिणी जोशी अमृता सुब्बा, पार्वती खाँड राई, शान्ति अधिकारी, गोमा नेपाल, सरिता भट्टराई,  देवकी नेपाल, बिष्णु दाहाल, शिवा थापा, ज्ञानु पौड्याल, सीमा पुरी, इन्दिरा पन्त, कमलादेवी गिरी, सिता ढकाल, अमरावती महर्जन, मिना सिग्देल लगायत थुप्रैको नाम लिन सकिन्छ । त्यस्तै, जिल्ला सहकारी संघ लि.कास्कीकी अध्यक्ष सावित्रा कोइराला, सिन्धुली जिल्ला बचत संघकी पूर्व अध्यक्ष विमला श्रेष्ठ लगायत थुप्रै महिला दिदीबहिनीहरु सहकारीको जिल्लास्तरीय सञ्जालको उपल्लो नेतृत्वमा पुग्नुभएको हामीलाई अवगतै छ । लक्ष्मी थिङ र मञ्जु थिङ जस्ता मकवानपुरका साक्षर महिलाहरुले नेतृत्व गरेको संस्था प्रोबेसन ब्रान्डेड भएका छन् । 

यस्तै, आम सदस्यका रुपमा हजारौं महिला दिदीबहिनीहरुले जीवनलाई सहज बनाउनुभएको छ, यी विषयहरु अझै ओझेलमै छन् । केही समयअघि सहकारीको कर्जा लिएर अछामकी एक महिला देशकै अब्बल महिला साना तथा मझौला उद्यमीको रुपमा काठमाडौंमा पुरस्कृत हुनुभएको थियो । कतिपयको नाम यहाँ छुटेको पनि हुनसक्दछ । सहकारीमा जीवन उत्सर्ग गर्ने महिलाहरुको संख्या धेरै छ कति दिदीबहिनीहरुसँग त म पनि परिचित छैन । यसले मलाई मनभित्र अपरिमित खुसी प्रदान गर्छ । व्यवस्थापनको कुरा गर्दा, मैले भुल्न नुहने केही नामहरु नेफ्स्कूनको पहिलो प्रबन्धक अजेलिया रञ्जितकार, राधा कडरिया, शान्ता राई आदि । नेफ्स्कूनकै कुरा गर्दा, पहिलो महिला अधिकृत शिक्षा अधिकारी र अहिले त थुप्रै शाखाहरुको नेतृत्व महिला प्रमुखहरुले गर्नुभएको छ । तथ्याङ्कहरुमा हामी तगडा छैनौं तर पनि खोज्दै जाने हो र अध्ययन गर्ने हो भने थुप्रै हुनुहुन्छ । 

महिला सशक्तिकरणमा सहकारीको भूमिका उम्दा पाइएको छ । महिलाहरुलाई अधिकार, शिक्षा, चेतना र सामथ्र्य प्रदान गर्ने विषयमा नेपालको सहकारी अभियानले धेरैहद सम्म कञ्जुस्याइँ गरेको जस्तो लाग्दैन । अर्को एउटा परिदृश्यको चर्चा गरौं । मुलुकको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा भर्खरै ओमदेवी महिला निर्वाचित हुनुभएको छ । उहाँ नेपालको सहकारी अभियानको नेतृत्व गर्दै (केवल महिलाहरुको मात्र होइन) अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) मा समेत निर्वाचित हुने पहिलो सहकारी अभियन्ता हुनुहुन्छ । त्यस्तै, भारतबाट सहकारीकै विषयमा डिप्लोमा गर्ने पनि प्रथम अभियन्ता हुनुहुन्छ । लैङ्गिक हिसाबले एउटी महिला भएपनि उहाँ मुलुकको सहकारी अभियानको प्रतिनिधित्व आईसीए जस्तो विश्व मञ्चमा गर्ने पहिलो नेपाली हुनुहुन्छ । यो हाम्रो लागि गर्वको विषय हो । उहाँका संघर्षका कथाहरु कम्ति रोचक छैनन होला, केही विषय आएपनि धेरै उहाँमै सिमित छन् जसको बारेमा मुलुक र मुलुक बाहिर चर्चा हुनुपर्दछ ।

यस्तै, महासंघकै पहिलो महिला महाप्रबन्धक बन्ने इतिहास रच्नुभएको छ चित्राकुमारी थामसुहाङ्ले । उहाँले २५ वर्षबढी यही सहकारी अभियानलाई समर्पित गरिसक्नुभएको छ । सहकारीका समसामयिक विषयमा दर्जनौं लेख रचना प्रकाशित गरिसक्नुभएकी उहाँले सहकारी अभियानमा लागेका र नवप्रवेशीहरुको प्रेरणाका लागि पुस्तक समेत प्रकाशित गर्नुभएको छ, जुन एकदमै रुचाइएको छ । महिलाको रुपमा सहकारी अभियानमा सामेल भई आत्मकथा लेख्ने पनि उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । आफ्नो व्यस्तताकाबीच पनि कोभिड १९ महामारीका कारण भएको लकडाउनका समयलाई सदुपयोग गरी पुस्तक लेखेको उहाँले उल्लेख गर्नुभएको छ । समय व्यवस्थापन गर्न सक्दा महिलाले के सक्दैनन र ? भन्ने उहाँले प्रमाणित गर्नुभएको छ । सोही पुस्तक पढ्दा पनि उहाँले महिला भएकै कारण भोग्नुपरेका यावत समस्यासँग पौठेजोरी खेल्दै कसरी सफलता प्राप्त गर्नुभयो भन्ने प्रशस्त पठनीय उदाहरणहरु प्रस्तुत गर्नुभएको छ । सहकारीका ठूला राष्ट्रिय फोरमहरुको व्यवस्थापकीय जिम्मेवारीदेखि नेपाली सहकारी अभियानको प्रतिनिधित्व गर्दै लोभलाग्दा अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता र सानदार प्रस्तुतीकरणको विषय उक्त पुस्तकका अटाएका छन् । एउटी महिलाले परिवार र नातासम्बन्धसँगै व्यावसायिक जीवनमा पाएको सफलताका कथाहरु लोभलाग्दा छन् । चित्रा म्याडमको पुस्तक पढेर जान्ने बुझ्ने कुरो धेरै छ केवल महिलाहरुले होइन हामी जस्ता पुरुषहरुले पनि । साँच्चिकै ओमदेवी मल्ल र चित्राकुमारी थामसुहाङ अहिले सहकारी अभियानको क्रमशः राष्ट्रपति र प्रधानमन्त्री हो भन्दा अत्युक्ति हुँदैन । अभियानको नेतृत्व उहाँहरु दुई महिलाको काँधमा छ । सञ्चालक समितिको मियोका रुपमा ओमदेवी म्याडम र व्यवस्थापकीय विज्ञका रुपमा चित्रा म्याडम ।

विशेषत: मार्च महिना महिलाहरुलाई सम्मान गर्ने, उहाँहरुको योगदानको कदर गर्ने, उनीहरुका संघर्ष र सफलताका कथाहरु पढ्ने, प्रेरणा लिने र अघि बढ्ने मौका पनि हो । खुसी लाग्यो, ८ मार्चकै अवसर पारेर ‘मकवानपुरे १०१ सहकारी अभियन्ता’ पुस्तक विमोचन भएछ । त्यसभित्र मकवानपुर मात्र नभई मुलुककै सहकारी अभियानमा छाप छोड्न सफल मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ, व्यवस्थापन प्रमुख सुमित्रा वाइवा लगायतको संघर्ष र सफलताको कथा उनीएको जानकारीमा आयो । मकवानपुरकै राधा सिन्तान, विष्णुमाया लामा लगायत थुप्रै महिलाहरुको सफलता पुस्तकाकारमा ऐतिहासिक दस्तावेजीकरण भएको पाउँदा खुसी लाग्नु स्वाभाविक हो । बचत संघ मकवानपुरको प्रारम्भ महिला सहकारीको महिला प्रतिनिधिबाट भएको समाचारमा आएको छ । यो इतिहास धेरैलाई थाहा नहुन सक्छ, यसको उत्खनन भएको देख्दा मनमा खुसी दिलाएको छ । अभियानलाई सकारात्मक रुपमा तरंगित गर्ने यो पनि एउटा सशक्त उपाय हो । नकारात्मक र भ्रम छर्ने समाचारहरु विरुद्ध सहकारी अभियाले सकारात्मक र सत्य उजागर गर्ने अभियाननै चलाउनुपर्ने भएको छ । यसको एउटा तरिका सहकारीमा महिलाहरुको संलग्नता र सबलताको चर्चा हो । सुशासन, इमानदारी र सदस्य विश्वास जित्न महिलाहरु बढी सक्षम भएको जगजाहेर छ । मकवानपुरले एउटा आँट गरेको छ । तर, अब  प्रत्येक जिल्लाका महिला सहकरीकर्मीहरुको छुट्टै गाथा पुस्तक, पत्रपत्रिका, अडियो र भिडियोमा गाइनुपर्छ ।

२०४८ सालको  सहकारी ऐन भन्दा बढी महिलामैत्री हुँदै २०७४ को सहकारी ऐनमा सहकारी संघसंस्थाको सञ्चालक समितिमा महिला सहभागिता ३३ प्रतिशत गरिएको छ । तर, यतिले चित्त बुझाउने अवस्था छैन । सहकारी संस्थाको सदस्यमा महिलाको सक्रिय सहभागितासँगै नेतृत्वमा अझै धेरै महिला पुग्नुपर्छ । महिलाहरु पुगे पनि महिलामैत्री कानून तथा कार्यविधि निर्माणमा उहाँहरुको सक्रियता प्रस्टिनुपर्छ र थुप्रै महिलाहरु त्यस्ता कानूनबाट लाभान्वित बन्नुपर्छ । सदस्यमा देखिएको महिला सहभागिताको दर नेतृत्वमा रुपान्तरित हुन सक्नुपर्छ । महिलामाथि हुने असमान श्रम, असमान ज्याला र श्रम शोषणका विषयहरु सम्बोधन हुनुपर्छ । राज्यले सहकारीका महिलाहरुका विषयमा थप गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । अब सबै स्थानीय तहहरूले महिला सशक्तीकरणका कार्यक्रम सहकारीमार्फत लैजानसमेत ढिलाइ गर्नु हुन्न । यसो हुन सक्यो भने अरु एकसय एक महिला सहकारीकै कारण सशक्त बन्नेछन् र सहकारी अभियनपनि थप समृद्ध बन्नेछ । 
 

Advertisment