Below Menu
Below Menu

पदको मोह होइन, मूल्यको रक्षा गरियो

पदको मोह होइन, मूल्यको रक्षा गरियो

सहकारी संघ-संस्था सञ्चालनको अवश्यम्भावी आधार भनेको प्रक्रिया, मर्यादा, उत्तरदायित्व र सामूहिक नेतृत्व हो । यस्तो संरचना भित्र नेतृत्व केवल पद होइन, एक गहिरो उत्तरदायित्व हो । जसले संस्थाको दृष्टिकोण, सहकर्मीको मनोबल र अभियानको गतिलाई निर्धारण गर्दछ । गर्नुपर्दछ । यसै दृष्टान्तलाई आधार मानी सहकारीको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघमा मैले बिताएको एक दशक र सो अवधिमा प्राप्त गरेको ज्ञान, शिप र नेतृत्व क्षमतामा योगदान गर्नुहुने सम्पूर्ण पदाधिकारी, संचालक, पूर्व महाप्रबन्धकहरु लगायत सहकर्मी साथीहरु, आम सहकारीकर्मी र शुभचिन्तकहरुमा हार्दिक नमन गर्दै मेरो ट्याक्टिकल एक्जिट उपर उठेका केही अहम सवालमा प्रस्ट पार्न चाहन्छु । 

उल्लेखित विचार मेरो व्यक्तिगत विचार हुन् । यसले कोही कसैलाई व्यक्तिगत रुपमा प्रहार गर्ने मनसाय किन्चित गरेको छैन । यसले सहकारी संघ-संस्थामा प्रणालीगत सुधार होस् र महासंघ सही अर्थमा दिगो एवंम मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ बन्न सफल होस् भन्ने पनि हो । 

विषय मैले राष्ट्रिय सहकारी महासंघको महाप्रवबन्धक पदवाट दिएको राजिनामाका सम्बन्धमा हो । सहकारी संघ संस्थालाई समयसापेक्ष नीति दिने र सञ्चालन प्रक्रियामा सामेल हुने कार्य समितिका पदाधिकारी र सञ्चालकहरुको हो भने निर्णयको अधिकतम् कार्यान्वयन गर्ने कार्य व्यवस्थापनको हो । त्यसै हुनपर्छ, न कि जिम्मेवारीमा ओभरल्याप । संस्थाको विनियम र कार्यविधिले व्यवस्था गरे अनुरुप पदको सृजना र त्यसको पूर्ति एवंम कानूनत पेश हुन आउने राजिनामाको किनारा लगाउने कार्य नियमित प्रक्रिया अन्तर्गतनै पर्दछन् । यस्ता अभ्यासहरुप्रति कोही कसैगरी उद्घेलित हुनुपर्ने कारण छैन । म आफ्नो निजी कार्यका लागि भारत भ्रमणमा रहेको बेला विभिन्न अनलाइन समाचारहरुमा मेरो राजिनामाको सन्दर्भलाई लिएर भएका टिकाटिप्पणीले मेरो ध्यानाकर्षण गराएको छ ।  

यस सन्दर्भमा सम्बोधननै गर्नुपर्ने केही अहम सवालहरुलाई म प्रष्ट पार्न चाहन्छु । समाचारमा उल्लेख भए जस्तो राजिनामाको कारणलाई चरम राजनीतिक हस्तक्षेप, डाइनामिजम प्रदर्शन गर्न नसकेको, प्रेसर थेग्न नसकेको लगायतको परिधि भित्र बाध्न खोजिएको देखियो । व्यक्तिको इमोसनमा खेल्न खोजिएको देखियो ।

राजिनामाको समाचार आउँदै गर्दा यसका कारणका पछाडि महासंघको नेतृत्व, उपसमिति लगायत अमुक व्यक्तिका नामहरु समेत जोडिए । बहिर्गमन हुँदै गरेको र बहिर्गमन भइसकेका महाप्रबन्धकहरु समेत जोडिए र उनीहरुको व्यक्तिगत स्वभाव, शारिरिक र मानसिक अवस्थाको समेत चित्रण गरेको पाइयो । यसबाट सहकारीको व्यवस्थापन प्रणालीलाई विश्वास गर्ने आम सहकारीकर्मी तथा शुभचिन्तकहरुलाई दिग्भ्रमित पार्न खोजेको पनि पाइयो । सत्य त्यो होइन, हुनसक्दैन । सहकारी सञ्चालनमा देखिएका प्रणालीगत त्रुटिनै यस्ता टिप्पणीको कारक हुन् । त्यसलाई सच्च्याउनु पर्छ । 

सङ्गठनमा समर्पित भएर निरन्तर कार्य गरिरहनु कर्मचारीको पूर्व शर्त हो । तर जीवनमा त्यस्ता जिम्मेवारीहरू पनि आउँछन् जो संस्थागत जिम्मेवारी जत्तिकै अहम हुन्छन् । मेरो नियुक्ति महासंघ अघि बढाउन थियो कोही व्यक्ति विशेषलाई होइन । त्यसैले मैले रोजेको राजिनामाको निर्णय संस्थागत मूल्य, प्रणाली र न्यूनतम कार्य वातावरण र कार्य र जीवनको सन्तुलन जस्ता पछिल्ला व्यवस्थापकीय अवधारणामा टेकेर हो । यसमा कोही भ्रमित नहुनुहोला ।

यसर्थ, मेरो राजिनामाको मुल २ वटा कारण (१) प्रतिकुल कार्यवातावरणलाई अनुकुल बनाउन प्रयास गर्दा उत्पन्न भएका गैर व्यावसायिक प्रवृत्ति (२) स्वास्थ्यसँग सम्बन्धित पारिवारिक सवाल । म स्पष्ट छु । यसमा मलाई कुनै बिलौना, सहानुभूति वा आरोप-प्रत्यारोपको घनचक्करमा पर्नु छैन । यस अवधिमा सबैलाई नजिकबाट चिन्ने मौका पनि पाए । बिहानीले दिउँसोको झझल्को दिन्छ । त्यस अवस्थामा निकास दिनु उपयुक्त होइन र ? ६ महिनाको अवधि एउटा परिस्थितिमा ‘अर्लि एक्जिट’ हो भने अर्को परिस्थितिमा ‘लेट’ ।  

थप स्पष्ट हुनु पर्ने के छ भने छोटो कार्यकालमा मैले महासंघको निर्णय प्रक्रिया, कार्यान्वयन प्रणाली र परिवर्तित व्यवस्थापकीय औजारहरुको प्रयोग गर्ने गरी ४ वर्षे कार्ययोजना समितिबाट पारित गराए । सोही अनुरुपनै समग्र प्रणालीलाई व्यवस्थित, पारदर्शी एवंम परिणाममुखी बनाउन उल्लेखनीय प्रयास गरेका तथ्यहरुलाई बिर्सनु हुँदैन ।

व्यवस्थापकीय पारदर्शिता, टिमवर्क, नियामकीय निकायहरुसँग समदुरीमा रही गरिएका नीतिगत सुधारका पहलकदमी, निजी क्षेत्र तथा साझेदार संघ-संस्थासँगको सहकार्यमा गरिएका प्रयास, कार्यक्रम कार्यान्वयनको सशक्त र परिवर्तित थालनी जस्ता आसालाग्दा कदम परिवर्तनका संवाहकका रुपमा रहे । व्यवस्थापनलाई कार्यात्मक बनाउन चेन अफ कमाण्ड लागु गर्न खरो उत्रिएको तथ्य के सामान्य मात्र हुन त ? 

यसका वावजुत पनि जब संस्थागत निर्णय प्रक्रियाले लय लिदैन भने त्यस परिस्थतिमा एउटा सचेत नेतृत्वकर्ताले अनिर्णयको बन्दी हुने कि निकास खोज्ने भन्ने निर्णय लिनैपर्छ । मैले निकास रोजें । गर्वका साथ भन्छु पदको लोभ हेरेर होइन, पेशागत मूल्यमा उभिएर । के यो मेरो शिल्लिपना हो ? जीवन अरुको लागि जिउने हो ?

अर्को तर्फ को ? किन ? कसरी ? बहिर्गमन भयो त्यसका पछाडि लाग्नु भन्दा अबको बाटो के हो ? संस्थागत सुधारका सूचकाङ्क के के हुन् ? कसरी अभियानलाई अर्को उचाइमा पुर्याउन सकिन्छ ? विद्यमान चुनौतीलाई कसरी चिर्न सकिन्छ ? भन्ने विषयमा मस्तिष्क मन्थन गर्नु समयको माग हो । यी विषयहरुनै प्रमुख एजेण्डा बन्नुपर्छ भन्ने हो ।  

संस्थागत जिम्मेवारीबाट बहिर्गमन हुँदै गरेको व्यक्तिको टिप्पणीले संगठनको क्षयीकरण हुने हो । किनभने संथा सञ्चालनको स्पष्ट नीतिगत निर्णय, निष्पक्षता, पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित प्रणालीबाट हुनुपर्छ, व्यक्तिको पछाडि लागेर होइन । अझ यसमा सदस्य संघहरुको भूमिका महत्वपूर्ण हुनुपर्छ भन्ने हो । उल्लेखित आम धारणामा फरक मत राख्नेसम्म सहर्ष बहस गर्न सकिन्छ ।

तर जब संघ संस्था सञ्चालनको निर्णय प्रक्रिया अस्पष्ट बन्दै जान्छ, संस्थागत मर्यादा व्यक्तिगत लाभ र स्वार्थको घेरामा पर्दै जान्छ, तब नेतृत्वमा बसेको म जस्ता व्यक्तिले आत्मसमिक्षा गर्नै पर्छ । मैले त्यसै गरे, निकास रोजे । उद्देश्य पद जोगाउनु होइन, मूल्य जोगाउनु थियो । मेरो सामु चार वर्ष बसेर टक्सिक वातावरणमा समय बिताउने कि निकास दिएर अवसरको सिर्जना गर्ने भन्ने थियो, मैले निकास दिए । 

संगठन सशक्त बनाउनु भनेको कुनै व्यक्तिको वरिपरि घुम्नु होइन । स्पष्ट प्रक्रिया, नीति र प्रणालीमा खरो उत्रनु हो । संस्थाको सबलता कसैको व्यक्तिगत छिनाझपटमा होइन । संस्थागत मूल्य मान्यता, विधि, प्रक्रिया र ट्रान्सफरमेटिभ प्रोसेसको अभ्यासबाट हुने हो । बुझ्नु पर्ने कुरात के हो भने सापेक्षतामा ‘ड्यासिङ’ वा ‘डायनामिजम’ प्रदर्शन हुँदैन । निरपेक्षताको कल्पना गर्न सकिदैन । त्यसकारण मेरो राजिनामाको सन्दर्भमा उठेका नकारात्मक टिप्पणी र असम्बन्धित व्यक्तिहरुको नाम जोड्नुको कुनै अर्थ रहँदैन । 

अर्काे कुरा व्यवस्थापन प्रणाली व्यक्ति केन्द्रित होइन, प्रक्रिया केन्द्रित बन्नुपर्छ । व्यक्ति आउँछ जान्छ । त्यसले संगठनलाई असर गर्नु हुँदैन । संगठन प्रणालीका आधारमा चल्ने कानुनी व्यक्ति हो । कोही अमुक व्यक्ति प्रत्यक्ष जिम्मेवारीबाट अलग हुने बित्तिकै संस्था लथालिङ्ग हुन्छ भन्नु भनेको प्रणालीको कमजोरी हो । प्रणाली बलियो भए, व्यक्ति आए-गए पनि संस्थाको गति र लक्ष्य अडिग रहन्छ । संघ संस्थामा मानव संसाधन केवल कर्मचारी संख्या गन्ने प्रणाली होइन । त्यो त संवेदनशील रणनीतिक कार्यक्षेत्र हो जसले संगठन कहाँ पुग्ने हो भन्ने तय गर्दछ । उपलब्ध मानव संसाधनको परिचालन कसरी हुनुपर्छ हामी सबै प्रष्टनै छौं । संस्थागत अनुशासनको यो नै पूर्व शर्त हो । यसतर्फ लाग्न अधिकतम प्रयास भएकै हो ।  

मानव संसाधनको परिचालनको सुजबुझपूर्ण अभ्यास गर्नु गराउनुनै संघ-संस्थाको सफलताको कडि हो । कर्मचारी नियुक्ति, सरुवा, बढुवा र ग्रोथ प्लान सही समयमा हुनुपर्छ त्यसको प्रमुख आधार भनेको खुल्ला प्रतिस्पर्धानै हो । कसले कति योगदान दियो भन्ने विषयमा पारदर्शी मूल्याङ्कन प्रणालीको विकास विना तजविजिको आधारमा गरिदा कर्मचारीमा नैराश्यता उत्पन्न हुन्छ । त्यसकाराण त्यस्तो विषयको ट्याकलिङ संस्थागत प्रक्रियाबाट गरिनुपर्छ न कि कुनै पावर सेन्टरबाट । अबको बाटो यसरीनै पहिल्याउ ।  

मेरो राजीनामा सहकारी अभियानको कमजोरी होइन, नेतृत्वको जिम्मेवारी बोधबाट आएको मूल्यको निर्णय हो । यो कोही व्यक्तिलाई दुःख पुर्याउन र कोही कसैलाई सुख दिन पनि होइन । यो त मेरो निजी निर्णय हो र यो निर्णयले कसैलाई दोषारोपण गर्ने अधिकार दिँदैन । यसको अर्थ म अभियानबाट अलग भएको भन्ने पनि होइन । यो या त्यो रुपमा म अभियान भित्रै रहिरहन्छु । त्यसैले त यो लेख लेख्ने जमर्को गरेको छु । लेखको प्रतिक्रिया र टिप्पणीका आधारमा समेत म आगामी दिनमा अगाडि बढ्नेनै छु ।  

अन्त्यमा, सहकारीमा व्यक्ति होइन, प्रणाली बलियो बनोस् र त्यसको निर्मम अभ्यास होस् ।

Advertisment