काठमाडौं : विभिन्न ३५ कम्पनीहरु करिब २८ अर्ब रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् । आईपीओ निष्कासनका लागि उक्त कम्पनीहरु नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् ।
बोर्डका अनुसार विभिन्न ३५ कम्पनीहरुले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीृकृति पाएपछि यी कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् ।
अनुमतिको पखाईमा बसेका कम्पनीहरुमा १७ वटा जलविद्युत कम्पनी, ५ निर्माण कम्पनी र अरु अन्य कम्पनीहरु रहेका छन् । जसमध्ये पाँच कम्पनीहरुले प्रिमियममा आईपीओ निष्कासन गर्नेछन् ।
हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स हस्पिटल), सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्याइनिङ मिल्स र जगदम्बा स्टिलले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएका हुन् ।
हेम्स हस्पिटलले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८८ रुपैयाँका दरले आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले ३२ करोड ४० लाख रुपैयाँको ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न लागि पाइपलाइनमा रहेको छ ।
यस्तै, सौर्य सिमेन्ट इन्डस्ट्रिजले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा शेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको छ ।
त्यसैगरी मारुती सिमेन्टले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३७७ रुपैयाँका दरले शेयर निष्कासनको तयारी गरेको छ भने जगदम्बा स्टिल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँका दरले शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
सेबोनका अनुसार रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेको छ । संस्थागत लगानीकर्तालाई ४० प्रतिशत शेयर निष्कासन गरेको कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीलाई शेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको.भएपनि पछिल्लो समय धितोपत्र बोर्ड, लेखा समिति, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा परेको उजुरी पछि सर्वसाधारणका लागि शेयर निष्कासन गर्न सकेको छैन ।
गत पुस २० गते बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएको छ । ९ महिनादेखि बोर्डले नेतृत्व पाउन सकेको छैन । नयाँ अध्यक्षका लागि सरकारले आवेदन माग गरेपनि विवादका कारण नयाँ अध्यक्ष नियुक्तीको विषय टुंगो नलाग्दा साधारण शेयर निष्कासनको काम अलपत्र परेको छ ।
Sponsored Advertisment
Advertisment