काठमाडौं : पछिल्लो समय सहकारी वाङ्मय बलियो हुँदै गएको छ । थुप्रै पुस्तक प्रकाशन हुन थालेका छन् । सहकारीका अवधारणा र विकास, विश्व इतिहास, सिद्धान्त र अभ्यास, वित्तीय परीक्षणका औजाहरु, सहकारीकर्मीहरुका आत्मकथाहरु, सहकारी सामान्यज्ञान लगायत धेरै पुस्तक बजारमा उपलब्ध छन् ।
यसै सिलसिलामा, नेपालको सहकारी अभियानमा करिब तीन दशक बिताएकी राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बाको दोस्रो पुस्तक ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ बजारमा आएको छ । यसअघि, सुब्बाको पहिलो पुस्तक ‘सहकारीमा २५ वर्षः भोगाई र अनुभूति’ २०७८ पौष २७ गते विमोचित भएको थियो ।
१२८ पृष्ठको पुस्तकमा १६ च्याप्टर छन् । पुस्तकमा सहकारी सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने व्यावहारिक ज्ञान अटाएको छ । १६ वटै शिर्षकका विषयवस्तु एक आपसमा परिपूरक छन् । एउटै पुस्तक बढेर सहकारी सञ्चालनका जटिलता र संरचनालाई पर्गेल्न सकिन्छ । पुस्तक भित्र सहकारी सिद्धान्तको प्रयोग, स्वनियमन र सुशासन, मानव संशाधान व्यवस्थापन, सञ्चालक र व्यवस्थापनको सम्बन्ध, नीति तथा कार्यविधि तर्जुमा प्रक्रिया, अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी, जोखिम व्यवस्थापन, बचत तथा ऋणको परिचालन, एकीकरणदेखि सहकारी भिजन २०३० सम्मका विषय अटाएका छन् ।
यस्तै, भारतीय राजधानी नयाँ दिल्लीमा २९ नोभेम्बर २०२४ मा सम्पन्न अन्तर्राष्ट्रिय सहकारी महासंघको वार्षिक साधारण सभाबाट परिमार्जन गरिएको सहकारीका पाँचौं र सातौं सिद्धान्त समेत पुस्तकले समेटेको छ ।
पुस्तकको हरेक शीर्षकभित्र सहकारी सञ्चालनका व्यावहारिक पक्ष समेटिएका छन् । पुस्तकबारे लेखक सुब्बा भन्छिन्, ‘हरेक शीर्षकभित्र सहकारी सञ्चालनका व्यावहारिक पक्षहरु के के हुन् ? प्रश्नहरुको उत्तर खोज्दै गएँ । सैद्धान्तिक ज्ञान भन्दा व्यावहारिक ज्ञान महत्वपूर्ण हुन्छ भन्ने मेरो जीवनको महत्वपूर्ण सिकाइ हो । यसर्थ, हरेक शीर्षकमा सक्दो व्यावहारिक पक्षलाई जोड दिएको छु ।’

महासंघमा लेखापाल हुँदै महाप्रबन्धक बनेकी सुब्बाले यसबीच बटुलेका सिकाइ, भोगाइ र व्यवहारिक ज्ञानलाई सरल, स्पष्ट र शिष्ट भाषामा पुस्तकमा पस्केकी छिन् । पुस्तक पढ्दा लाग्छ, विषयहरुलाई उनले मसिनो डंगले केलाएकी छिन् जसका कारण सहकारीकर्मी तथा सहकारीमा चासो राख्ने जोकोहीको लागि पनि यो पठनीय खुराक बनेको भान हुन्छ ।
सहकारीकर्मीहरुका लागि पुस्तक प्रेरणा र ज्ञानको स्रोत बन्न सक्छ भने सहकारीका जिज्ञासुहरुलाई व्यावहारिक गाइडलाइन पुस्तकले उपलब्ध गराउनेछ । यति हुँदा हुँदै पनि पुस्तकमा केही कमी र केही कमजोरी भएका छन् ।
शीर्षकहरुको सिलसिला मिलेको भए बेस हुन्थ्यो भने भाषागत त्रुटीहरु निफनिएको भए चामलमा ढुङ्गा लाग्दैनथ्यो । केही विषयहरुले गहिराइ खोजेको छ । पढ्दा बोध हुन्छ । केही समय दिन सकेको भए थप गहकिलो हुन्थ्यो भन्नेमा कुनै शंका छैन ।
तर, लेखक सुब्बा दाबी गर्छिन्, ‘पहिलो पुस्तक झण्डै तीन हजार प्रति बिक्री भएको थियो । दोस्रो कृतिको मिहिनेत पनि अझ धेरै पाठकहरुको हातमा पुग्ने मलाई विश्वास छ ।’
Advertisment