काठमाडौंको बौद्ध टुसाल स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. (नेचुरल साकोस) आजबाट १८औं वर्ष प्रवेश गरेको छ । सहरमा पनि सहकारीहरु सुशासित, समुदायमा आधारित र सदस्य केन्द्रित तवरले सञ्चालन हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल नेचुरल साकोसको २ अर्ब ८५ करोड रुपैयाँ कुल सम्पत्ति पुगेको छ । साढे १४ हजार बढी सदस्य छन् । संस्थागत पुँजी १२ करोड ३८ लाख रुपैयाँ रहेको छ । १ अर्ब ९४ करोड बचत संकलन गरेको छ भने १ अर्ब ९४ करोड नै सदस्यहरुमा ऋण लगानी गरेको छ । सय बढी कर्मचारी छन् भने बौद्ध टुसालमा ७ तल्ले सुविधा सम्पन्न आफ्नै भवन छ । ४ सेवा केन्द्रमध्ये प्रधान कार्यालय र साँखु सेवा केन्द्र आफ्नै भवनमा सञ्चालित छ । सदस्यहरुको विश्वास जित्दै छुट्टै पहिचान स्थापित गर्ने दिशामा अघि बढिरहेको नेचुरल साकोसको विगत, वर्तमान र भावी योजनाहरुबारे सचिव विकल्प पाठकले काजी श्रेष्ठसँग सम्वाद गर्नुभएको छ । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंश:
नेचुरल सहकारीको यात्रा कसरी तय भयो ?
नेचुरल सहकारीको यात्रा निकै रमाइलो छ । वास्तवमा यो हाम्रो पहलमा दर्ता भएको संस्था होइन । समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुले संस्था दर्ता गर्नुभएको थियो । प्रति व्यक्ति २५ हजारबाट करिब ३० जनाले सुरु गर्नुभएको रहेछ ।
तर, उहाँहरुले जुन सोचले संस्था दर्ता गर्नुभयो त्यसअनुसार सञ्चालन गर्न सक्नुभएन । संस्था लगभग बन्द (खारेजी) गर्ने चरणमा हुनुहुँदो रहेछ । सोही क्रममा मसँग भेट भयो । त्यस समयमा सहकारीबारे थोरै मात्र बुझाइ थियो । उहाँहरुले नेचुरल सहकारी बारे जानकारी गराउँदै तपाईंहरु जत्तिको युवाहरुले संस्थाको नेतृत्वमा बसेर काम गर्नु पर्यो भनेर अनुरोध गर्नुभयो । हामी बाहिर बसेर सहयोग गर्छौं भन्नुभयो । उहाँहरुको आग्रह मैले स्वीकार गरेँ । साँच्चिकै संस्था बन्द हुने अवस्थामा थियो । संस्थालाई मर्न दिनु हुँदैन भन्ने लाग्यो । पहिला संस्था गोंगबुमा थियो । हामी नेतृत्वमा आएपछि संस्थालाई जोरपाटीमा ल्याएर कारोबार सुरु गर्यौं ।
युवा जोशमा सुरु गरेको संस्था आज १८औं वर्षको यात्रासम्म आइपुग्छ भन्ने कल्पना गर्नुभएको थियो ?
साँच्चिकै भन्दा थिएन । यति परसम्म त्यसबेला सोच पुगेकै थिएन । परिकल्पना परको कुरा हो यो । हामीसँग युवा जोश, जागर मात्रै थियो । केही पुँजी परिचालन गरौं, रोजगारी सृजना गरौं, सहकार्य गरौं भन्ने थियो । पारदर्शिता र इमान्दारीपूर्वक अघि बढ्यौं ।
सहकारी मूल्य, मान्यता, सिद्धान्त, कानुनको परिपालना, सदस्य केन्द्रीत हुनुपर्छ भनेर अघि बढ्यौं । समय अनुसार योजनाहरु निमार्ण गर्दै अघि बढ्यौं । सदस्यहरुमा विश्वास बढ्दै गयो । एकपछि अर्को सफलता मिल्दै गयो । नेचुरलमा जोडिनुपर्छ भन्ने भावना सदस्यहरुमा पर्न थाल्यो । संस्था खोजी खोजी सदस्य बन्ने वातारवरण निर्माण भयो । विस्तारै सदस्यहरुलाई नजिकबाटै सेवा दिन ठाउँ ठाउँमा सेवा केन्द्र स्थापना गर्दै गयौं । साँखुमा पहिलो सेवा केन्द्र स्थापना भयो । सदस्यहरुको सक्रियाता, माया, विश्वास, भरोसा बढ्दै यो । आफ्नै कार्यालयबाट सेवा दिन सक्ने वातावरण तय भयो । त्यसपछि नयाँ बजारमा सेवा केन्द्र विस्तार गर्यौं ।
त्यसपछि काडाँघारी अनि कालिमाटीमा सेवा केन्द्र थप्यौं । सेवा केन्द्र विस्तारपछि सदस्यहरुको माया झन् झन् बढ्दै गयो । त्यसपछि केन्द्रीय कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्ने निर्णयमा हामी पुग्यौं । संस्थाको पहिचान बन्दै गयो । बौद्ध टुसालमा ७ तले भवन निमार्ण गरेर कार्यालय सञ्चालन गरिरहेका छौं । त्यसपछि सदस्यहरुको विश्वास झन् बढेको छ । विगत सम्झदा गर्व लाग्छ, खुशी लाग्छ ।

शहरमा सहकारी सञ्चालन कठिन छ भन्छन् नी ?
सदस्यहरुका चाहनाहरु फरक फरक हुने रहेछन् । गाउँबाट नै शहरमा आउने हुन् । गाउँ र शहरका व्यक्तिको चाहना एउटै हुने रहेछ । सदस्यहरुमाझ संस्थाले के कस्ता सेवा, सुविधाहरु ल्याएका छन् त्यो महत्वपूर्ण हुने रहेछ । सदस्यहरुको सामिप्यता महत्वपूर्ण हुने रहेछ । संस्थाका बारेमा बुझाएपछि मात्रै सदस्यता प्रदान गर्दछौं । सदस्यबनेपछि पाउने सुविधा, जिम्मेवारीका बारेमा हामी क्लियर गराउँदछौं । जे काम गर्दछौं नीति, विधिमै रहेर गर्दछौं । सदस्य हितलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्ने हो भने गाउँ होस् या शहर कुनै फरक पर्दैन । सहकारीको भावना गाउँ र शहरमा फरक हुने होइन । विशुद्ध सहकारी भावना चाँही हुनुपर्छ ।
नेचुरल आज कहाँ छ ?
केही हजारबाट सुरु भएको नेचुरलसँग १६ करोड ४१ लाख रुपैयाँ सेयर पुँजी पुगेको छ । संस्थामा १४ हजार ७५ जना सेयर सदस्य आवद्ध छन् । संस्थाबाट १ हजार २ सय ९९ जनाले कर्जा लिएका छन् । संस्थाको जगेडा कोषमा १२ करोड २९ लाख रुपैया छ भने अन्य कोषमा १३ करोड ६१ लाख रुपैयाँ रहेको छ । संस्थागत पुँजी १२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
संस्थाले १ अर्ब ९४ करोड बचत संकलन गरेको छ भने १ अर्ब ९४ करोड नै लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ८५ करोड पुगेको छ । २०८१ चैत्र मसान्तसम्म संस्थाका सदस्यहरुले ७४ लाख रुपैयाँ भन्दा बढीको उपचार सुविधा संस्थाले प्रदान गरेको छ । मातृत्व सेवा ३१ जनाले लिएका छन् ।
कहिले काहीँ लोभ पलाउँछ कि पलाउँदैन?
सहकारी वित्तीय क्षेत्र नै हो । हजारौं सदस्यको अरबौं रकम जम्मा भएको छ । ती सबै पैसा सदस्यको हो भन्ने हामीले स्पष्टसँग बुझेका छौं । संस्थामा जम्मा भएको पैसा आफै कतै लगानी गरौं की ? दुई चार पैसा कमाई हालौंकी ? भन्ने विषयमा कहिल्यै सोंच समेत आएन । मैले कर्मचारीहरुलाई पटक पटक भन्दै पनि आएको छु । सदस्यको घर घरबाट कर्मचारीले बचत संकलन गरेर ल्याउँछन् । ति पैसा तिम्रो लागि हैन है । सदस्यको पैसा जगर्ने गर्ने दायित्व हाम्रो हो । पैसामा ध्यान लगाउने हैन । आफ्नो कर्ममा विश्वास गर्नु, प्रतिफल आउँछ भनेका छौं । सञ्चालक समिति, कर्मचारी पूर्ण रुपमा अनुशासनमा बसेका छौं ।
सुशासनका क्षेत्रमा नेचुरलको नीतिगत व्यवस्था के छ ?
हामीले जतिनै सुशासन कुरा गरे पनि आफूले आफूलाई स्वअनुशासनमा बाध्नु पर्छ । नीति बनाएर पनि असफल भएको दृष्टान्त हामीले देखेका छौं । नीति आफ्नो ठाउँमा छ तर प्रमुख कुरा स्वअनुशासन नै हो भन्ने लाग्छ । नेचुरल टिम त्यसमा प्रतिवद्ध छ । नीतिगत रुपमा पनि संस्थालाई बाँधेका छौं । पारदर्शीता कायम गर्न अपचलन हुन सक्ने ठाउँलाई नीतिमार्फत कसेका छौं । काम, कर्तव्य र अधिकारलाई सिमिततामा राखेका छौं । दुरुपयोग हुन सक्ने सम्भावित क्षेत्र पहिचान गरेर नीति र विधिमा कसेका छौं । नेचुरलको पहिलो र बलियो पक्ष सुशासन पनि हो ।

स्थापना दिवस इतिहासलाई सम्झेर भविष्यलाई मार्गर्दशन गर्ने हो । सदस्यलाई संस्थाप्रति आश्वस्त पार्ने अवसर पनि हो । यस अवसरमा आम सदस्य र भावी सदस्यलाई के प्रतिवद्धता जाहेर गर्नुहुन्छ ?
१८ वर्षे यात्रामा संस्थाको आफ्नै सुविधा सम्पन्न ७ तले भवन (प्रधान कार्यालय) बाट सेवा प्रवाह गरिरहेको छ । सदस्यहरुको साथ, सहयोग, योगदानले नै यो सम्भव भएको हो । यो संस्थाको सफलताको एउटा हिस्सा समेत हो भन्न चाहन्छु । साँखु सेवा केन्द्र पनि आफ्नै भवनमा छ । सदस्यहरुलाई घरघरबाटै सेवा लिन सकिने प्रविधिका सेवा समेत प्रवाह गर्दै आएका छौं भने घरदैलो सेवा पनि निरन्तर चलिरहेको छ । सदस्यहरु जहाँ भएपनि संस्थाको वित्तीय अवस्था एक क्लिकै हेर्न सक्नुहुन्छ । संस्था प्रतिवको विश्वास, भरोषा कहिल्यै नटुटोस् । संस्थासम्म आएर सल्लाह, सुझाव र प्रतिक्रिया दिएर संस्थालाई गतिशिल, पारदर्शिता कायम गर्न हामी प्रतिवद्ध छौं ।
संस्था र सदस्य बीचको सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ । सदस्यहरुको भूमिका अझै बढी हुने अपेक्षा हामीले गरेका छौं । संस्थाले जति लामो यात्रा तय गर्दै जान्छ, उतिनै मजबुत बन्दै जान्छ । घनिष्ठ सदस्य सम्बन्ध छ भने बाहिरी नकारात्मकता, हल्ला र हावाले कुनै असर गर्दैन । हामी ढुक्क छौं, नेचुरल र सदस्यहरुबीच विश्वासको बलियो बन्धन छ । र, यो आगामी दिनमा अझैं वृद्धि हुँदै जानेछ ।
स्थापना दिवसमा म सदस्यहरुलाई के विश्वास दिलाउन चाहन्छु भने संस्था बलियो छ । मजबूत छ । सहकारीका आवरणहरु भन्दा पनि वित्तीय सूचकहरु बलियो हुन जरुरी छ । नियमनकारी निकाय, सहकारी अभियान, सदस्य, समुदाय सबैको साथले नै नेचुरल आजको यो अवस्थामा आइपुगेको हो ।
संस्थामा आवद्ध सदस्यहरुको विश्वास, माया अनि भरोसाले आजको यस विषम परिस्थितिमा पनि हामी सवल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न सफल भएका छौं । सहकारीहरुको भीडमा नेचुरल सहकारीले बेग्लै पहिचान बनाउन सफल भएको छ जसको श्रेयको हकदार हाम्रा सम्पूर्ण सेयर सदस्यहरु हुनुहुन्छ ।
सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टि गर्दछ । स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबारसँगै प्रविधिमैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु संस्थाले गर्दै आएको छ ।
सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालना हामी सदैव प्रतिवद्ध छौं । हामी सदस्यहरुको बचत र लगानीको सुरक्षाको प्रत्याभूति गर्दै संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन दिने छैनौं ।
अर्को भनेको, संस्था स्तरीकरण कार्यक्रममा पनि आवद्ध भएको छ । ब्राण्डेड संस्था बनाउने अभियानमा हामी छौं ।
Advertisment