कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र कोअपरेटिभ कलेज अफ मलेसिया बीच सम्बन्ध बिस्तार भएको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो कलेजका डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुरको निमन्त्रणामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको नेतृत्वमा सहकारीका सञ्चालक, लेखा समिति र कर्मचारीहरुको एक टोलीले कलेजको औपचारिक भ्रमण गरेका हुन्।
यस अवसरमा डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुर र त्यहाँका व्यवस्थापन समूहले सहभागीहरुलाई स्वागत गर्दै कलेज परिसर, कक्षा कोठा, सभाकक्ष, सहकारी पसल आदि स्थानको अध्ययन अवलोकन भ्रमण गराएका थिए।
मलेसियाको एक मात्र सहकारी शिक्षा तथा तालिम केन्द्रको रुपमा प्रख्याती कमाएको उक्त कलेज सन् १९५६ मा स्थापना भएको हो । हाल सहकारी कलेजलाई कोअपरेटिभ इन्स्टिच्यूट अफ मलेशियाको नामबाट सञ्चालन गरिएको छ ।

कलेजले सहकारी व्यवस्थापनमा एम.बि.ए. लेखा परिक्षण, मानव संसाधन व्यवस्थापन र डेक्सटप प्रकासन सम्बन्धी, प्रार्थना कक्षा, पुस्तकालय साथै व्यवसाय प्रशासनमा स्नातक डिग्री र अन्तर्राष्ट्रिय स्तरको तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै एउटा सहकारी पसल समेत सञ्चालनमा ल्याएको छ ।
हाल मलेशियाभर १६ हजार ९ वटा सहकारीमा ७२ लाख सदस्यहरु आवद्ध छन् । मलेशियामा सहकारी संघ संस्थालहरुले विशेष गरि बैकिङ्ग, बचत तथा ऋण, कृषि, यातायात, उपभोक्ता पसल, हाउजिङ्ग, निर्माण व्यवसाय, उधोग र सेवा क्षेत्रमा काम गरिरहेको कलेजका भाईस चान्सलर प्रा.डा.अजली विन महमदले जानकारी गराएका थिए ।
भेटका अवसरमा पोखरा रोयल सहकारीको तर्फबाट सञ्चालक हरिबहादुर गुरुङ्गले संस्थाले गरिरहेका असल अभ्यासहरुको संक्षिप्तमा प्रस्तुतीकरण गरेका थिए भने अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सचिव केशव प्रसाद ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ्ग, सञ्चालक एकबहादुर गुरुङ्ग लगायतले छलफलमा भाग लिएको भ्रमण दलका सदस्य तथा संस्थाका अधिकृत उमनाथ आचार्यले बताए।
कार्यक्रममा दुबै टोलीका तर्फबाट मायाको चिनो साटासाट गर्नुका साथै भविश्यमा अन्तर सहकारी सम्बन्धमार्फत मानव पूँजीको उच्चतम प्रयोग गर्दै उच्च स्तरको तालिम कार्यक्रमहरु सञ्चालन गर्ने र दुई संस्था बीच रणनैतिक सम्बन्ध स्थापित हुने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
कोअपरेटिभ कलेज अफ मलेशियाका प्रतिनिधिहरुले यस अघि पोखरा रोयल सहकारीमा दुई पटक अवलोकन गरी अनुभव आदानप्रदान गरिसकेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराए।
Advertisment