कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) काभ्रेका अध्यक्ष गोपाल दाहालले सहकारी नरहे अर्थतन्त्र धराशायी बन्ने बताएका छन् । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रमा संकट गहिरिँदै जाँदा देशको अवस्था के होला भनेर कल्पना गर्न नसकिने डरलाग्दो अवस्था रहेको उनको भनाइ छ । यो अप्ठ्यारो परिस्थिति पनि एकदमै संयमता, सहकार्य र एकताका साथ हातेमालो गरेर सहकारी अभियानलाई बचाएर लानुको विकल्प नरहेको उनले बताएका छन् । तसर्थ सहकारीलाई अघि बढाउन सकियो भने समग्र अर्थतन्त्र सुध्रिन सक्ने उनको दाबी छ । प्रस्तुत छ, अध्यक्ष दाहालसँग वित्तीय पोष्ट डटकमले गरेको कुराकानीको संम्पादित अंशः
कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) काभ्रेको अध्यक्षमा निर्वाचित हुनुभएको छ । सीएमसी, काभ्रेको बारेमा केही बताईदिनुस् न ?
सीएमसी काभ्रे विशुद्ध रुपमा सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता विकास गर्ने, नेतृत्व विकास गर्ने र आफ्नो व्यावसायिक क्षमतालाई अभिवृद्धि गर्न गठन भएको संस्था हो । सहकारीमा काम गर्ने व्यवस्थापन प्रमुख, विभागीय प्रमुख र अधिकृत सरहका कर्मचारीलाई समेट्ने गरी संस्था गठन भएको हो ।
कस्तो सीएमसी, काभ्रेको परिकल्पना गर्नुभएको छ ?
सहकारी भित्र काम गर्ने कर्मचारीहरु अत्यन्त व्यावसायिक हुन्छन् । सीएमसीमा सदस्यता लिएका कर्मचारीहरु क्षमतावान् हुन्छन् । सहकारी क्षेत्रमा प्रखर भएर निस्कन्छन् र राम्रो ज्ञान, सिप र क्षमता प्राप्त गर्छन् भन्ने परिकल्पनाका साथ कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो संस्था स्थापित भएको छ ।
बचत तथा ऋण, बहुउद्देश्यीय र कृषि लगायतका सबै किसिमका सहकारीहरुमा काम गर्ने कर्मचारीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गरेर सबै क्षेत्रमा कर्मचारीहरु योग्य हुन्छन् भन्ने बनाउनका लागि संस्थाको परिकल्पना गरिएको हो ।

सीएमसी काभ्रे सहकारीका व्यवस्थापकहरुको साँच्चिकै साझा फोरम बन्न सफल भएको छ ?
हामीले २०७८ साल भदौ २ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा संस्था दर्ता गरेका थियौं । हाम्रो विधानमा पनि सदस्यता नलिईकन सहभागी हुन नपाउने पनि उल्लेख छ । यसमा एउटा मात्र प्रकृतिको संस्था आवद्ध हुँदैनन् । सबै किसिमका सहकारीका कर्मचारी आवद्ध भएका कारण पनि वास्तवमा साझा फोरम बन्न सक्छ । हामीले सबै क्षेत्रका साथीहरुलाई समेटेर लगेका छौं । सदस्यता वृद्धि गर्नुपर्ने कुरा छदैँछ । तर, यो संस्था सबैको साझा फूलबारी बन्छ भन्नेमा स्पष्ट छ ।
सीएमसी काभ्रे सहकारी अभियन्ताहरुलाई ओझेलमा पार्ने अर्थात् अभियन्ताहरुले गर्ने बसह पैरबी सिएमसी काभ्रेले गर्न थाल्यो भन्छन् नी ?
यो गलत हो । बहस पैरवीको काम अभियान्ताको संघहरुले गर्ने हो । हामी विशुद्ध रुपमा सहकारी अभियानमा भएका साथीहरुले प्राविधिक रुपमा सहयोग मागेमा सहयोग र सल्लाह दिन्छौं । बहस पैरवीको काम अभियान्ताहरुले नै गर्ने हो । अभियान ओझेलमा परेको होइन हामी एक रथमा दुई पाङ्ग्रा हौं । सहकारी अभियानलाई सफल बनाउन हामीसँगै छौं । मिलेर काम गरिरहेका छौं ।
सिएमसी काभ्रेमा बचत तथा ऋण सहकारीकै व्यवस्थापनको बाहुल्यता देखिन्छ । अन्य प्रकृतिका सहकारी व्यवस्थापनको क्षमता अभिवृद्धिमा सिएमसीले ध्यान ननपुर्याएको हो ?
आम रुपमा हेर्ने हो भने नेपालकै सहकारी अभियानमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा नै अलि बढी समस्या देखिएको छ । समुदायस्तरमा गएर काम गरेका बचत तथा ऋणका सहकारीमा समस्या देखिएको छ । सहकारी ऐनमा पनि ३० प्रतिशत भन्दा बढी जुन उद्देश्यका लागि काम गर्या छ, उद्देश्य अनुरुपनै हुनुपर्छ भनेको छ ।
धेरै संस्थाले बचत तथा ऋणको काम गरे । सीएमी काभ्रले सबै प्रकृतिका संस्थाको म्यानेजरहरु, विभागीय प्रमुख र अधिकृत तहका सबै कर्मचारीहरुलाई समेटेको छ । हाम्रा सदस्यहरुको संख्या पनि बराबरी नै छ । कार्यसमितिमा पनि सबै प्रकृतिका साथीहरुलाई समेटेका छौं ।
तसर्थ बचत तथा ऋणको सहकारीकै बाहुल्यता बढी छ । तर, समेट्ने कुरामा सबै प्रकृतिका संंस्थामा आवद्ध साथीहरुलाई समेटेर क्षमता अभिवृद्धिमा लागेका छौं । सहकारी क्षेत्रमा काम गर्ने साथीहरु पनि दक्ष, क्षमतावान् र नेतृत्वान् भएर समुदायस्तरसम्म जान सक्छन् । यसका लागि सीएसमीले काम गर्नसक्छ भन्ने उद्देश्यले काम गरिहेका छौं ।
सहकारी संकट सहर केन्द्रीत छ, काभ्रेपनि सहरसँग जोडिएकाले सहकारी ठगीका घटानाहरुले अलि बढी आएका छन् । यस्ता समाचार आउन नदिन सिएमसीको भूमिका के हुन्छ ?
यो एकदमै सान्दर्भिक कुरा हो । व्यक्तिले आफ्नो परिवार र कमाई खाने भाँडोको रुपमा सहकारीलाई प्रयोग गरे । जसले सहकारीको मर्म, मूल्य मान्यता र सिद्धान्त भन्दा भिन्न रुपमा सञ्चालन गरे ती सहकारी समस्यामा छन् ।

समस्यामा परेका संस्थाको इतिहास हेर्ने हो भने सिद्धान्त भन्दा बाहिर चलेका छन् । परिवारले चलाएको छ । संस्थाका सदस्यहरुले सहकारी कस्तो छ भनेर बुझेकै छैनन् । केही संस्थाहरु सहर केन्द्रीत भएपनि काभ्रेका स्थानीय बासिन्दाहरुले चलाएका संस्थामा समस्या छैन ।
एकदुई वटा ठगीका कुराहरु आएका छन् । ती संस्थाहरु हेर्ने हो भने कार्यक्षेत्र दुई चारवटा जिल्लामा हुने र सेवा केन्द्र बनेपामा ल्याएर राख्ने अथवा सहरमा ल्याएर राख्ने गरेको पाइएको छ । यस्ता संस्थाहरुले गर्दा ठगीका कुराहरु आए ।
तर, वास्तविकतामा बनेपालाई नै कार्यक्षेत्र बनाएका अझ भनौं काभ्रे जिल्लालाई नै आफ्नो कार्यक्षेत्र बनाएका र जिल्ला भित्रै स्थायी रुपमा बसोबास गरेका व्यक्तित्वहरु जो सञ्चालक समितिमा छन्, त्यहाँका मात्रै स्थानीय व्यक्तिहरुलाई आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरु बनाएका छन् ।
ती संस्थाहरु समुदाय केन्द्रीतमा छन् । सामाजिक क्रियाकलापहरु गरिहेका छन् । कर्मचारीहरु पनि व्यावसायिक हुँदै गएका छन् । तसर्थ काभ्रेका संस्थामा समस्या छैन । काभ्रेलाई कार्यक्षेत्र बनाएर जिल्ला बाहिर रहेर काम गरेका संस्थामा मात्रै समस्या हो ।
सहकारीका व्यवस्थापक, कर्मचारीहरुको क्षमता विकासमा क्लबले के कस्ता काम, पहल गर्दै आएको छ ?
हामीले अहिले कर्मचारीहरुलाई आवश्यक तालिमहरु प्रदान गरिरहेका छौं । तालिम दिने र तालिम लिएपछि उनीहरुले के-के सिके, तालिमले कस्तो अवसर दियो र सुधार्नुपर्ने कुराहरु के–के छन् भनेर फेरी उहाँहरुसँग पृष्ठपोषण लिएर उहाँहरुकै आग्रहमा नयाँ तालिमहरु सञ्चालन गरिहेका छौं ।
अर्कोतर्फ समुदाय स्तरमा रहेका संस्थाहरुमा काम गरेका कर्मचारीहरुको काम र कार्यक्षमता हेर्न संस्थागत रुपमा स्थलगत भ्रमण पनि गरेका छौं । भ्रमणका क्रममा एकअर्काका अनुभवहरु साटासाट गर्ने कामहरु पनि गरेका छौं ।
यसका साथै अहिले आएको सहकारी ऐन नियम र निर्देशन परिस्थति अनुसारका जन्मिएका विषयवस्तुहरु जति छन् र जहाँ–जहाँ सहकारी अभियानलाई समस्या परेको छ । त्यसको लागि पनि हामी तत्काल बसेर समस्याहरुले यसरी समाधान गर्दै जानुपर्छ भनेर सिकाउने र आम सहकारीमा आएको समस्याको बारेमा पनि छलफल गरेका छौं ।
विशेष गरी कर्मचारीहरुकै क्षमता अभिवृद्धि मुख्य उद्देश्य भएकाले उहाँहरुको वृद्धि विकाससँगै अहिले भएका समसामयिक विषयमा उहाँहरुलाई एड्जस्ट गराएर अघि बढेका छन् ।
सहकारीका व्यवस्थापन र सञ्चालक बीचको मनमुटावका घटनाहरु पनि सुनिन्छ । काभ्रेमा यस्तो घटना छ की छैन ?
भित्रभित्र त होला । तथापि काभ्रेमा सहकारी सिद्धान्त, मूल्य र मान्यतामा रही समुदायस्तरमा सञ्चालित संस्थाहरुलाई व्यवस्थापन र सञ्चालकको भूमिका के हो भन्ने कुरा प्रष्ट रुपमा आन्तरिक कार्यविधिमा पनि लेखिएको छ । नीति र नियममा उहाँहरु चल्नु भएको छ । उहाँहरुलाई आ-आफ्नो कार्यविभाजन थाहा छ । आफ्नो जिम्मेवारीमा प्रष्ट भएपछि मनमुटाव हुँदैन ।
जुन संस्था विधि र व्यवस्थामा छैन, व्यक्ति हाबी भएर संस्था चलाएको छ र नीति विधि भन्दा बाहिर संंस्था चलेको छ भने त्यहाँ मनमुटाव हुन्छ । यस्छा घटनाहरु आउँछन् ।
समुदायस्तरमा चलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त संस्थाहरु र उर्वर भुमि को रुपमा पनि काभ्रे रहेका कारण पनि यहाँ उदाहरणीय क्षेत्र बनेको छ । एकाध घटना आएका छन् । सबैमा छैन ।
सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरु अन्य क्षेत्र (बैंक तथा वित्तीय संस्था) मा फड्को मार्ने प्रवृत्ति छ । यसमा के भन्नुहुन्छ ?
हामी सुरक्षित भएनौं की ? संस्थामा काम गर्दा सुरक्षित हुँदैनौं की भन्ने खालको पीडा र डरको कारण बैंक तथा वित्तीय संस्थामा जाने प्रवृत्ति देखिएको हो । काभ्रेका सहकारीमा आम रुपमा हेरिरहँदा पछिल्लो समय समुदायस्तरमा चलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत भएका संस्थाहरु भएका कारण यहाँ समस्या देखिएको छैन ।
हामीले सेवा सुविधाहरु पूर्ण रुपमा वृद्धि गर्न सकेनौं भने कर्मचारीहरु जानु होला । तर, उल्लेख्य रुपमा गएको अवस्था छैन । त्यसलाई रोक्न अहिले धेरै संस्थाहरु सामाजिक सुरक्षा कोषमा जानु भएको छ । साइबर सेक्युरिटीको कुराहरु पनि गरेका छौं ।
कर्मचारीहरुलाई दिगो रुपमा रोक्नका लागि र स्थायित्व दिनका लागि उहाँहरुको सेवा सुविधालाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने तर्फ जोड दिएर सामाजिक सुरक्षा कोषमा जोड्ने र हामीले दिन सक्ने सुविधा दिन सकियो भने विस्तारै संस्थालाई वृद्धि गर्न सकिन्छ ।

समग्र सहकारी क्षेत्रका कर्मचारीहरुको स्थायित्वका लागि गर्नुपर्ने अन्य रणनीतिहरु के-के छन् ?
आजसम्मको अभ्यासलाई हेर्दा हामीले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई जसरी पढाइरहेका छौं, कर्मचारीहरुलाई पनि त्यसरी नै पढाउनुपर्ने अवस्था देखिएको छ । सहकारीको सिद्धान्त, कर्म र मूल्य मान्यता के हो? सहकारी बैंक तथा वित्तीय संस्थामा के फरक छ ? भन्ने कुरा पनि उहाँहरुलाई ज्ञान दिन सकियो र समयले माग गरे अनुसारका कुराहरु पुरा गर्ने, कर्मचारी र सञ्चालकको हागाँ छ्ट्टाछुट्टै हुन्, आ–आफ्नो पाटोमा जिम्मेवारी पुरा गर्नुपर्छ भनेर बुझाउन सक्यौ भने समस्या आउँदैन ।
सदस्यको दायित्व, कर्मचारीको दायित्व र सञ्चालकको दायित्वलाई बुझाउन सकियो भने सहकारी सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुनेछ । सदस्यसँग सधै ठोक्किने सञ्चालक भन्दा कर्मचारी नै हो । सञ्चालक, कर्मचारी र सदस्यहरुबीचको सम्बन्धलाई मजबुत बनाउन सकियो भने संस्था बलियो बनाउन सकिन्छ ।
समस्यामा परेका संस्थाहरु पनि हामीले हेर्यौ । अधिकांश सहकारीमा समस्या आउनुमा नीति विधि र प्रविधि नअपनाएको पाइयो । सिद्धान्तमा नचल्ने र व्यक्ति हामी हुने प्रवृत्तिले गर्दा समस्या आएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अहिले सहकारी अभियानका सबै साथीहरुले गाह्रो भयो, अप्ठ्यारो परिस्थिति छ भनिरहनु भएको छ । अप्ठ्यारो परिस्थितिमा पनि एकदमै संयमता, सहकार्य र एकताका साथ हातेमालो गरेर अभियानलाई बचाएर लानुको विकल्प छैन । सहकारी रहेन भने देशको अवस्था टाट पल्टिने र देशको अवस्था के होला भनेर कल्पना गर्न नसकिने डरलाग्दो अवस्था छ ।
बैंक तथा वित्तीय क्षेत्र पुग्न नसकेको कुना कन्दरामा पुगेको सहकारीलाई बचाउनु आजको आवश्यकता हो । तसर्थ सबै मिलेर सहकारी अभियानलाई बचाऔं । सहकारीलाई अघि बढाउन सकियो भने समग्र अर्थतन्त्र सुध्रिन सक्छ । तसर्थ सहकारी अभियानलाई एक भएर अघि बढाउन आवश्यक छ ।
Sponsored Advertisment