Below Menu
Below Menu

‘एउटा व्यक्तिलाई केन्द्रित गरेर संसद् अवरुद्ध छ, सहकारीका नाममा काँग्रेसले हद पार गर्यो’

‘एउटा व्यक्तिलाई केन्द्रित गरेर संसद् अवरुद्ध छ, सहकारीका नाममा काँग्रेसले हद पार गर्यो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन नहुनाका पछाडि राजनीतिक व्यवस्था नै जड देखिएको विचार प्रकट गरेका छन् । उनले अहिले हामीले अभ्यास गरिरहेको पूँजीवादी व्यवस्थामा जुनसुकै देशमा पनि भ्रष्टाचार नगर्ने र निर्मूल गर्ने कुरा असम्भवजस्तै देखिएको छ भने ।

संविधानसभा सदस्य आलेमगरले भने, “राजनीतिक दल र नेता भ्रष्टाचार हटाउँछु भन्छन्, तर झन बढ्दै गएको छ । अहिलेको व्यवस्था भनेको मूलतः पूँजीवादी हो । यो व्यवस्थामा भ्रष्टाचार हटाउने कुरा असम्भव जस्तै छ ।”

तनहुँ जिल्ला भानु–६ का स्थायी बासिन्दा सुरेश आलेमगर २०३६ को आन्दोलनबाट प्रभावित भएसँगै विस २०४२ देखि पार्टी राजनीतिमा आबद्ध छन् । विगतको माओवादी सशस्त्रयुद्वका क्रममा करिब तीन वर्ष जेलजीवन बिताएका उनी संविधानसभा सदस्य भए । लामो समयसम्म विश्वविद्यालयमा प्राध्यापन गरेका पार्टी केन्द्रीय सदस्य मगर हाल राष्ट्रियसभा सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का नेता सुरेश आलेमगरसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीमा आधारित अन्तर्वार्ताको सम्पादित अंशः

मुलुकमा भइरहेको संसदीय अभ्यासलाई यहाँले कसरी हेर्नुभएको छ ? 

संसदीय अभ्यास पुरानै लयमा भएपनि केही परिवर्तन भने भएकै छ । पहिले राजतन्त्र र एकात्मक प्रणाली  थियो, अहिले गणतन्त्र, सङ्घात्मक शासन प्रणाली र समानुपातिकरसमावेशी सिद्धान्त कार्यान्वयनमा छ । अन्यत्रको संसदीय व्यवस्था जस्तैछ । अहिले पनि नेपालमा पूँजीवादी व्यवस्था कायमै छ । हामी माओवादीले खोजेको यस्तो होइन । जे–जे चलिरहेको र भइरहेको छ, यसमा अन्तर आउनुपर्छ । त्यो नभएमा नेपाल पहिले जहाँ थियो, त्यहीँ रहन्छ ।

प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा -एमाले) र नेकपा ९माओवादीकेन्द्र०बीच पछिल्ला दिनहरुमा हार्दिकता र मित्रता कमजोर भएको प्रतीत हुन्छ, यस्तो किन भयो जस्तो लाग्छ ? 

पञ्चायतकालमा पनि राजनीतिमा विभिन्न गुट–उपगुट थियो, उनीहरुबीच पनि लडाइँ र झैझगडा  भइरहन्थ्यो । एउटै नीति, सिद्धान्त र राजनीतिमा पनि किन गुटको मारामार गर्नुहुन्छ भन्दा राजनीतिमा यो स्वाभाविक मानिन्छ भन्ने जवाफ आउँथ्यो । पुरानै ढर्राका कांग्रेस र एमाले जस्ता हामी होइनौँ, माक्र्सवाद, माओवाद र लेलीनवादको हामी अनुशरण गर्छौं । राजनीतिक र वैचारिक हिसाबले उनीहरुभन्दा फरक थियौँ, फरक छौँ, फरक हुन्छौँ पनि, तर यहाँसम्म आइपुग्दा हामीलाई पनि कांग्रेस र एमाले जस्तै बनाइयो ।

नयाँ नेपाल बनाउन आएका हाम्रो चाहना पूरा भएन । पुरानैमा थचारियौँ । हामीले सबैलाई माओवादी बनाउन चाहे पनि अब त्यो सम्भव छैन । जनपक्षीय काम गर्नुपर्नेमा देश र समाजमा कुशासन, घूसखोरी र भ्रष्टाचार व्याप्त छ । परिवर्तनअनुरुप जनतालाई सहज र सुलभरुपमा सेवाप्रवाह उपलब्ध गराउन सकिएको छैन । क्रान्तिकारी परिवर्तन नभए पनि केही सुधार गर्न सकिन्थ्यो । त्यो पनि गर्न सकिएन । विचार र सिद्धान्त फरक भएपनि संविधानलाई हामी सबैले मानेका छौँ ।

त्यसमा थुप्रै कमीकमजोरी छन् । कतिपय विषयमा माओवादीको फरक मत छ नै । देशको विकास र जनतालाई परिवर्तनको अनुभूति दिलाउन सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्छ । त्यो एउटा दल विशेषले चाहेर मात्र हुन्न । त्यसमा ऐक्यबद्धता, एकमत र साझा धारणा आउनु पर्छ । अहिले संसद्मा बेलाबखत देखिँदै आएका विवाद विडम्बनापूर्ण छ । 

अहिले संसद्को अवरोधका घटनालाई कसरी हेर्नुभएको छ ?

संसदीय व्यवस्था भनेको यस्तै हो, जो अहिले संसद्मा देखिएको छ । अरू देशमा पनि यस किसिमका घटना हुन्छन् । यस्ता घटना हुनु भनेको यो व्यवस्थाको विशेषता नै हो । यसलाई छल्न सकिन्थ्यो । यतिसम्म पुग्न पर्दैन थियो । काँग्रेसले पनि एउटै कुराको रटान गर्यो, अर्को पक्षले पनि अडान नछोड्ने अवस्था बन्यो ।

सहकारीको रकम हिनामिनाका बारेमा हिजो सरकारमा रहँदा नेपाली कांग्रेसले नउठाउने अहिले रास्वपाका अध्यक्ष गृहमन्त्री हुनासाथ उठाउनुपर्ने कारण पनि गजबको छ । आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेसले मन्त्री, सांसदलाई संसद्मै बोल्न दिन्न भन्नु ठीक भएन । कांग्रेसले यो हदसम्म नगएको भए हुन्थ्यो । एउटा व्यक्तिलाई केन्द्रित गरेर कहाँ छानबिन समिति गठन गर्ने ? सहकारीमा थुप्रै समस्या देखापरेका छन् । यो स्थिति आउन हुन्थेन, योस्थिति राम्रो होइन । यस्ता घटना आगामी दिनमा दोहोरिन दिन हुन्न ।

ऐन निर्माणमा सांसदहरुको कार्यसम्पादन राम्रो भएन भन्ने छ, यो आरोपलाई कसरी लिनुहुन्छ ?

त्यो सही कुरा हो । आफैँ म विधायक भए पनि त्यो कुरामा सहमति जनाउँछु । विधायकले मुख्य काम कानुन बनाउने त्यो गर्न पाएका छैनन् । त्यसमा थुप्रै कारण छन् । नेताहरुबीचमा कतिपय सवालमा एकमत हुन सकेको छैन । नेताका बीचमा सहमति नभई काम अघि बढ्ने कुरा भएन । जे–जस्तो कुरा गरेता पनि विधायकले आफ्नो दायित्व र कर्तव्य पूरा गर्न सकेका छैनन् । त्यो कुरा सत्य र सही छ । त्यसमा म सहमत छु ।

मुलुकमा उच्चतम लोकतन्त्रको अभ्यास भइरहेको छ, सांसद आफ्नो धारणा राख्न स्वतन्त्र छन्, यस्तो अवस्थामा पनि नेताको आदेश पर्खन पर्ने किन ? 

राष्ट्रियसभा, प्रतिनिधिसभा अथवा समितिमै किन नहोस् त्यहाँ दलको निर्देशन चल्छ । त्यहाँ दलका नेता हुन्छन् । त्यहाँनेर दलसँग जोडिनपर्छ । कतिपय विषयमा सांसद स्वतन्त्र पनि रहन्छन् । विषयवस्तुका आधारमा नेतालाई परिस्थिति बुझाएर सहमतिमा ल्याउने गरिएको छ । यस्तो अवस्थामा विधायकले आँट गर्नुपर्छ । कतिपय अवस्थामा व्यक्ति विशेषले राम्रो देखेका कुरा नेतालाई भन्न सक्नुपर्छ ।

संसद्लाई बिजनेस दिने मामिलामा सरकार र संसद्बीचका मत बाझिने गरेको छ, यस्तो किन छ ?

राष्ट्रियसभामा धेरै विधेयक छैनन् । प्रतिनिधिसभामा भने थु्रप्रिएका होलान् । हाम्रो कोणबाट राष्ट्रियसभालाई बिजनेस पुगेको छैन । प्रतिनिधिसभाबाट सरकारकाप्रति उठेका तर्क बेठीक होइन ।

समानुपातिक र समावेशी सिद्धान्तलाई व्यावहारिक कार्यान्वयन गर्नुपर्नेछ । यो अवस्थामा कानुन निर्माणलाई छिटो गर्न के गर्नुपर्ला ?

राष्ट्रियसभामा एउटा समिति बनाएर संविधानअनुसार कतिवटा कानुन बन्न बाँकी छ भनी अध्ययन गरियो । त्यसमा  एक सय ८० भन्दा बढी कानुन बनाउन बाँकी रहेको सूची तयार गरिएको छ । सङ्घीयता कार्यान्वयन गर्न, संविधानलाई बलियो बनाउन र  समानुपातिक समावेशीलाई व्यवहारमा उतार्न त्यो गर्नुपर्नेछ । त्यसपछिको कारण भनेको राजनीतिमा कुरा नै मिलेको  छैन । सत्ता र प्रतिपक्ष आज एउटा आउँछ, भोलि अर्कै हुन्छ । यो लडाइँमा नै पार्टीका शीर्ष नेता अल्झिनुभएको छ । केही मूलभूत विषयमा प्रमुख राजनीतिक दलबीच सहमति कायम गर्नुको विकल्प छैन ।

विधेयकलाई फटाफट अघि बढाउने सन्दर्भमा जस–अपजसको राजनीतिक स्वार्थ लुकेको छ भनिन्छ, यो के हो ?

कतिपय कानूनका सन्दर्भमा कसले जस लिने भन्ने होडबाजी पक्कै पनि छ । त्यसैले पनि बन्नुपर्ने कानून समयमा बन्न नसकेर अड्कने र रोकिने भएको छ । उदाहरणका लागि, कतिपय ऐन बनाउन चाहन्छन् भने कोही चाहँदैनन् । कथम्कदाचित बन्यो भने कसैलाई सजिलो हुन्छ भने कसैलाई अप्ठेरो हुन्छ । कानून बनाउँदा अप्ठेरो र गाह्रो कसैलाई हुनुहुन्न । तर पनि अड्काउने र धज्जी उडाउने काम भइरहेको छ । अपजसको भारी बोकाइ रहनेको खेती अन्त्य हुुन्छ । कानुन निर्माणमा विलम्ब हुनका पछाडि थुप्रै कारण रहेको सत्य हो ।

भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनमा हाम्रा प्रयास प्रभावहीन भए भन्ने आरोप छ । के भन्नुहुन्छ यसमा ? 

भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन नहुनुकापछाडि राजनीति नै जड देखिन्छ । नेता र पार्टी सबैले भ्रष्टाचार हटाउँछु भन्छन्, तर झन् बढ्दै गएको छ । यो  व्यवस्थामा भ्रष्टाचार हटाउने कुरा असम्भव जस्तै छ । अहिलेको व्यवस्था भनेको मूलतः पूँजीवादी हो । यसमा जुनसुकै देशमा पनि भ्रष्टाचार नगर्ने र निर्मूूल गर्ने कुरा असम्भव छ । भ्रष्टाचार हटाउन पूँजीवादी व्यवस्था नै हट्न प¥यो । पूँजीवादी व्यवस्था नहट्ने भ्रष्टाचार हट्ने भन्ने कुरा सम्भव छैन ।

हालको व्यवस्थामा भ्रष्टाचार अन्त्य भनेको डुङडुङ गन्हाउने कुकुर काखमा लिएर मगमग बास्ना आइदिए हुन्थ्यो भनेजस्तै हो । जनताले पनि विकल्प खोज्न सकिरहेका छैनन् । हामी माओवादीले पनि पूँजीवादी व्यवस्थाको विकल्प खोज्न छोडियो । हामीलाई पनि राजनीतिक हिसाबले फोहोरी बनाइयो । भ्रष्टाचार हुनुमा अरू धेरै कारण छन् । अहिलेको व्यवस्थामा जे सुकै गर्न पनि पूँजी चाहिन्छ । केटाकेटी पढाउनदेखि बिरामीसम्मका लागि पैसा चाहिन्छ, राज्यले व्यहोर्दैन ।

पछिका लागि जोहो गर्नुपर्ने भएपछि मानिस भ्रष्टाचार गर्न उद्यत हुन्छ । सामान्य तबरले जिउन पनि पैसा आवश्यक पर्ने भएकाले भविष्यका लागि मानिस भ्रष्टाचार गर्छ । सबै राज्यले गर्ने भएपछि किन भ्रष्टाचार गर्ने भन्ने हुन्छ । यहाँ पनि राज्यले त्यसको ‘ग्यारेन्टी’ गर्न गरेमा भ्रष्टाचार हुन्न । तर अहिले राज्यले त्यो गर्न सक्ने अवस्था छैन । समुद्रको सम्पर्कबाहेक अरू धेरै साधनस्रोत नेपालमा छ । त्यसको सही सदुपयोग हुन सकेका छैन । पर्यटन, खनिज र जलस्रोतको क्षेत्रमा विकास नहुँदा मुलुक  गरिब भएको हो । गरिब भएकैकारण सामाजिक सुरक्षाका सेवासुविधा राज्यले उपलब्ध गराउन सक्दैन ।

नेपाली जाति संसारमै विश्वासिलो र इमान्दारको छवि बनाएका नेपालीजन आफ्नो राज्य र सरकारप्रति विश्वास गरिरहेका छैनन् नि ?

नेकपा (माओवादी) सत्तामा गएको भर्खर १५–१८ वर्ष भयो ।  मुलुकलाई विकास र समृद्धिको पथमा लैजाने हामीमा चाहना र दृढता नभएर होइन, तर गर्न दिइएन । धेरै समय हामी नेतृत्वमा रहेनौँ । हाम्रो ‘कमान्ड’ रहेन । मूल नेतृत्व मातहतमा भए पनि पार्टीका ‘एजेन्डा’ लागू लगाउन सकिएन । अहिले मूल नेतृत्वमा भए पनि पूरै कमान्ड हाम्रो हातमा छैन । अहिले त निरिह अवस्था छ । संसद्मा ३३ सिट भएकाले ८०–९० सिटलाई चलाउन परेको छ । डाडुपन्यूँ हातमा भए पनि पस्कन सक्ने अवस्था छैन ।

हाम्रा एजेण्डा लागू गर्न सकिएको छैन । माओवादीको असल नीति जनताले देख्न र भोग्न पाएका छैनन् । हामी राजावादी होइन, गणतन्त्रवादी हो भन्नेसम्म देखे । जनताले प्रत्यक्षरुपमा नीति, कार्यक्रम एजेन्डा देखाउन सकिएको छैन । अहिले अभ्यासमा रहेको नीति तथा कार्यक्रम अरूकै हुन् । त्यसकारण जनताले सबै दल उस्तैउस्तै भनेका हुन् । हामी पनि फोहोरी र स्खलित भएपछि जनविश्वास कमजोर भयो । रोजगारी, उद्योग र आयआर्जन नभएपछि युवा, विद्यार्थी बाध्य भएर विदेश गएका हुन् ।

अहिलेका युवापुस्तामा राष्ट्रभक्ति र देशप्रतिको माया छैन भन्ने होइन । देशभित्र कमाउने वातावरण नभएपछि विदेश जानेको सङ्ख्या बढेको हो । यही अवस्था रहे देश जनशक्तिको हिसाबले खोक्रो हन्छ । यहाँ अफिसरको जागिर छाडेर विदेशमा तल्लो स्तरको काम गरेर बसेको देखिन्छ । यहाँ निर्देशन दिएर बसेको व्यक्ति विदेशमा त्यो गरेर बसेका छन् । हेलिकोप्टर कम्पनीको साहु पनि विदेश गएको अवस्था छ । बिहान बेलुका हातमुख जोड्न नपाएर विदेश जानेकै संख्या धेरै छ । त्यसका लागि सबै नेताहरुको सोचमा पनि ठूलो परिवर्तन आउनुपर्छ । देश र जनताका हितमा  काम गर्नुपर्छ । सङ्किर्णता र साँघुरो घेरामा बस्न हुन्न ।

अन्त्यमा केही भन्नुछ ?

माथिल्लो तहको एउटा व्यक्तिले भिजन र मिसनका साथ इमान्दार भई काम गर्ने हो भने देशमा समृद्धि ल्याउन सक्छ । दृढ सङ्कल्प भएमा त्यो सकिन्छ, नसक्ने भन्ने होइन । त्यसका लागि सही र अग्रगामी विचारलाई चुनावमा जनताले चिन्न र छान्न पर्यो । पुरानालाई जनताले चिनेकै छन् जनता पनि अलि फरक किसिमले आउन पर्यो । जनतामा पनि परिपक्वता देखिनु पर्यो । मुख्यतया माथिल्लो तहमा रहे बसेकाको विचारमा परिवर्तन आउन र जिम्मेवार बन्न जरुरी देख्छु म । उहाँहरुले देश र जनताको कल्याणका लागि सोच्न र परिणाम दिने गरी काम गर्न प¥यो । त्यसमा मेरो पनि प्रयास, सहयोग र समर्थन रहन्छ ।

Advertisment

थप समाचार