काठमाडौं : नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय देश मानिन्छ । साहसिक पर्यटनअन्तर्गत पर्ने पर्वतीय पर्यटन (पर्वतारोहण) ले नेपाललाई छुट्टै पहिचान दिएको छ । नेपालमा पर्वतारोहणले समग्र पर्यटन क्षेत्रको महत्त्वपूर्ण र आकर्षक गन्तव्य ओगटेको छ । पहिलोपटक सगरमाथामा मानव पाइला पुगेयता पर्वतारोहण कार्यलाई व्यवस्थित बनाउन थालिएको हो ।
म आफैं पनि पर्वतारोहण क्षेत्रमा लागेको डेढ दशक नाघिसक्यो । विगतमा पर्वतारोहणमा जान निकै कठिन थियो । चिनेका भरमा काम पाइँदैन थियो । त्यसबेला संख्यात्मक हिसाबले पनि पर्वतारोहण काम गर्ने मान्छे कम थिए । विशेषगरी शेर्पा समुदायका मान्छे थिए । अरू समुदायका मान्छेहरू पर्वतारोहणमा खासै काम गर्दैन थिए ।
त्यसबेला सामाजिक सञ्जालको प्रयोग पनि खासै थिएन । संख्यात्मक हिसाबले त्यसबेला र अहिलेको समय धेरै फरक छ ।पछिल्लो समय सगरमाथा आरोहण गर्नेको संख्या बढ्न थालेको छ । यसको कारणका रूपमा डकुमेन्ट्री फिल्म, सामाजिक सञ्जाल, आरोहीहरूले प्रयोग गर्ने वस्त्र आदिलाई लिने गरिन्छ ।
राम्रा डकुमेन्ट्री फिल्महरूले अन्तर्राष्ट्रिय अवार्डहरू पाउन थालेका छन् । अहिले धनी मानिसहरू हिमाल आरोहणप्रति आकर्षित भएका छन् । आफ्नो पहिचान बनाउन पनि कोरोनापछि मानिसहरू हिमाल आरोहणमा आउने गरेका छन् ।
नेपालको पर्वतारोहणका गाइडहरू धेरैजस्तो शारीरिक रूपमा बलिया देखिने भेडा गोठाला, चौंरी गोठालाहरू हुन्थे । धेरै ट्रेकिङ रुट भेडीगोठ÷चौंरी गोठ भएर जान्थ्यो । तर, पछिल्लो समय नेपालमा याक, चौंरी गोठहरू घट्दै गएपछि पर्यटन समुदाय पनि घट्दै गएको छ ।
‘एड्भेन्चर टुरिजम’ अबको सम्भावना
पर्वतारोहण र ‘एड्भेन्चर टुरिजम’ नेपालले प्रशस्त फाइदा लिन सक्ने सम्भावनायुक्त क्षेत्र हो । तर, परिवारिक असहयोग र राज्यले चासो नदिएका कारण पछाडि परेको छ । दक्ष पर्यटक गाइडको उत्पादनमा कमी आएको छ । विगतमा नेपाल माउन्टेनियरिङ एसोसिएसनले तालिम दिने गरेको थियो । तर राजनीतिसँगै विभिन्न कारणले एसोसिएसनले ६ वर्षदेखि तालिम कार्यक्रम बन्द गरेको छ । सरकारी निकायले पनि पर्वतारोहण तालिम दिने गरेको छैन ।
नेपालमा हिमाल आरोहण गर्न जान्छु, ट्रेकिङ गर्न जान्छु भन्यो भने परिवारले स्वीकार्दैन । ट्रेकिङ केही महँगो पनि छ । १८/१९ वर्षको उमेरमा ट्रेकिङ खर्च जुटाउने (अफोर्ट गर्ने) क्षमता हुँदैन । परिवारका सदस्यहरू जोखिम बढी हुुन्छ भनेर ट्रेकिङभन्दा विदेश जान प्राथमिकता दिने गर्छन् । पर्यटक आगमन बढे पनि गाइडहरूको संख्या घटेको छ । दक्ष जनशक्तिको अभाव छ ।
दक्ष जनशक्ति उत्पादन र पर्यटकहरूको उद्धारमा सरकारी तदारुकता देखिँदैन । नेपालमा आठ हजार मिटरमाथिका हिमाल आठवटा छन् । तर, नेपालमा उद्धार टोलीको व्यवस्था छैन । साधारण उद्धार पनि निजी कम्पनीले गर्ने गर्छन् । पर्यटकको संख्या वृद्धिसँगै सुरक्षालाई पनि ध्यान दिन आवश्यक छ । तथापि नेपालको पर्यटनमा पर्याप्त अवसरहरू छन् ।
नेपालमा हिमाल मात्र नभएर जात–जाति, धर्म, संस्कृति पनि पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । तर, परस्परागत चालचलन र संस्कृति लोप हुँदै गएको छ । हिमालसँगै जोडिएर एड्भेन्चर टुरिजमको प्रवद्र्धन हुन सकेको छैन । ट्रेकिङ क्षेत्रमा लागेर राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्ति तथा परिवार देश छाडेर जान थालेका छन् । नामसँगै दाम पनि कमाइएन भने जीवन कठिन हुने भएकाले अवसर र सेवा–सुविधाको खोजीमा मानिसहरू विदेशिने क्रम बढ्दो छ ।
लोकप्रियता कमाएका व्यक्तिहरू नै देश छाड्दा बाहिर नकारात्मक सन्देश जान्छ । त्यसो त विदेशिने क्रम पर्यटनमा मात्रै होइन अन्य क्षेत्रमा पनि उस्तै छ । आय स्रोत अभाव र राज्यले सहजीकरण गर्न नसक्दा केही कमजोरी भएको छ । मानिसहरू मुुलुक छाड्ने विषयमा राज्यले नै सम्बोधन गर्नुपर्ने हो तर, त्यस्तो हुन सकिरहेको छैन ।
ट्रेकिङ कम्पनीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समस्याका रूपमा देखिएको छ । कोरोना महामारीको समयमा कर कम भए पनि अहिले बढाइएको छ । पर्यटकहरू सहरमा बस्नभन्दा पहाडी र ग्रामीण क्षेत्रमा जान रुचाउँछन् । गाउँका होटेलहरूमा स्थायी लेखानम्बर (प्यान) समेत हुँदैन । यस्तो स्थितिमा ट्रेकिङ कम्पनीलाई कर सन्तुलन मिलाउन गाह्रो हुन्छ ।
पछिल्लो समय नेपालमा पनि गुणस्तरीय (क्वालिटी) पर्यटकहरूको संख्या बढ्न थालेको छ । तर, यहाँ पनि समस्या छ । जस्तै गत सिजनमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ठुलो टेन्ट लैजान निषेध गर्याे र विभिन्न मापदण्डहरू बनायो । कतिपय मापदण्डले क्वालिटी पर्यटक आकर्षित हुँदैनन् । स्याङबोचेभन्दा माथि हेलिकोप्टर लैजान पाइँदैन ।
विभिन्न देशबाट नेपाल आएर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा घुमेर जाने पर्यटकहरू पनि छन् । हेलिकोप्टर उडानमा रोक लगाउँदा पर्यटकहरू पर्वतीय उडान गर्न पाउँदैनन् । तर, काठमाडौंबाट माउन्टेन फ्लाइट भइरहेको भने छ । हेलिकोप्टर उडान रोक्ने, माउन्टेन फ्लाइट रोक्नेजस्ता धेरै मापदण्डहरूले पर्यटकहरू आकर्षित हुँदैनन् ।
जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा पनि पर्न थालेको छ । पानी पर्ने प्राकृतिक समय बदलिएका कारण पर्यटक आवागमन असहज भइरहेको छ । हिमालको माथिल्लो भेगमा पनि तापक्रम बढ्दै गएको छ । हिमाल आरोहणका क्रममा जोखिम बढ्छ । हिउँ पर्ने प्रक्रिया निरन्तर भए पनि हिउँ पग्लिने प्रक्रिया तीव्र भएको छ । तालको वरिपरिको हिउँ पग्लिएपछि ताल फुट्ने गर्छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्वतारोहीलाई परेको छ ।
बैकिङ क्षेत्रमा ऋणको प्रक्रियालाई सरलीकृत
लगानीकर्ताहरूले पर्यटनलाई पनि सहरकेन्द्रित हिसाबले मात्रै बुुझेका छन् । अपवादबाहेक तारे होटेलहरू काठमाडौं केन्द्रित छन् । पर्यटकीय क्षेत्रमा स्तरीय होटेलको विकास हुन सकेको छैन र पर्यटकीय गन्तव्यमा सीमित मात्र छन् । पर्वतारोहणमा अन्तर्राष्ट्रिय कम्पनीहरूले गर्दा नेपालको प्याकेज संसारभर बिक्री हुन्छ । तर, लगानीको हिसाबले भने कम छ । प्याकेजलाई बेचेर कमाउने ठाउँ बने पनि लगानीमा ध्यान छैन ।
विदेशी लगानी बढाउन पनि सरकारकै भूमिका आवश्यक छ । सरकारबिना निजी क्षेत्रले मात्रै केही गर्न सक्दैन । पर्यटकीय गन्तव्य बनाउन क्षेत्र पहिचान गरेर लगानीकर्ताहरूलाई उत्साहित बनाउनुपर्छ । लगानीको वातावरण सहज बनाउन बैकिङ क्षेत्रमा ऋणको प्रक्रियालाई सरलीकृत गर्नुपर्छ ।
कुनै पनि ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारबीच समन्वय हुनुुपर्छ । मुलुुककै आर्थिक अवस्था कमजोर बन्दै गइरहेका बेला क्षेत्र विशेषमा लगानी खुम्चँदै जानुु स्वभाविक पनि मानिन्छ ।
अब के गर्ने ?
विश्वमा साना हिमाल भएका देशहरूमा ‘रेस्क्यु टिम’ हुन्छ । हिमालबाट हामी रोजगारी पनि सिर्जना गर्छौं । नेपालको भौगोलिक बनावटअनुसार हिमालमा मात्रै नभएर सबै ठाउँमा उद्धार टोलीको आवश्यकता छ । प्राकृतिक रूपमा नेपाल संसारभरिका मानिसहरूको रोजाइमा पर्छ ।
हामीले ‘प्याकेज’ बिक्रीसँगै सुरक्षा प्रबन्धलाई ध्यान दिनुपर्छ किनभने पर्यटकसँग जोडिने पहिलो स्वार्थ हो सुरक्षा । कुनै पनि पर्यटकले आफ्नो सुरक्षा पहिला हेर्छ । सुरक्षा जिम्मेवारी कसले लिएको छ भन्ने हेर्छ र आपत्कालीन अवस्थामा कसलाई सम्पर्क गर्ने भन्ने खोज्छ । पर्वतारोहणमा सरकारीस्तरबाट उद्धार टिम नहुँदा समस्या हुने गरेको छ ।
अझ माउन्टेन टुरिजममा त उद्धार टिम अति आवश्यक छ । निजी कम्पनीबाट उद्धार हुँदा ठगिन पुग्छ । राज्यले रेस्क्युलाई सरकारको अंगका रूपमा विकास गरेको खण्डमा राज्यलाई संसारले हेर्ने दृष्टिकोण पनि फरक हुन जान्छ ।
निजी कम्पनी सधैं नाफामूलक हुन्छन् । रेस्क्युलाई व्यवसाय नभई सेवा दिने तरिकाले बढाइयो भने पर्यटक र नेपालीहरूका लागि पनि राम्रो हुन्छ । नेपालका पर्यटन क्षेत्रलाई संसारको जुनसुकै ठाउँमा प्रचारप्रसार गर्न प्रविधिले गर्दा सानो खर्चले पनि पुग्छ । प्रविधिको विकास भइसकेको अवस्थामा हामीले सुरक्षालाई ध्यान दिनुपर्छ र पर्यटनलाई उचाइमा पुर्याउने राज्यले पर्यटक सुरक्षामा ध्यान दिनुपर्छ ।
माउन्टेनियरिङ जीवन र मरण (लाइफ एन्ड डेथ) को खेल हो । तर, ‘सुसाइड एटेम्प्ट’ होइन । माउन्टेनियरिङ कसैको देखासिकीमा नभई क्षमता र कौशलवान् व्यक्ति तथा शारीरिक रूपमा फिट भएका व्यक्तिहरूले गर्ने काम हो । आरोहीहरूको बर्सेनि मृत्यु भइरहेको हुन्छ । चुनौती छन् भन्दैमा काम गर्नै नसकिने भन्ने होइन । दक्ष जनशक्ति उत्पादन गर्ने, गाइडहरूलाई तालिम दिने र उद्धार टोली बनाउने हो भने चुनौतीलाई कम गर्न सकिन्छ ।
पर्वतारोहणलाई कतिपय देशहरूले खेलका रूपमा हेरेको छ । विश्वका धेरै देशमा पर्वतारोहीलाई एथलेट्स हो भनेर चिन्छन् । तर, नेपालमा कामदारजस्तै छ । कामदार हो भने सरकारले न्यूनतम तलब तोकिदिनुपर्ने हो । अहिलेसम्म हिमाल चढ्नेले कति कमाउँछ भन्ने यकिन छैन । एउटा निजी कम्पनीसँग बार्गेनिङ गरेर कतिमा जान्छ भन्ने विषयको उसको आम्दानी निर्धारण हुुन्छ । टुरिस्ट गाइडहरूको न्यूनतम तलब तोकिएको छैन । पारिश्रमिक तोकिदिने हो भने दक्ष जनशक्ति पनि बढ्छ । व्यावसायिक रूपमा बसेका कम्पनीहरूबाहेक सिजनैपिच्छे बार्गेनिङ गरेर बस्नुपर्ने गाइडहरू विदेशिन बाध्य छन् ।
हिमाल आरोहीको संख्या वृद्धि भएका कारण हिमालहरू फोहोर हुँदै गएका छन् । त्यसलाई व्यवस्थापन गर्न एउटा ‘एक्सपेडिसन टिम’ले ४ हजार डलरको ‘गार्बेज डिपोजिट’ भनेर राख्नुपर्छ । सरकारी नीतिअनुसार एक्सपेडिसनबाट फर्किंदा फोहोर सफा गरेको अवस्थामा मात्रै डिपोजिट रकम फिर्ता हुन्छ । त्यसको आधारमा मात्रै सगरमाथा आरोहणको प्रमाणपत्र (सर्टिफिकेट) पाउने चलन छ ।
फोहोर सबै ल्यायो भनेर संस्थाले कागज बनाइदिन्छ । अनि पर्यटन विभागले पैसा फिर्ता दिन्छ । यो नीति आफैंमा मेल खाएको छैन । कागजी रूपमा हिमाल सफा हुने भए हिमालमा फोहोर हुने थिएन होला नि ? तर, सरसफाइका लागि डिपोजिट गरेको पैसामध्ये केही रकम नन् रिफन्डेबल (फिर्ता गर्न नमिल्ने) बनाएको भए बाँकी भएको पैसाले हिमाल सफा गर्न सकिने थियो ।
पर्वतारोहणमा रहेकाहरूले आरोही कल्याणकारी कोष, उद्धार कोष र फोहोर व्यवस्थापनको मुद्दा उठाइरहेका छन् । तर, सरकारले कुनै पनि माग सम्बोधन गरेको छैन । आरोहीले उठाएका सवालहरू सम्बोधन गरेको खण्डमा केही हदसम्म हिमाल क्षेत्र सफा हुुन्छ भने आरोहणमा थप आकर्षण पनि बढ्छ ।
पर्वतारोहण पर्यटनमा उच्च सम्भावना
हिमाल आरोहण संसारको सबैभन्दा महँगो प्याकेज हो । यसलाई राज्यले प्राथमिकतामा राखी हिमालबाट फाइदा लिनु आवश्यक छ । नेपाली युवाहरूले नेपाल र नेपालको पर्वतारोहण पर्यटनलाई प्रचारप्रसार गर्न आवश्यक छ ।
सगरमाथाको बेस क्याम्पमा जानेहरू पनि विदेशमा पढेर आएका र बाहिर घुमेर आएकाहरू मात्र छन् । काठमाडौंका मानिसहरू खासै जान रुचि राख्दैनन् । नेपालले हिमाल मात्र नभएर ट्रेकिङ र एड्भेन्चरबाट पनि फाइदा लिन सक्छ ।
पछिल्लो समय मानिसहरूको खर्च गर्ने क्षमता बढेको छ । मौसम पूर्वानुमानहरू मिल्न थालेको छ । खाने र लगाउने विषयमा भएका नयाँ अध्ययन अनुसन्धानहरूले नयाँ तह (लेभल) पार गरेको छ । त्यसैले नेपालमा पर्वतारोहण पर्यटनमा उच्च सम्भावना छ । नेपालले राम्रो फाइदा लिन पर्यटनमा लागेका व्यक्ति, निकाय, सरकार र निजी क्षेत्र एकजुट भएर कार्ययोजना बनाइ कार्यान्वयन गर्नुुपर्छ । (पर्वतारोही मिङमा डेभिड शेर्पासँग वित्तीय पोष्टकर्मी सम्झना बरुवालले गरेको कुराकानीमा आधारित)
Advertisment