काठमाडौं : ‘सदस्यहरू संस्थाहरूप्रति विश्वस्त छन् । उनीहरूले हामीमाथि गरेको विश्वास अलिकति पनि डगमगाउन दिएका छैनौँ । राम्रो काम गरिरहेकाहरूलाई बजारको हल्लाले केही असर पार्दैन’, यो भनाई एक सहकारी सञ्चालकको हो । सडकदेखि सदनसम्म सहकारीका विषय शीर्ष चर्चामा हुँदा सदस्य केन्द्रित भएर चलिरहेका सहकारीहरूलाई त्यसको कुनै असर परेको छैन ।
सहकारी ठगी गर्ने संस्था हो, जसले बचतकर्ताको पैसा खर्लप्पै पारिदिन्छ भन्ने भाष्य स्थापित भइरहेको छ । हुन पनि कतिपय सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताहरूको बिल्लिबाठ बनाएका छन् । कोही सडकमा बचतफिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् । कोही अनसन बसेका छन् त कोही बचत फिर्ताको लागि संस्थाको कार्यालय धाइरहेका छन् ।
तर, यस्ता विषयहरूभन्दा टाढा रहेर सदस्य केन्द्रित राम्रा काम गरिरहेका सहकारी संस्थाहरू पनि छन् । जसको ज्वलन्त उदाहरण हो, वीरेन्द्र नगर बचत तथा ऋण सहकारी संस्था । यस सहकारीलाई न बजारको हल्लाले असर पारेको छ न त संस्थाप्रति सदस्यहरूको विश्वास घटेको छ ।
बजारमा देखिएको सहकारीको असर वीरेन्द्र नगर साकोसमा नपरेको यस संस्थाका अध्यक्ष बमबहादुर बिसी बताउँछन् । उनी भन्छन्, ‘बजारमा देखिएको समस्या हाम्रो संस्थामा छैन । हामीले सदस्यहरूसँगको सम्बन्धलाई प्रगाढ बनाएका छौँ । हामी सदस्यहरूकै बीचमा छौँ । स्थानीय स्तरकै सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेका छौँ । सदस्यहरू संस्था प्रति विश्वस्त छन् ।’
हुनत अर्थतन्त्रमा देखिएको समस्याले सहकारीमा पर्ने सम्भावित असरको डर नभएको पनि होइन । बजार हल्लाले आफ्नो संस्थामा असर पर्ने हो की भन्ने शंका नलागेको पनि होइन । तर, भावी सम्भावित समस्याहरूबारे सतर्कता अपनाउँदै अगाडी बढेको यस सहकारी आज उदाहरणीय बनेको छ ।
यसरी जन्मियो संस्था
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको दुई दशक नाघिसक्यो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा स्थापित यस सहकारीमा अहिले करिब २३ हजार जना शेयर सदस्य छन् । यो सहकारी यिनै शेयर सदस्यहरूको साझा चौतारी बन्न सफल भएको छ ।
यो सहकारी २०५८ साल असार २२ गते २७ जना सदस्यहरूबाट शुरु गरिएको थियो । त्यसबेला उनीहरूले सहकारी ऐन २०४८ अनुसार सदस्यहरूलाई आफूले आर्जन गरेको आयबाट नियमित रूपमा बचत गर्न उत्प्रेरित गर्ने र संकलन भएको पुँजी तथा रकमबाट उत्पादनमूलक तथा आवश्यकता टार्ने उद्देश्यले यस संस्थाको स्थापना गरेका थिए । जसको यात्रा हालसम्म निरन्तर छ ।
अनुभव, गतिशीलता र सहकारीका विश्वव्यापी मूल्य मान्यता एवम् सिद्धान्तहरूको व्यवहारिक अनुसरण गर्दै कार्य क्षेत्र भित्रका सबै वर्गका सदस्यहरूलाई सहभागी छन् ।
जिल्लाभरि कार्यक्षेत्र भएको यस संस्थाले २५१ संस्थासँग भाइचारा सम्बन्ध स्थापित गरेको छ । सहकारीहरूबिच सहकार्य भन्ने अभियानका साथ संस्था अघि बढेको छ ।
संस्थाले गरेका अभ्यासहरूलाई अरू समक्ष पुर्याउने अरूले गरेका असल अभ्यासलाई आफूले पनि सक्ने र समुदायमा सहकारीलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा स्थापित गर्ने उद्देश्य साथ ४ वर्षदेखि सहकारीहरू बीच सहकारी अभियान चलाइरहेको छ । यसबीच संस्थाले आठ सहकारीसँग एकीकरण पनि गरिसकेको छ ।
एक अर्ब बढीको कारोबार
संस्थाका अध्यक्ष बम बहादुर बिसीका अनुसार ‘वीरेन्द्र नगर साकोस’ कर्णाली प्रदेशकै सबैभन्दा ठूलो बचत तथा ऋणको कारोबार गर्ने संस्था हो । असार मसान्तसम्म संस्थाको कारोबार एक अर्ब ३१ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
हाल संस्थाले ८४ जनालाई कर्मचारीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । संस्थाका सदस्यहरू २३ हजार ६६५ जना रहेका छन् । १३ जिल्लामा सेवाकेन्द्रहरु स्थापित गरी सेवा संस्थाले सेवा दिएको छ ।
विरेन्द्रनगर साकोस मात्र राम्रो सहकारी भएर समग्र सहकारी क्षेत्र राम्रो नसक्ने संस्थाका अध्यक्ष बि सी बताउँछन् । उनी भन्छन्, ‘समुदायले नै सञ्चालन गरेका र व्यवस्थापन गरेका सबै संस्थाहरू लागे भने मात्र सुर्खेतबासी र समग्र सदस्यहरूको आर्थिक समृद्धि, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ ।’
यसका साथै संस्थाले १० देखि १५ हजार रुपैयाँसम्म सिजनेबल रूपमा सदस्यहरूलाई यो वर्षका लागि बिना ब्याज लगानी गर्ने पनि योजना रहेको उनले सुनाए ।
राज्यले नै समाजवाद उन्मुख अर्थतन्त्रलाई अङ्गीकार गरेको बेला राष्ट्रलाई समाजवाद उन्मुख बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ । ‘राज्यले लिएको समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य पुरा गर्न सहकार्य गर्नुपर्छ । समुदायमा स्थापित सहकारी नीति विधिमा चल्नुपर्छ र सहकारीको मर्मलाई बुझेर अघि बढ्नुपर्छ’, उनले थपे ।
सहकारी विभागबाट सघन अनुगमन गरिएको संस्था साकोस एकीकरण अभियानमा पनि उत्कृष्ट सहकारीको रूपमा परिचित छ । हाल संस्थाले बचत तथा ऋणको सेवाका प्रविधिमा सहकारी भन्ने मुल नारालाई आत्मसात् गर्दै साथै सदस्यहरूलाई एटिएम सेवा, मोबाइल एप, क्युआर स्क्यान सेवा र रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।
यसका साथै संस्थाका सेवा अन्तर्गत युवा स्वरोजगार, विपन्नसँग वीरेन्द्रनगर, सदस्य सुत्केरी राहत कार्यक्रम, सदस्य राहत तथा सुरक्षा कार्यक्रम, सहकारी शिक्षा शिविर लगायतका कार्यक्रमहरू रहेका छन् ।
कपडा बैंकदेखि बिना ब्याजमा लगानीसम्म
अहिले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उनको भनाई छ । त्यसैगरी उनले सरकारले दिएका सेवाहरूमध्ये आम मानिसमा जनचेतना जगाउन स्वास्थ्य बीमा बारेमा पनि व्यापक रूपमा चर्चा गर्ने गरेको बताए ।
‘पैसा नभएका कारण उपचार नपाएर मर्नु नपरोस् भनेर लागेका छौँ । राज्यले बच्चाहरूका लागि पोषण कार्यक्रम चलाएको छ । विकास निर्माणका कामहरूमा पनि हाम्रो सहकार्य रहेको छ । विकासमा सबैको पहुँच पुग्ने कुरामा पनि खबरदारी गरेका छौँ । राज्यले अनिवार्य गरेका सेवा सुविधाहरूलाई हाम्रो कार्यक्रम मार्फत प्रचारप्रसार गर्छौ’, उनले भने ।
सिप सिकेर स्वरोजगार हुन नपाएका सदस्यहरूका लागि विभिन्न एजेन्सीहरूसँग जोडिदिनका लागि रोजगार मेलाको आयोजना गर्ने तयारी रहेको उनले बताए ।
‘रोजगार मेला बारे तीन वर्ष अघिदेखि नै प्रस्ताव गरेका थियौँ । त्यसको लागत मूल्य बढी हुने भएकाले त्यसको कार्यान्वयन गर्न सकेनौँ । यो वर्ष सरकारले प्रदेशको सामाजिक मन्त्रालयसँग समन्वय गरेर स्वरोजगार मेलाको आयोजना गर्ने तयारी गरेका छौँ’, उनले भने ।
‘पहिलेको जस्तो ऋण लगानी उठेको छैन । तर, असार मसान्तसम्मको विवरण अनुसार निष्क्रिय कर्जा १० प्रतिशत भन्दा तल झारेका छौँ । तथापी अरूको जस्तो जोखिम छ । ठूलो कारोबारको हिसाबले २ करोड रुपैयाँसम्मको असन्तुलन भएको छ ।’
यसका साथै संस्थाले १० देखि १५ हजार रुपैयाँसम्म सिजनेबल रूपमा सदस्यहरूलाई यो वर्षका लागि बिना ब्याज लगानी गर्ने पनि योजना रहेको उनले सुनाए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगरमा कपडा बैंकको स्थापना गरेको छ । बजार समितिसँग मिलेर संस्थाले १० हजार रुपैयाँ लागतमा दराज जस्तो आकारको माथि छाना भएको ठाउँ बनाएको अध्यक्ष बिसीले बताए ।
उनले भने, ‘हुनेले दिएर जानुहोस् र नहुनेले लिएर जानुहोस्’ भनेर लेखेका छौँ । घरमा आफूसँग उघ्रिएका लगाउने नमिल्ने पुराना लुगाहरू ल्याएर राखिन्छिन् । नहुने मान्छेहरूले त्यहाँको लुगा लिएर जान्छन् । अघिल्लो दिन टन्न हुन्छ । भोलिपल्ट दराज रित्तै हुन्छ ।’
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले वातावरण सरसफाइ, रक्तदान कार्यक्रम, परम्परागत ढिकी जाँतोको स्थापना लगायतका कामहरू पनि गरेको छ । त्यसैगरी आमा बुबा नभएका बालबालिकाहरूलाई सहयोग गर्न अनाथालयहरूको आग्रह अनुसार संस्थाले एकदमै गरिब ३/४ जना बच्चालाई वार्षिक लागत, कपडा, खाना र कपीकलम बिनिदिने गरेको छ ।
यस्तो छ वित्तीय अवस्था
गत असार मसान्तसम्मको विवरण अनुसार संस्थाको शेयरपुँजी १८ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड २८ लाख २५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थामा सदस्यको बचत निक्षेप ९० करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ । बाह्य ऋण २४ करोड ६९ लाख १७ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म संस्थाले एक अर्ब १६ करोड ७८ लाख ४६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको स्थिर सम्पत्ति ४ करोड १५ लाख १८ हजार रुपैयाँ रहेको छ ।
संस्थाले बचत तर्फ १५ शीर्षकमा रकम संकलन गरेको छ । बचत तर्फका शीर्षकमा ६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज दिने गरेको छ । ऋण लगानीका शीर्षकमा भने संस्थाले न्यूनतम १३ प्रतिशत देखि १४.७५ प्रतिशतसम्म ब्याज लिने गरेको छ ।
संस्थाले हाल कृषि, व्यवसाय, शैक्षिक, वैदेशिक, साधारण, हायर पर्चेच, घरजग्गा, लघुउद्यम, स्वयम् सहायता समूह, साना व्यवसाय, सामाजिक तथा आकस्मिक र युवा स्वरोजगार गरी १३ शीर्षकमा लगानी गर्दै आएको छ ।
‘राज्यले नै प्रशस्त कार्यक्षेत्र बनाएर रकम संकलन गर्न प्रेरित गरेको हामीले महसुस गरेका छौँ । सरकारले यसरी खुला रूपमा छोड्न हुँदैन । सहकारी स्वायत्त क्षेत्र हो । यसका आफ्नै विधि विधानहरू छन् यो कुरालाई मर्न नदिने गरी सहकारीको नियन्त्रण गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौँ’, उनले भने ।
खास गरी होटल व्यवसाय, यातायातको क्षेत्रमा (हायर पर्चेच), कृषि र पशुपालनको क्षेत्रमा लगानी गरेको संस्थाका अध्यक्ष बिसीको भनाई छ । उनका अनुसार संस्थाको कर्जा जोखिम कोषमा ४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
एक जना सदस्यलाई कारोबारको आधारमा २ करोड रुपैयाँसम्म लगानी गर्ने क्षमता रहेको उनले बताए । आर्थिक मन्दी र सहकारी क्षेत्रमा देखिएको समस्याले ऋण असुलीमा समस्या नरहेको उनले बताए ।
‘पहिलेको जस्तो ऋण लगानी उठेको छैन । तर, असार मसान्तसम्मको विवरण अनुसार निष्क्रिय कर्जा १० प्रतिशत भन्दा तल झारेका छौँ । तथापी अरूको जस्तो जोखिम छ । ठूलो कारोबारको हिसाबले २ करोड रुपैयाँसम्मको असन्तुलन भएको छ ।’
संस्थाले विधिसम्वत्को लगानी गरेकाले जोखिम नरहेको बताउँदै उनले थपे, ‘पुराना ऋण पनि सरल तरिकाले असुली भइरहेको छ । सहकारीले डुब्ने जोखिमको महसुस भएको छैन ।’
सफल सहकारी बन्न सुझाव
समग्र सहकारी क्षेत्रमा विकराल समस्या देखिनुमा नियामक निकाय पनि उत्तिकै जिम्मेवार रहेको अध्यक्ष बिसी बताउँछन् । ‘सहकारी अभियानले हामीलाई प्रगतिको बाटोमा नै डोहोर्याइरहेको छ । तर, कतिपय व्यक्तिगत स्वार्थ भएका मानिसहरूले केही बेइमानी गरेका कारण सहकारीमा समस्या देखिएको हो । अहिले सहकारी क्षेत्रमा सिर्जना भएको परिस्थितको मुख्य भागीदार सहकारीका सञ्चालक रहेका छन् भने नियामक निकाय पनि उत्तिकै जिम्मेवार देखिन्छ ।’
सहकारीका मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तहरू छन् । त्यसका साथै सहकारीका मर्म र नैतिक बन्धनहरू छन् । सामाजिक दायित्वहरू छन् । यी सबै कुराहरूबाट बाहिर गएर । सीमाहरू नाघेर केही सञ्चालकहरूले बदमासी गरेका कारण सहकारी क्षेत्रमा विकराल परिस्थिति सिर्जना भएको छ ।
उनी भन्छन्, ‘सहकारीका नाममा रातारात धनी बन्ने परम्पराको सिर्जना गरिएको छ । हामी त्यसको घोर विरोध गछौं । सहकारी जस्तो मानवीय संस्कार र सिद्धान्त भएको प्रणालीलाई बिगार्नेहरूलाई राज्यले कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ र सहकारी क्षेत्रको गुडबिललाई जोगाएर राख्नुपर्छ ।’
राज्यले शिव शिखर जस्ता प्रशस्त कार्यक्षेत्र बनाएर रकम संकलन गर्ने सहकारीहरूको सबै रकम केन्द्रीकरण गर्नुपर्ने उनले बताए ।
सहकारीमा स्थानीय बचत स्थानीय व्यवस्थापन, स्थानीय लगानी स्थानीय आम्दानी भन्ने मान्यताका आधारमा रकम परिचालन गरिनुपर्नेमा रकम उठाएर आफ्नो निजी स्वार्थका लागि प्रयोग गर्ने परिपाटीको नियमन र नियन्त्रण गर्ने काम राज्यले गर्नुपर्ने उनको भनाई छ ।
‘राज्यले नै प्रशस्त कार्यक्षेत्र बनाएर रकम संकलन गर्न प्रेरित गरेको हामीले महसुस गरेका छौँ । सरकारले यसरी खुला रूपमा छोड्न हुँदैन । सहकारी स्वायत्त क्षेत्र हो । यसका आफ्नै विधि विधानहरू छन् यो कुरालाई मर्न नदिने गरी सहकारीको नियन्त्रण गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौँ’, उनले भने ।
Sponsored Advertisment
Advertisment