आज बैशाख ७ गते । ठिक २ वर्ष पहिला आजकै दिन बागलुङमा ‘सहकारी भूकम्प’ गएको थियो । नेपालमा गएका हालसम्मका भुकम्पको स्केल कति रेक्टर स्केलको छ ? त्यो भन्दा केही बढी रेक्टरको त्यो ‘सहकारी भूकम्प’को केन्द्रबिन्दु बागलुङ बजार थियो ।
संस्थागत रुपमा भूकम्पको मुख्य केन्द्र इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड थियो । इमेज सहकारीसँग प्रत्यक्ष जोडिएकाहरुको त्यही कारणले कतिको ज्यान गयो, कति मान्छे मानसिक रुपमा बिक्षिप्त र बिरामी भए, कतिलाई मुटुको रोग बढ्यो, कतिका घर परिवारमा लफडा भयो धेरैका आ-आफ्नै पीडा छन् ।
प्रत्यक्ष नजोडिएकाहरुलाई पनि भूकम्पको पराकम्पनले निकै हल्लायो । पल्टाउँछ कि ? भन्ने संशय र त्रासदीपूर्ण बनायो । पराकम्पन यस्तो कडा थियो कि त्यसले धेरैलाई तर्सायो, झस्कायो, ज्यानै जाने अवस्था त आएन तर प्रत्यक्ष संलग्नहरुलाई जस्तै अत्यधिक तनाव दियो, दुःख दियो । जसको कुनै मापन यन्त्रमा तथ्यांक कैद छैन ।
वास्तवमा यो सहकारी भूकम्पले यो सँग सरोकार राख्ने, नराख्ने बागलुङबासी, सहकारी क्षेत्र मात्रै होइन, आम मानिसलाई तर्सायो । हुन त अन्यत्रका मान्छेहरुका लागि यो मात्रै कारण थिएन । तर पनि तर्साउनका लागि यो मुख्य सहयोगी बन्यो ।
प्रसँग बैशाख ७, २०८० को हो । त्यो भुकम्पको प्रत्यक्ष प्रभाव त रोक्न सक्ने हाम्रो नियन्त्रणको कुरा थिएन । पराकम्पनबाट पर्ने असर रोक्नका लागि निकै मेहनत गरियो । कति सफल भइयो, कति असफल भइयो समयले देखाउला । यद्यपि, अब केही बोल्नु पर्छ, एउटा घटनालाई लिएर त्यससँग सम्बन्धित व्यक्तिहरुलाई भन्दा बढी असम्बन्धित व्यक्ति र संस्थाहरुलाई सराप्ने, धम्क्याउने, अपमान गर्ने, तिरस्कार गर्ने प्रवृत्तिसँग मौन बसेर होइन, त्यसका लागि खुला छलफल आवश्यक छ । ढोरपाटन नगरपालिकाको प्रमुख पदमा २०७४ र २०७९ मा निर्वाचित नगर प्रमुख देव कुमार नेपाली कार्यालयमा उपस्थित नभएको करिब २३ महिना भयो । करिब डेढ वर्ष त नगर प्रमुख नेपाली सम्पर्क विहीन नै हुनुभयो । सहकारी प्रकरणका कारण सम्पर्क विहीन भएका मेयर नेपाली गत असोज पहिलो साता प्रहरीमा आत्मसमर्पण गरेपछि अहिले बागलुङ कारागारमा पूर्पक्षका लागि थुनामा हुनुहुन्छ ।
नगर प्रमुख नेपाली नगरको काम कारबाहीका कारण सम्पर्क विहिन हुनु भएको होइन । कारागार पर्नु भएको होइन । उहाँ अध्यक्ष भएर पोखरा र बागलुङमा सञ्चालन गरेका २ वटा सहकारीका ४ वटा कार्यालयमार्फत बचतकर्तासँग संकलित रकम समयमा फिर्ता गर्न नसकेका कारण सम्पर्क विहीन हुनु भएको हो । पैसा हो, एकैचोटी सबै फिर्ता माग्न आउँदा फिर्ता गर्न सकिँदैन । सदस्यहरुलाई यो कुरा बुझाउनुका सट्टा उहाँ किन सम्पर्क विहीन हुनुभयो, सम्पर्क विहीन भएका कारण कतिलाई तनाव दिनुभयो, के के भयो ? सबैलाई अवगत भएकै विषय हो, धेरै चर्चा गर्न पर्दैन जस्तो लाग्छ ।
देव कुमार नेपालीका बारेमा मैले यहाँ धेरै ब्याख्या गर्नै पर्दैन । उहाँ कसरी उदाउनु भयो, कसरी समस्यामा पर्नु भयो, कसरी अब फेरी समस्या समाधान गर्दै हुनुहुन्छ भन्ने विषयमा सरकारी निकाय, राजनीतिक दलसहित आम समुदायमा जानकारी नै छ । यद्यपी मान्छेले आफु अनुकुल व्याख्या विश्लेषण गर्ने भएकाले कसरी प्रस्तुत हुन्छ त्यो छुट्टै विषय हो ।
देव कुमारलाई भगवान् जस्तै ठानेर करोडौं रकम बचत गरिदिने बचतकर्ताले पनि यतिबेला यो सबै कुरा बुझ्नु भएको छ । इमेजले लिफ्ट सहितको घर बनायो, तिमीहरुको अफिस हेर त ? भन्दै हामीलाई गिज्याएर हाम्रा सहकारीमा राखेका पैसा झिकेर इमेजमा लगेर राखेका साथीहरुले बुझ्न त राम्रैसँग बुझ्नु भएको छ । यद्यपी उहाँहरुको आक्रोश हामीसँग पनि पोख्दै आउनु भएको छ । पीडितको आक्रोशलाई सहज रुपमा नै लिएका छौं ।
यतिबेला नेपालीले सहकारीका बचतकर्ता मध्ये १ लाखसम्म बचत रकम भएका सदस्यहरुलाई रकम फिर्ता गरिसक्नु भएको छ, यो स्वागतयोग्य कुरा हो । अझै उहाँले ठुलो रकमका बचतकर्तालाई छिटै जग्गा दिने गरी सम्झौता भएको छ भन्ने कुरा सुन्नमा आएको छ । बचत रकमको सट्टा जग्गा पाउँदा पनि कम्तिमा पीडितले न्याय पाएको महशुस हुनेछ । यसलाई पनि सकारात्मक नै मान्नु पर्छ । भलै यो विषयमा धेरै कोणबाट छलफल गर्न सकिन्छ । यो विधि ठिक कि बेठिक ? बचतकर्ताले न्याय पाए की अन्यायमा परे ?
मैले यहाँ प्रसँग कोट्याउन खोजेको बचतकर्ताको बचत फिर्ताको मुख्य जिम्मेवार को ? भन्ने विषयमा हो । बचतकर्ताहरुले बचत फिर्ता पाउनु पर्छ । देव कुमार नेपाली र उहाँको टिमले बचतकर्ताको बचत फिर्ताको ग्यारेण्टी गर्नु पर्छ यसमा कुनै दुई मत छैन । सहकारीमा होस् वा अन्य संघ संस्था, बैंकमा बचत भनेर राखेको पैसा बचतकर्ताले फिर्ता पाउनु पर्छ । शेयर भनेर राखेको पैसा कारोबार बिग्रदा शेयर सदस्यले घाटा पनि व्यहोर्नु पर्ने हुन्छ ।
नेपालीले बचतकर्ताको पैसा फिर्ता गर्दै हुनुहुन्छ । प्रक्रिया अगाडि बढिरहेको छ । अनि किन त बिरोध ? भन्ने पनि प्रश्न उठ्न सक्छ । उहाँले गरेका सकारात्मक कामप्रति सम्मान छ । सानो रकम फिर्ता गर्नु भएको छ । अब सबै रकम फिर्ता गर्ने वातावरण बनाउनुस् । त्यसका लागि शुभकामना छ । राज्यका निकायलाई अनुरोध छ, एउटाले गल्ती गरेको विषयलाई त्यही नै समाधान गरेर अरुलाई जोगाउन लागौं । सबै एउटै हुन् । सबै उस्तै हुन् भन्ने भावमा काम नगरौं ।
इमेज बचत तथा ऋण सहकारी संस्थाको बागलुङ स्थित कार्यालय बन्द गर्ने क्रममा टाँसिएको सूचना, संस्थापक अध्यक्षका रुपमा उहाँका अभिव्यक्ति र अहिलेसम्म पनि उहाँले बेला–बेला दिने अभिव्यक्तिप्रति आम जनमानसको ध्यानाकर्षण भएको विषय मात्रै मैले उठाउन खोजेको हो ।
कार्यवाहक अध्यक्ष डोर बहादुर परियारको नामबाट सूचना जारी गरेर कार्यालय बन्द गरियो । त्यो दिन म म्याग्दीको दानामा सहकारीकै एउटा कार्यक्रममा थिए । सूचना देख्दासाथ देव कुमार नेपाली र उहाँको पोखरा स्थित सहकारीका प्रबन्धक दिपक पौडेललाई सम्पर्क गरेको थिए । दुबै जनाको फोन उठेन । धेरै समयपछि दिपक पौडेलको फोन उठ्यो अनि मैले के खालको सूचना हो त्यो ? कहीँ कतै जवाफदेहिता छैन । कुनै जिम्मेवारीवोध छैन । सूचनाको भाषा, प्रतिवद्धता र जवाफदेहितामा मेरो प्रश्न थियो । उहाँले आफ्नै शैलीमा ‘दाजुले त्यही भन्नुभयो, त्यही गरियो’ सर भनेर टार्नु भयो । उहाँले देवकुमारलाई दाजु भन्नु हुन्छ । दाजुको कुरा टार्न सकिँदैन, टार्न मिल्दैन भनेर अनौपचारिक कुराकानीमा पहिला पनि भन्नु हुन्थ्यो ।
दानाको कार्यक्रम छोट्टयाएर म बागलुङ फर्कने क्रममा बाटो भरी उहाँहरुसँग सम्पर्क गर्दै साँझ बागलुङ बजारमा आए । १० बजेतिर बल्ल देव कुमार नेपालीसँग कुराकानी भयो । मैले उहाँलाई कार्यालय बन्द गरेको, बन्द गर्ने क्रममा सार्वजनिक गरिएको सूचना लगायतका विषयमा प्रश्न गरे, यस्तो लापारबाही गर्न हुने थिएन मैले उहाँलाई भने । उहाँले आफुलाई कर्मचारीले सिध्याएको गुनासो गर्नुभयो । कर्मचारीहरुले सहकारी बिग्रदैछ भन्दै आफ्ना-आफ्ना मान्छेहरुको बचत फिर्ता लिन लगाएछन्, बर्बाद भयो भन्नुभयो ।
समस्या परिसक्यो । अब समाधान निकाल्नु पर्छ । हजुरहरुले जारी गरेको सूचनाले शेयर सदस्य (उहाँहरुको भाषामा बचतकर्ता) लाई सम्बोधन भएन । प्रतिवद्धता भएन । मेरो उहाँसँग गुनासो थियो । उहाँले के गरौं भन्नुभयो । इमेज सहकारीमा जतिले बचत गरेका छन्, ती सबैले देव कुमार नेपालीलाई देखेर, विश्वास गरेर बचत गरेका हुन् । कार्यवाहकको तर्फबाट सूचना र त्यो सूचनाको भाषाले बचतकर्ता आश्वस्त हुँदैनन् । हजुरले आफ्नो तर्फबाट प्रतिवद्धता गर्नुस् । बागलुङ बजारमा आउनुस् र बचतकर्तासँग बसेर समस्याको समाधान गर्नु पर्छ भन्ने सल्लाह मैले दिए ।
मैले सल्लाह दिएपछि उहाँले अध्यक्षबाट आफुले राजिनामा दिइसकेको जवाफ दिनुभयो । जे गरे पनि हजुरकै प्रतिवद्धता आवश्यक छ, कार्यवाहकलाई बचतकर्ताले चिन्दैनन्, जान्दैनन्, विश्वास गर्दैनन्, जसलाई विश्वास गरेर बचत गरेका छन्, उसकै प्रतिवद्धता बचतकर्ताले खोज्छन्, मैले उहाँलाई भने ।
धेरै लामो छलफलपछि उहाँले बल्ल उहाँले आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको बचत फिर्ता गर्छु भन्नुभयो । यही कुरा बचतकर्तालाई आश्वस्त पार्ने गरी प्रतिवद्धता गर्नुस्, फेसबुकबाट वा विज्ञप्तीमार्फत सार्वजनिक गर्नुस् भनेर म मेरो काममा लागे । उहाँहरुले यो विषयमा धेरै नै छलफल गर्नु भएछ । करिब २ बजेको हुँदो हो, उहाँले कस्तो भाषा लेख्दा बचतकर्ताले विश्वास गर्लान्, सुझाव दिनुपर्यो भन्नुभयो । हजुरले सहयोग गर्नुपर्यो, भाषा लेखेर पठाइदिनु न भन्नुभयो, राती साढे २ बजेतिर मैले एउटा प्रतिवद्धताको ड्राफ्ट गरेर पठाइदिए । यसमा थपघट गर्नुहोला भनेको भोली पल्ट नौ बजे मैले जस्तो पठाएको थिए, उस्तै प्रतिवद्धता उहाँकै फेसबुकमार्फत सार्वजनिक भयो ।
सहकारीको बचत हाम्रो जग्गा जमिन बेचेर भए पनि फिर्ता गर्छौं भन्ने प्रतिवद्धता आएपछि समाचार बनाइयो, सबैले त्यसलाई शेयर गर्नुभयो, त्यसले केही हदसम्म बचतकर्तालाई राहत भयो । यदी देव कुमार नेपालीले त्यो प्रतिवद्धता नगरेको भए बचतकर्ताको आन्दोलन चर्कन्थ्यो र त्यसले बागलुङमा सहकारीको अवस्था साह्रै गाह्रो अवस्थामा पुग्थ्यो । उहाँले गरेको प्रतिवद्धताले बचतकर्ता धेरै नै आश्वस्त भए । देव कुमार बोलेपछि फिर्ता गर्छन् भन्ने आभाष बचतकर्तालाई दिए ।
त्यसपछि उहाँका प्रतिनिधिहरुसँग नियमित कुराकानी भयो । बैशाख ११ गते उहाँ बागलुङ बजारमा आउनु भयो । उहाँको कर्मा कम्प्लेक्समा पहिलो पल्ट सहकारी अभियानका अगुवा साथीहरु सहित कुराकानी भयो । उहाँलाई हामीले बचतकर्तासँग समन्वयकारी भूमिका निर्वाह गर्न, उहाँहरुलाई बचत फिर्ता गर्ने ग्यारेण्टीसहितको प्रतिवद्धता व्यक्त गर्न सुझाव दियौं । बचतकर्ताको बीचमा जान, भेट्न, उहाँहरुसँग परामर्श गर्न सुझाव दियौं । उहाँले हाम्रो सुझाव अनुसार नै भेटघाट गर्नुभयो । भेला गर्नुभयो । बचतकर्ताले ६ महिनासम्म रकम माग नगर्ने प्रतिवद्धता पनि गर्नु भयो । तर जब बचतकर्ताले ६ महिना बचतफिर्ता नमाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ? त्यस लगत्तै उहाँ सम्पर्क विहीन हुनुभयो ?
बचतकर्ताले ६ महिना समय थप गर्ने प्रतिवद्धता गरेको चौथो दिनमा उहाँ सम्पर्क विहीन हुनुभयो । उहाँलाई सम्पर्क विहीन हुनु पर्ने कारण किन आयो ? कसरी सम्पर्क विहीन हुनुभयो ? कसरी फिर्ता आउनु भयो ? त्यो समयक्रममा खुल्ने नै छ । उहाँले व्यक्त गर्नु नै हुनेछ । तर, उहाँ सम्पर्क विहीन भएका कारण उहाँको सहकारीका बचतकर्ता र आम सहकारीकर्मीमा परेको बज्रपात सानो थियो त ? उहाँले सम्पर्क विहीन भएर आफुलाई त सुरक्षित राख्नु भयो ? के उहाँलाई ‘भगवान’ जस्तै ठान्ने गर्ने बचतकर्तालाई सुरक्षित राख्न सक्नु भयो त ? पैसाको मात्रै कुरा होइन, भावनामा कति ठेस लाग्यो ? तनावका कारण के कति समस्या परे होला ? इमेज पीडित समितिका पदाधिकारीहरुले बेला-बेला सार्वजनिक कार्यक्रममा व्यक्त गर्ने अभिव्यक्तिबाट धेरै कुरा जानकारी पाउन सकिन्थ्यो ।
इमेज सहकारीका बचतकर्ताको अवस्था जति कठिन थियो, त्यस्तै समस्या अरु सहकारीका सञ्चालकहरुलाई परेको यथार्थ पनि लुकाउन आवश्यक छैन । सबैलाई इमेजकै डालोमा हालेर चोक–चोकमा रोइलो गर्नेहरु कम थिए र ? अब पालो फलानो सहकारी को हो ? भन्दै भट्याउँदै हिँड्नेहरुको संख्या कम थियो त ? कतिपय शालिन मान्छेहरुले पैसा झिक्ने, झिक्न लगाउने र सहकारी अभियानलाई सर्लक्कै सिध्याउने अभियानमा मान्छेहरु थिएनन् र ?
देव कुमार नेपाली आफु सुरक्षित भइरहँदा सिंगो सहकारी अभियानको मर्म माथि, सहकारीकर्मीहरुको काम प्रति बज्र बर्साएको सामान्य विषय थियो र ? तर पनि पीडित, अभियानकर्मी, राजनीतिक दल, स्थानीय प्रशासन, स्थानीय तह सबैले संयमता अपनाएका कारण आज फेरी पनि सहकारीको विकल्प सहकारी नै हो ? भन्ने अवस्था सिर्जना भएको होइन र ?
देव कुमार नेपाली अध्यक्ष रहेको सहकारीमा बचतकर्ताले राखेको पैसा कहाँ थियो, कहाँ रहेछ, कसरी परिचालन भएको रहेछ ? त्यो सबै कुरा विस्तारै छर्लङ्ग भएन र ? इमेज सहकारीमा समस्या आउँदा त्यसको प्रमुख तारो देव कुमार किन बन्नु भयो ? के उहाँ ढोरपाटनको मेयर भएका कारण वा उहाँ नेकपा एमालेको प्रदेश कमिटिको सदस्य भएका कारण तारो पर्नु भएको हो र ? उहाँलाई अन्य क्षेत्रको आधारमा आक्रमणको तारो बनाएका हुन र ? होइन, उहाँले सहकारी उहाँको मर्जी अनुसार चलाउनु भएको थियो । उहाँले सहकारीको रकम आफ्नो निजी सम्पत्तीमा लगाउनु भएको थियो, त्यसकारण बचतकर्ता र राज्यको ध्यान उहाँमा मात्रै केन्द्रित भएको हो । यदी उहाँले बचतकर्ताको रकम ऋण लगानी गरेको भए, ऋणी पनि त्यसको तारो बन्थे र उहाँप्रतिको आक्रोश कम हुने थियो ।
देव कुमार सम्पर्क विहीन नभएको भए के हुन्थ्यो ? उहाँलाई व्यक्तिगत रुपमा सुरक्षामा खतरा हुन सक्थ्यो होला ? तर बचतकर्ताले ६ महिनाका लागि समय थप गरिदिदाँ पनि उहाँ भाग्नु भनेको बचतकर्ताको विश्वास माथिको कुठराघात त हुँदै हो, बागलुङको सहकारी अभियान सिध्याउने परिघटना पनि हो भन्ने मेरो निष्कर्ष हो । उहाँ शुरुमै भागेको भए हामीलाई शंकाको सुविधा हुने थिएन, तर पोखरा र बागलुङका बचतकर्ताले ६ महिना कुर्ने प्रतिवद्धता गरे, त्यसपछि भाग्नुको विशेष अर्थ छ, त्यो पनि समयक्रममा पक्कै खुल्ला ?
देव कुमार नेपाली सम्पर्क विहीनपछि बागलुङका अन्य सहकारीमा कस्तो प्रभाव पर्यो भनेर विश्लेषण गर्दा सहकारी अभियानका विरुद्ध विषवमन गर्नेहरु मुलतः चार प्रकारका मान्छे देखिए । एकथरी इमेज र शिवशिखरमा समेत रकम राखेर फिर्ता नपाएका पीडितहरु, दोस्रो थरी अब सहकारीमा राखेको रकम डुब्छ निकाली हालौं भन्नेहरु, तेस्रो सहकारीबाट ऋण लिएर तिर्न पर्दैन भन्ने मानसिकता भएकाहरु र अर्काथरी सहकारी सिध्याउने योजना बनाउने, योजनामा सघाउनेहरु ।
पहिलो पीडितहरुले जे गरे, आफ्नो पीडाका कारण गरे । उनीहरुलाई भन्ने ठाउँ छैन । आफु समस्यामा परेपछि आक्रोशित हुने कुरालाई अन्यथा मानिदैन । पीडित मध्येका एकजनाले जिल्ला सहकारी संघमा भएको छलफलमा अब सबै सहकारी बन्द गराइदिन्छु भन्नुभयो, मैले सक्नु हुन्छ ? भनेर प्रतिवाद गरे । चर्को छलफल भयो तर हामी पीडितसँगै समस्या समाधानमा सहकार्य गरी रह्यौं ।
दोस्रो अरु पीडामा परेको देखेर आत्तिएका सदस्यहरुलाई पनि भन्नु केही छैन । उहाँहरुले पनि अरुको पैसा फस्यो अब मेरो पनि फस्छ कि ? भन्ने ठान्नु भयो । आफु आवद्ध संस्थाको बारेमा विश्लेषण गर्न जान्नु भएन वा डरका कारण विश्वास गर्न सक्नु भएन ।
तेस्रो थरी सहकारीबाट ऋण लगेकाहरु जसले इमेजको चर्चा सबै भन्दा बढी गरे । यिनीहरुको स्वार्थ सहकारी बिग्रिए ऋण तिर्न पर्ने थिएन भन्ने हो । अहिले यसो बुझ्दैछु, इमेजमा पैसा राखेर त्यहीबाट ऋण लगेकाहरुको पनि अलि चर्कै स्वर थियो । इमेज सहकारीले पो बचतकर्ताको बचत निजी सम्पत्तीमा लगाएको थियो र ऋणीको खोजी भएन, यदी ऋण लगानी गरेको अर्को सहकारीमा समस्या आयो भने सञ्चालक, व्यवस्थापन र ऋणी समेतको खोजी हुन्छ र सबै ऋणीलाई राज्यले नै ऋण भुक्तानका लागि पत्राचार गर्छ, ऋण नतिरे कालोसूचिमा राख्छ भन्ने ज्ञान नभएर हो वा जे गरे पनि हुन्छ भनेर हो, यिनीहरुले अलि बढी सहकारीका विरुद्ध प्रहार गरे ।
अर्काथरी सहकारीलाई सिध्याउन पर्छ भनेर योजना बनाउनेहरु फिल्डमा देखिएनन् । उनीहरुले बजारमा जसले अलि बढी प्रभाव पार्र्न सक्छ त्यस्ता नेता, कार्यकर्ता, सामाजिक अगुवा, बुद्धिजिवीहरुलाई अब यो सहकारी सकिन्छ । त्यो सकिन्छ लगायत धेरै कुरा सम्झाए, खाजा खुवाए, उस्तै परे रात्रीकालिन बसाई बसाले अनि सहकारीका विरुद्ध प्रचारमा लगाए ।
यी सबैले लगाएको जोडबलबाट सहकारीलाई धक्का, मुक्का त लाग्यो तर लडाउन सकिएन भन्ने महसुस योजनाकारहरुलाई पक्कै भएको हुनु पर्छ । सहकारी अभियानलाई तर्साउने काम त भयो तर लडाउन नसकेकोमा केहीलाई ठुलै पछुतो हुन सक्छ ।
एउटा सहकारी बिग्रिएपछि सबै सकिन्छन् भन्ने मानसिकता किन आयो, किन नियोजित रुपमा प्रचार गरियो त्यो सबै हिसाव किताव विस्तारै खुल्दैछ । इमेज सहकारीमा समस्या आउनुको मुख्य कारक को हो ? धेरै कोणबाट आरोप प्रत्यारोप भए । एकले अर्कोलाई आरोप लगाउने होड नै चल्यो ? इमेजसँग सम्बन्धितहरुलाई आरोप लाग्नु ठिकै हो, यो संग सम्बन्ध नै नभएकाहरुलाई पनि आरोप लगाइयो, अरु सहकारीहरुलाई पनि लगाइयो ।
जसले जे आरोप लगाए पनि यसको मुख्य दोषी इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु हुन, त्यसका कर्मचारीहरु हुन । त्यसपछि सहकारीलाई सञ्चालन गर्न अनुमति दिएर नियमन गर्न नसकेको सरकार, सहकारीहरुको प्रवद्र्धनका लागि सक्रिय सहकारी अभियान वा अरु पनि होलान् । हामी अभियानका तर्फबाट हाम्रो कति जिम्मेवारी हो लिन तयार छौ, लिइ पनि सकेका छौ, त्यसको असर अभियानलाई राम्रै परेको पनि छ । अभियानले भन्ने हो, पटक पटक इमेजको टिमलाई भनेकै हो, उहाँहरुले पैसा भए चल्छ सहकारी भन्नुभयो, अहिले चलेन । पैसा होइन, सहकारी चलाउन सदस्य, त्यो पनि सक्रिय सदस्य चाहिन्छ भन्ने कुरा प्रष्ट भएको छ ।
सहकारीमा समस्या आउनुमा अरु अरुको जति जिम्मेवारी छ, आँखा चिम्लेर सदस्य नै नबनी बचत गर्ने, जाने बुझेका बचतकर्ताहरुको पनि भूमिका छ । जसलाई सदस्य नबनी सहकारीमा बचत गर्न पाइदैन भन्ने थाहा थिएन, तिनको भूमिका भएन होला तर, अर्को सहकारीको नेतृत्वमा भएका, सहकारी अभियानकै नेतृत्वदायी संस्थाको जिम्मेवारीमा रहेकाहरुले सदस्य नै नबनी सहकारीमा बचत गरेर पनि इमेजलाई हौस्याएको कुरा लुकेको छ र ?
यति मात्रै हुन् र ? देव कुमारलाई संरक्षण गर्ने राजनीतिक दलका नेताहरु होइनन् र ? प्रशासनिक क्षेत्रका जिम्मेवार व्यक्तिहरु होइनन् र ? साँच्चिकै खोजौं त ? देव कुमार दाइ इमान्दारीपूर्वक भन्नुस् त ? सहकारीमा जम्मा भएको रकम तपाईले आफ्नो सम्पत्ति जस्तै ठानेर राजनीतिक दलका, सहकारी अभियान, सामाजिक क्षेत्रका, सरकारी कर्मचारी, सामाजिक संघ/संस्था, क्लवहरुलाई कसरी सहयोग गर्नुभयो ? चन्दाका नाममा, सहयोगका नाममा, लेवीका नाममा ठाउँको ठाउँ लाखका बिटा थमाएको त धेरैले देखे सुनेकै कुरा हो नि ? इमेज सहकारीको साधारणसभा उद्घाटन गर्न हेलिकप्टरबाट ढोरपाटन गएको समाचार मिडियामा आएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेलाई गृहमन्त्रालयले सचेत बनाएको प्रसंग पनि धेरै त भएको छैन ।
हाम्रो समाज चन्दा दिए त्यो मान्छे ठिक, चन्दा नदिए त्यो बेठिक भन्ने होइन र ? तपाईले चन्दा दिदाँ शिर पुरिने गरी माला लगाइदिने यही समाज होइन र दाइ ? आज त्यही समाजले तपाईलाई कति गाली गर्यो, कति सराप्यो ? चन्दा दिएर, शासक प्रशासकलाई खुशी तुल्याएर होइन, सहकारीलाई सदस्यका बीचमा स्थापित गराएर मात्रै जोगाउन सकिन्छ भन्ने सिकाई पक्कै भएको होला ।
संकटमा कोही आफ्नो हुँदैन भन्ने कुरा तपाईले भन्दा बढी कसले बुझे होला र दाइ ? कारागारमा पुर्पक्षका लागि बस्नु भएको छ, लेख्नुस् न है, कसरी समस्यामा परे म भनेर, के के भयो, को को ले तपाईको आड भरोसामा जीवन चलाए, संस्था चलाए, पार्टी चलाए, मेला भव्य बनाए, विद्यालय चलाए, नेता भए, नेतृत्व पाए ? हामीले देखेको र तपाईले भोगेको त धेरै फरक छ होला नि ?
प्रसङ्ग फेरी पनि देव कुमार दाईको प्रस्तुतीमै छ । उहाँले शुरु दिनदेखि मेरो सम्पत्ती बेचेर बचतकर्तालाई रकम फिर्ता दिन्छु भन्नु भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्यामा पर्यो भने त्यसका सञ्चालक समिति, व्यवस्थापनले मुख्य जिम्मेवारी लिने हो, यसको अर्थ उनीहरु मात्रै जवाफदेही होइनन्, सहकारीबाट ऋण लगेका सदस्यहरु पनि जवाफदेही हुन्छन्, हुनु पर्छ । तर दुर्भाग्य आजको दिनसम्म पनि इमेजबाट ऋण लगेकाहरुको अत्तो पत्तो छैन । ऋण लगानी नै नभएर कि ? ऋण लगेकाहरुको बारेमा चर्चा नभएर ?
अब छलफल यसरी पनि चलाउनु पर्छ ।
इमेज पीडित भनेर निकै कराउने एक जना भाइसँग एक दिन लामै कुरा भयो । उहाँले मेरो २०/२२ लाख जति बचत छ भनेर कतिपय मिडियामा भनेको सुनेको थिए । कुराकानीका दौरानमा उहाँले बचत डुबेका कारण दुःख पाएको लामै कथा सुनाउनु भयो । कुरा गर्दै जाँदा अन्तिममा ९० प्रतिशत ऋण लिएको कुरा पनि फुत्काउनु भयो । २० लाख बचत छ भनेर हल्ला गर्ने मान्छेले १८ लाख ऋण लिएको कुरा कहि कतै भनेनन्, धेरै सोधखोज पछि मात्रै उनले ऋणको कुरा फुत्काएका हुन् ।
यस्ता मान्छे कति छन् ? १ करोड बचत राखेर ९० लाख ऋण लगेका मान्छेको विवरण सार्वजनिक गर्दाको दिन बल्ल थाहा हुन्छ । इमेजले खास कति पैसा सदस्यलाई फिर्ता दिन छ र कति पैसा लिन छ । त्यसकारण पनि अब सकारात्मक ढंगले छलफल चलाउनु पर्छ । छलफल चलाउन लिन पर्नेको मात्रै होइन, दिन पर्नेहरुका बारेमा पनि चर्चा आवश्यक छ ।
जहाँसम्म इमेजमा समस्या आएपछि सबैमा समस्या आउँछ भनेर चर्चा गरिएको थियो र यद्यपि छ, उहाँहरुलाई एउटा मात्रै अनुरोध छ, समस्या जसको सहकारीमा आउँछ । त्यसको जवाफदेहिता त्यही सहकारीका सञ्चालक र व्यवस्थापनले लिने हो, लिनु पर्छ । नलिए कानुनी कारबाही भोग्न तयार हुनुपर्छ ।
भर्खर आएको सहकारी अध्यादेशले कुनै पनि सहकारी समस्यामा परेको अवस्थामा सहकारीका सञ्चालक व्यवस्थापनसँगै ऋणी सदस्यहरु समेतको जग्गा रोक्का हुने, बैंक खाता लगायत कामकाजमा रोक्का गर्ने व्यवस्था गरेको छ । यसभन्दा पहिला समस्याग्रस्त सहकारीका सञ्चालक र व्यवस्थापनको मात्र भएकोमा अध्यादेशमा ऋणीको समेत शब्द थप भएको छ ।
सहकारीमा समस्या थिए, छन् । समस्या आउँछन् । सहकारीमा मात्रै समस्या छैनन्, राजनीति, सरकारी सेवा प्रवाह लगायत यावत क्षेत्रमा समस्या छन् । राजनीतिमा एउटा व्यक्तिले गल्ती गर्दा व्यक्ति कारबाहीमा पर्छ । प्रशासनिक क्षेत्रमा एकजना व्यक्तिले गल्ती गर्दा त्यो व्यक्ति कारबाहीमा पर्छ । यो देशका उपप्रधानमन्त्री भइसकेका व्यक्तिहरु, बहालवाला मन्त्रीहरु, वहालवाला मुख्य सचिव लगायत सचिवहरु पनि कार्वाहीमा परेका थुप्रै उदाहरणहरु छन् । सहकारी क्षेत्रमा पनि गल्ती जसले गर्छ, समस्यामा उही पर्छ, पर्नुपर्छ । इमेज सहकारीका सञ्चालकले गरेको गल्तीको सजाय आम सहकारीकर्मीले पाउनु हुँदैन । एउटाले गरेको गल्तीका कारण अरुको हुर्मत लिने काम बन्द गरिनु पर्छ ।
सहकारी सञ्चालनको जिम्मेवारी मुख्य गरेर साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको हुन्छ । सञ्चालक समितिले आफ्नो कामलाई सहज बनाउनका लागि व्यवस्थापनलाई जिम्मेवारी दिन सक्छ तर त्यो संस्थामा समस्या आउँदा त्यसको अन्तिम जवाफदेही सञ्चालक समिति हो । त्यसको अगुवाई गर्ने जिम्मेवारीका हिसाबले अध्यक्षले लिनु पर्ने हुन्छ ।
त्यसैले, इमेज बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी त्यसका सञ्चालक र व्यवस्थापनको हो । उहाँहरुले बचत फिर्ताका लागि जे गर्नु भएको छ, त्यो सफल होस्, सदस्यहरुले आफ्नो रकम फिर्ता पाउनु पर्छ ।
अन्त्यमा, इमेज सहकारीका बचतकर्तालाई बचत फिर्ता गराउन सकिन्छ कि भनेर अभियानको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्दा विशेष गरी म र म आवद्ध संस्थालाई इमेजसँग निकै जोड्ने गरियो । व्यक्तिको र संस्थाको रकम फसेको लगायत धेरै कोणबाट चर्चा परिचर्चा गर्ने साथीहरुलाई यत्ति मात्रै भन्छु, इमेज सहकारी र देव कुमार नेपालीसँग अभियानको बाहेक आर्थिक रुपमा लेनदेनको कुनै पनि साइनो सम्बन्ध थिएन र छैन ।
सहकारी बैंकबाट ऋण लिन पाउने संस्थाको अधिकार थियो, त्यो संस्थाले ऋण लियो । ऋण तिरेन बैंकले लिलाम गर्न पाउने अधिकार राख्छ, गर्यो । अझै पनि ऋण उठेन भने गर्छ । ऋण लगेकाहरुले नतिर्दा इमेजको मात्रै होइन, सहकारी संस्थाका ऋणी सदस्यहरु पनि कालो सूचिमा पर्छन्, लिलाम हुन्छ । अहिलेसम्मको कानुनले ऋण लगेकाहरुबाट असुल गराउने नै भन्छ । चाहे जे सुकै नाममा ऋण नतिर्ने अभियानमा लागे पनि अन्तिममा ऋण ऋणीले नै तिर्ने हो ?
इमेज सहकारीमा जसरी समस्या आयो, त्यसरी समस्या आउन नदिन सहकारीका सञ्चालक, व्यवस्थापन लगायत शेयर सदस्यहरु सबै चनाखो बनौं । सबैलाई एउटै डालोमा हालेर व्यवहार नगरौं । कमीकमजोरी छन्, सुधारौं । राम्रा कुरा छन्, प्रचार प्रसार गरौं । सहकारीमार्फत नै समाजवादमा पुग्न सकिन्छ । सहकारीलाई अर्घेल्याइ होइन, प्रवद्र्धनमा लागौं ।
७ बैशाख २०८० को त्यो सहकारीका लागि कष्टपूर्ण दिनको स्मरण गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरु सक्रियता पूर्वक लागौं ।
धन्यवाद, जय सहकारी ।
Advertisment