काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमा सुरेश थापा नियुक्त भएका छन् ।
नायव महाप्रबन्धक रहेका थापा खुला प्रतिस्पर्धाबाट महाप्रबन्ध बनेका हुन् । मंगलबार बेलुकी बसेको महासंघ सञ्चालक समितिको बैठकले थापालाई माघ १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यक्रम अधिकृतका रुपमा सन् २०१४ मा महासंघ प्रवेश गरेका थापा तीन वर्षअघि नायव महाप्रबन्धकमा बढुवा भएका थिए ।
महासंघले मंसिर ८ गते एक महिनाको समय सीमा तोकी महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । तोकिएको समयमा प्रयाप्त उम्मेदवारी नपरेपछि महासंघले पुन: दरखास्त आह्वान गर्दै पुस १२ गतेसम्म समय दिएको थियो । उक्त समय सीमामा १४ जनाको आवेदन परेको थियो ।
आवेदक मध्ये ८ जना मात्र प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागि भएका थिए । प्रस्तुतीकरणमा आठै जना उतिर्ण भएका थिए । अन्तरवार्तामा सबैभन्दा बढी अंक ल्याएर थापा महाप्रबन्धकमा योग्य भएका थिए ।
छनोट उपसमितिले मंगलबार महाप्रबन्धकमा नियुक्तीका लागि थापालाई सिफारीस गरेपछि मंगलबार बेलुका बसेका संचालक समितिको बैठकले थापालाई नियुक्ती दिएको हो ।
महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले केही समय अघि पदबाट राजिनामा गरेका थिए । उनी पुस ३० गतेबाट बिदा हुँदैछिन् । थापाले माघ १ देखि कार्यभार समहाल्ने छन् ।
महाप्रबन्धक छनोट गर्न वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल संयोजकत्वमा छनोट उपसमिति गठन गरिएकाे थियो ।
उपसमितिको सदस्यहरु खेमबहादुर पाठक र टेकप्रसाद चौलागाईं थिए । मूल्यांकनका लागि विज्ञका रुपमा कमल खरेल र सहकारी मन्त्रालयका उपसचिव टोलराज उपाध्यायलाई आमन्त्रित गरिएको थियो ।
महाप्रबन्धकको मासिक तलब ८१ हजार ६ सय ९३ रुपैयाँ रहेको छ । त्यस्तै प्रोत्साहन तथा अन्य भत्ता २८ हजार ५ सय रुपैयाँ रहेको छ।
Advertisment