Below Menu
Below Menu

राजीनामा बाहेकको ‘सोलुसन’ नै भेटिनँ

राजीनामा बाहेकको ‘सोलुसन’ नै भेटिनँ

सहकारी अभियानमा झण्डै तीन दशक बिताएकी चित्राकुमारी थाम्सुहांङ सुब्बाले भर्खरै महासंघबाट राजिनामा दिएकी छिन् । हुनत राजीनामा दिनु नौलो कुरा होइन । तर, दुई नेतृत्वबीचको ‘टसल’का कारण एकाएक उनको राजीनामाले सहकारी अभियान नै तरंगित बनेको छ । सहकारीका समस्या विकराल बन्दै गएको बेला महाप्रबन्धकको राजीनामाले थप चर्चा पाएको छ । लेखापालबाट प्रबेश गरेकी सुब्बाले २८ वर्ष महासंघमा बिताएकी छिन् । उनी पाँच वर्ष अघि महाप्रबन्धक बनेकी थिइन् । प्रस्तुत छ, यसै विषयमा केन्द्रीत रहेर वित्तीय पोष्टले गरेको कुराकानीको संम्पादित अंश:

तपाईको राजीनामाले सहकारी अभियान तरंगित छ नि यतिबेला ?
सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय हो राष्ट्रिय सहकारी महासंघ । महासंघको आफ्नै स्प्रिट छ । महासंघको कामलाई गति दिनुपर्छ । महासंघकै हित सोचेर राजिनामा दिएकी हुँ । 

नयाँ सञ्चालिक समिति निर्वाचित भएपछि पहिलो साधारण सभा नहुँदै महाप्रबन्धकको राजीना प्रमुख मुद्दा बनेको छ ? आखिर भयो के ?
सहकारी संस्थाको आफ्नै मिसन, भिजन, उद्देश्य, लक्ष्य हुन्छन् । ती पुरा गर्न सञ्चालक समिति र व्यवस्थापनको निर्दिष्ट भूमिका रहन्छ । महासंघ अभियानको शीर्ष  निकाय हो । प्रारम्भिक सहकारीसम्मलाई सिकाउनु पर्ने निकाय हो महासंघ । यसले गरेका काम, लिएका रणनीतिहरु सबै अभियानकर्मीको लागि मार्गदर्शन बन्नुपर्छ ।

महासंघमा एक्जुकेटिभ को हो ? भन्ने क्लियर हुनुपर्छ । केही कुराहरुमा मेरा असहमति भए । ठाउँ ठाउँमा पुगेर पढाउने क्रममा सञ्चालक समिति र व्यवस्थापन बीच सुमधुर सम्बन्ध हुनुपर्छ भनेर भन्दै आएको हुन्छु । दुबै पक्षबीच एक आपसमा विश्वाससँगै सर सहयोग हुनुपर्छ । म बाहिरिदाँ महासंघ अझै उचाईमा पुग्छ भन्ने लागेर राजिनामा दिएकी हुँ । 

महासंघमा नयाँ नेतृत्व आउँदा अध्यक्ष र व्यवस्थापन प्रमुख दुबै महिला भन्ने विषयले खुब चर्चा पाएको थियो । सहकारी अभियानको सबैभन्दा माथिल्लो निकायका दुबै ‘कि’ पोजिसनमा महिला पुगेका कारण अब उदाहरणीय काम हुनेभयो भन्ने अपेक्षा थियो । तर, एक वर्षमै तपाईको राजिनामा आयो ? यसले अभियान र सञ्चालक तथा व्यवस्थापकीय नेतृत्वमा आउन चाहने महिलालाई कस्तो सन्देश देला ?
अध्यक्षज्यूको पनि सहकारीमा लामो अनुभव छ । प्रारम्भिक संस्था, जिल्ला हुँदै महासंघको नेतृत्वमा हुनुहुन्छ । महासंघमा पनि सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएको हो । सहकारी अभियानको शीर्ष निकायको नेतृत्वमा महिला पुगेर इतिहास रचेको हो । महासंघको व्यवस्थापन प्रमुख र अध्यक्ष दुबै महिला यो एउटा इतिहास हो । अध्यक्ष ज्यूको पनि राम्रो गरौं भन्ने होला । मेरो पनि अभियानलाई राम्रो बनाउँ भन्ने नै हो ।

हामी बीच ‘ट्यूनिङ’ नमिलेको पक्कै हो । उहाँको सोचे र मेरो सोच फरक हुन पुग्यो होला । दुई महिला मिल्न नसकेको भन्ने कुरा होइन । महासंघ सबै सहकारीकर्मीको आशाको धरोहर पनि हो । महासंघ ‘प्रोफेश्नल’ रुपमा चल्नुपर्छ । प्रोफेश्नल रुपमै चलोस् भनेरै राजीनामा दिएकी हुँ । राजीनामा दिनु नै अन्तिम विकल्प बन्यो । अन्य सोलुसन मैले पाउन सकिनँ । 

अहिले सहकारी अभियानले खोजेको महासंघ व्यवस्थापन प्रमुखको राजीनामा नै हो त ? 
यो कुरा त अभियानले नै समीक्षा गर्ला नै । महाप्रबन्धक सम्हालेको करिब ५ वर्ष ५ महिना भयो । यो बीचमा नेपाली सहकारी अभियानलाई उचाइमा पुर्याउन मैले के काम गरे ? यसको समिक्षा अभियानले पक्कै गर्ला । म फेरी पनि भन्छु, मेरा व्यक्तिगत कुनै कारण छैन ।

संस्थाकै हित हेरेर राजीनामा दिएकी हुँ । किनभने मेरा उर्जाशील समय (२८ वर्ष ) महासंघमै खर्चिएकी छु । महासंघ अझै अघि बढ्नु पर्छ । अब म बस्नु उपयुक्त हुन्न की भने नै राजीनामा दिएकी हुँ । मेरो व्यक्तिगत हितका लागि हो भने जागिर अझै खाने थिए । संस्थागत हितकै लागि राजीनामा दिएकी हुँ । महासंघको एउटा सिस्टम छ, त्यो सिस्टम अनुसार चलोस् भन्ने चाहन्छु । 

तपाईहरु नै सञ्चालक समिति र व्यवस्थापनका आ-आफ्ना सीमाहरु हुन्छन् भन्नुहुन्छ, ‘डिमार्केशन लाइन’बारे पढाउँदै हिँड्नुहुन्छ । अनि सिकाउने निकायमै यस्तो किन ? 
नयाँ समिति आएको पनि १ वर्ष पुग्नै लाग्यो । यो अवधिमा पनि काम त भएको छ नी । पोलीसी डाइलग, डिजिटल कन्क्लेभ, जव फेयर लगायत धेरै राम्रा राम्रा काम भएका छन् । तर, पछिल्लो समय काम गर्ने वातावरण चाँही बनेन् । अहिलेलाई यति नै भने ।

सञ्चालक समितिको एक मात्र कर्मचारी भनेको व्यवस्थापन प्रमुख हो । प्रमुखले काम गर्न नसक्नु, नपाउनु वा नदिनु भनेको सञ्चालक समिति असफल तथा समग्र व्यवस्थापन असफल हुनु हो कि होइन ? तपाईलाई काम गर्न नदिइएको कि तपाईले अध्यक्षलाई वा सञ्चालक समितिलाई आफ्ना विषय वा प्रस्तावमा कन्भिन्स्ड गर्न नसकेको हो ? कमजोरी कहाँ थियो ?
सञ्चालक समितिको बैठकमा कन्भिन्स्ड गर्न नसकेको भन्ने पनि छैन । जुन बोर्ड बैठकमा राजीनामा दिए, अनि एजेण्डा बन्यो । उक्त बैठकमा डेढ घण्टाभन्दा बढी समय पुर्नविचार गर्न समय दिनुभयो । समितिबाट काम गर्ने वातावरण बनाउँछौं, यसलाई पुर्नविचार गर्नुस् भन्ने सल्लाह धेरै नै आयो । यसमा दुई वटा विषय छन् पहिलो काम गर्ने वातावरण बनेन् । दोस्रो अब आउने व्यक्तिले महासंघलाई थप उचाईमा पुर्याउँछन् भनेर नै हो । 

महासंघमा झण्डै तीन दशक बिताउनु भएको छ, आफ्नो कार्यकालाई कसरी स्मरण गर्नुहुन्छ ?
लामो सहकारी अभियानको इतिहासको प्रत्यक्षदर्शी हुँ जस्तो लाग्छ । यस बीच अभियानमा विभिन्न आरोह अवरोह आए । पछिल्लो समय सहकारी अभियानमा केही समस्याहरु आएका छन् । यस बीचमा मैले राजीनामा गर्नु हुँदैन थियो की ? भन्ने प्रश्न पनि उठ्न सक्छ । एउटा कोठाबाट सुरु भएको महासंघ र अहिलेको महासंघमा धेरै अन्तर छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ । सहकारीको सञ्जाल देशभर फैलिएको छ । जहाँ जाँदा पनि सहकारीकर्मीको आत्मियता पाइन्छ । 

सहकारी अभियान सिस्टममा चल्नै पर्छ । त्यो महासंघमा पनि लागू हुनुपर्छ । व्यवस्थापन र बोर्ड बीचको सुमधुर सम्बन्धले नै संस्था सफल हुने हो । सिस्टममा नबस्दा नै यति धेरै सहकारीमा समस्या आएको हो जस्तो लाग्छ । अब पनि सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन कानून, नीति विधि, कार्यविधि अनुसार सञ्चालन भएनन् भने यो भन्दा ठूलो समस्या अभियानले व्यहोर्नु पर्छ । मलाई पूर्ण रुपमा विश्वास छ नीति, विधि अनुसार नै सहकारी सञ्चालन हुनेछन् । 

काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन कोअपरेटिभ कोर्ष सुरु गर्यौं । अहिले तस्रो ब्याच सुरु भईरहेको छ । कोर्ष पनि राम्रो बनेको छ । महासंघको एउटा आयस्रोत पनि बनेको छ । अन्य कोर्षहरु पनि बनाउने सन्दर्भमा तयारी भईरहेको थियो । यो निरन्तर हुनेछ भन्ने अपेक्षा छ । अध्ययन अनुसन्धानको पाटो पछि पछि हुन्छ नै ।

राजिनामा पनि अभियानको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? तपाई शुभचिन्तक कति रहेछन् ? 
जब पत्रिकामा नोटिस आयो त्यसपछि धेरै फोन आउन थाल्यो । धेरै जना कन्फ्यूजनमा पनि पर्नुभयो । कार्यकाल सकिएर नोटिस जारी भएको हो की ? पुनः तपाईं नै आउने हो की ?, किन यस्तो भयो ? भन्ने खालका धेरै प्रश्नहरु आए । धेरै नै रेस्पोन्स पाए । यति धेरै रेस्पोन्स आउँछ जस्तो लागेको थिएन । उहाँहरुप्रति धन्यवाद दिन चाहन्छु । 

महासंघमा अबको महाप्रबन्धक कस्तो हुनुपर्छ भन्ने लाग्छ ? महासंघलाई हाक्न सक्ने महाप्रबन्धक पाउन कठिन छ भन्ने पनि सुनिन्छ ? के लाग्छ तपाईलाई ?
मलाई पूर्ण विश्वास छ अबको महाप्रबन्धक ‘डाइनामिक’ हुनेछ । म मात्रै राम्रो भन्ने होइन । आगामी दिनमा अझै राम्रो हुनेछ । खुला प्रतिस्पर्धाबाट आउने व्यक्तिले पक्नै पनि महासंघ हाक्न सक्नुहुन्छ । महासंघको भिजन अनुसार काम गर्न सक्ने, थप नयाँ उचाइ प्रदान गर्न सक्ने व्यक्ति पक्कै आउनु हुनेछ ।

अब महासंघ कसरी अघि बढ्नुपर्छ भन्ने लाग्छ ? कोप भिजन २०३० को विषयमा तपाईले बढी अग्रसरता लिनुभएको थियो ? अब तपाई नहुँदा कतै यो विषय ओझेलमा पर्ने त होइन ?
महाप्रबन्धक त एउटा पद मात्रै हो । टिमले नै काम गरेर नतिजा दिने हो । मेरो हकमा व्यवस्थापन र बोर्ड दुबै टिमले साथ दिनुभयो । टिम वर्कले नै हो संस्थालाई उचाई दिने । अब आउने महाप्रबन्धक एक्लैले गर्ने पनि होइन । उहाँले पनि टिममै बसेर काम गर्ने हो । बोर्डको पनि साथ रह्यो भने कोप भिजन २०३० को लक्ष्य हासिल गर्न कठिन छैन । 

अब तपाईको यात्रा कतातर्फ ? सहकारी अभियानमै कि अभियानभन्दा पर ?
ठ्याक्कै भन्नुपर्दा योजना नै बनाएको छैन । घर परिवार बिर्सेर धेरै समय अभियानमा बिताएँ । केही समय ‘रेष्ट’ लिने की भन्ने सोचमा छु । त्यतिकै बस्ने मेरो स्वभाव छैन । कही न कही त पक्कै हुने छु । 

तपाईको विज्ञताको सदुपयोग आगामी दिनमा मुलुकको सहकारी अभियानले के कसरी गर्न सक्छ ? तपाईको उपलब्धता कत्तिको हुन्छ ?
मेरो नेचर अलि फरक छ । ‘मलाई बोलाईदिनुस्’ भनेर भन्दिनँ । तर, कुनै सहकारी संघ संस्थाले बोलाउनु भयो जे जति जानेको छु ति कुराहरु सेयर गर्न उपलब्ध नै हुनेछु । पदमा रहँदा धेरै जिल्लाबाट अनुरोध आएको थियो । पदमा हुँदा समय दिन सकिराखेको थिइन । जागिर खाने चाहिँ कुनै सोच छैन । 

सहकारी अभियानको व्यवस्थापकीय नेतृत्वमा काम गर्न चाहने महिलाले तपाईबाट के कस्ता गुण सिक्नुपर्छ भन्ने लाग्छ ?
व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नु चुनौतिपूर्ण नै छ । सानो सानो कुरामा अल्झेर बस्नु हुँदैन । घरमा पनि मलाई बुबाले छोरा भन्नु हुन्छ । मान्छेमा एउटा भिजन चाँही हुनुपर्छ । महासंघमा पनि एउटा भिजन तयार गरेका थियौं । जे कुरा पनि फराकिलो हिसाबले सोच्नु पर्छ । आफूमा भएका कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्छ । सकारात्मक सोच्नुपर्छ । म महासंघ छोड्दै छु तर महासंघ राम्रो हुन्छ भनेको छु ।

२८ वर्ष महासंघमा बिताउनु भयो । यो चाँही काम गर्न सकिन भन्ने लाग्छ?
महासंघलाई ‘फाइन्यान्सीयल्ली स्ट्रङ’ बनाउने मेरो योजना थियो । पैसाकै लागि सरकार, कार्यक्रम गरेर पैसा लिन नपरोस् भन्ने सोच (उद्देश्य) थियो । तर, बीचमै महासंघ छाड्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना भयो । त्यसतर्फ हामी ‘फोकस्ड’ नै थियौं । प्रारम्भिक संस्थाको समेत स्रोत महासंघसम्म आइपुग्ने वातावरण निमार्णमा पछिल्लो समय केन्द्रीत थिए । अरु केन्द्रीय संघहरुलाई चिन्ने तर महासंघ नचिन्ने संस्थाहरु पनि थिए । त्यो ‘ग्याप फुलफिल’ गराउन हामी सफल भएका छौं । महासंघ घाटामा नभएपनि ‘स्ट्रङ’ बनाउनुपर्छ पर्ने सोच प्रारम्भिक सहकारीसम्म बनाउनुपर्ने थियो । त्यो काम हामीले गर्न सकेनौं । 

सहकारीहरु सुशासनमा सञ्चालन हुनुपर्छ । सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनले आ-आफ्नो भूमिका निर्वाह गर्ने हो भने कुनै पनि संस्था समस्यामा पर्दैन । बैंक तथा वित्तीय संस्थाहरु समस्यामा पर्लान् तर सहकारी कहिल्यै समस्यामा पर्दैन भन्ने मेरो बुझाइ हो । आ-आफ्नो भूमिका निर्वाह गर्नका लागि महासंघले अलि बढी ‘वर्कआउट’ गर्नुपर्ने थियो । त्यसमा महासंघ अलि चुकेको छ । जति पनि संस्थाहरु छन्, के साँच्चिकै उनीहरु सहकारी सिद्धान्त, मूल्य मान्यता, विधि अनुसार चलेका छन् त ? यो गम्भिर प्रश्न हो ।

सहकारीको भविष्य कस्तो देख्नुहुन्छ ?
म त आशावादी हुँ । भविष्य निकै राम्रो छ । जथाभावी ढंगले संस्था सञ्चालन गर्न नहुने रहेछ भन्ने पक्कै पनि महशुस भएको छ । सुशासन, ऐन, कानूनको परिपालना गर्नुपर्ने रहेछ भन्ने ज्ञान सहकारीकर्मीमा आएको छ । एक चरणमा सहकारी च्याउ उम्रिए । सुपरीवेक्षण हुन सकेन । अब त्यस्तो नहोला नै भन्ने लाग्छ । अहिलेको समस्याले धेरै कुराहरु सिकाएको छ । 

सुशासनको पाटोमा महासंघ चुकेजस्तो लाग्दैन?
पक्कै पनि । एक वर्ष अघि सहकारी अभियान्ताहरु आन्दोलनमा उत्रिए । त्यो गलत थियो । आन्दोलन गर्न हुँदैन भन्दा सुनुवाई भएन । महासंघबाट विज्ञप्ति जारी भयो । बचतफिर्ता ५ प्रतिशत गर्नु भन्ने । यो गलत हुन्छ भनेर पनि भने । अन्य विकल्पहरु पनि दिएका थिए । यो मामिलामा महासंघ चुकेकै हो । त्यसपछि सदस्यहरुले आन्दोलन सुरु गरे । सहकारीका सञ्चालकहरुले आन्दोलन गर्न सिकाएको जस्तो पनि भयो । सहकारीमा समस्या थिए । समस्याको समयमा आन्दोलन गर्दा कसले पत्याउँछ ? भयो त्यही । 

चुनौतीहरुको कत्तिको सामना गर्नुभयो?
म जे काम गर्छु, निष्ठापूर्वक गर्छु । मेरो निष्ठा र इमान्दारिता प्रति कसैले प्रश्न गर्छ भने म प्रत्युत्तरका लागि कठघरामा उभिन तयार छु । अहिलेसम्म मैले जति काम गरेँ इमान्दारी साथ गरेँ । संस्थालाई सिस्टममा लैजाने र सिस्टम अनुसार चलाउनने कुरामा ‘कम्प्रमाइज’ गर्दिनँ । सिस्टमभन्दा बाहिर गयौँ भने कुनै पनि बेला दुर्घटना हुन्छ । सिस्टम बसाल्ने सन्दर्भमा महासंघमा धेरै काम भएको छ ।

मेरो कार्यकाल पहिलेभन्दा फरक नै भयो भन्ने लाग्छ । हामीसँग स्रोतको अभाव पक्कै थियो । तर, म्यानेज भने पक्कै भएको थियो । सिस्टमको लागि महासंघमा धेरै लडे पनि । महाप्रबन्धकले चिठीमा सही गरेर पठायो भन्ने पनि महासंघमा इस्यु बन्यो । बोर्डले निर्णय गरेको विषय कार्यान्वयनको लागि पत्र पठाउँदा इस्यु बन्यो । यो कुरामा दुःख लाग्यो । पछि त्यो विषय बोर्डमा पनि उठाएँ । बोर्डले ‘ठीक हो है’ भन्यो । 

अन्त्यमा वित्तीय पोस्ट् पाठकहरुलाई के भन्न चाहनुहुन्छ?
सहकारी अभियान आफैमा नराम्रो छैन । सही मनाशयका साथ जे काम गछौं त्यो सफल हुन्छ । अहिले सहकारीमा जे जस्तो विषयहरु बाहिर आएका छन् राम्रो काम गर्छु भन्नेका लागि अवसर पनि हो । 

Advertisment

थप समाचार