पुरानो आर्थिक वर्ष बिदा भएर नयाँ आर्थिक वर्ष शुरु भैसकेको छ । सहकारी संस्थाहरु धमाधम लेखापरीक्षण गराउने तयारीमा जुटेका छन् । सहकारी ऐन २०७४ को दफा ७५(१) ले ‘सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण सो आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखापरीक्षकद्वारा गराउनुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।
लेखा परीक्षणसँगसँगै कतिपय सहकारी संस्थाहरु साधारण सभाको सूचना समेत प्रकाशन गर्न थालिसकेका छन् । सहकारी ऐनको दफा ३८(२) ले ‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र वार्षिक साधारण सभा बोलाउनुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ । छ महिनाको समयसीमा भए पनि धेरै संस्थाहरु दशैं अघि नै साधारणसभा सम्पन्न गर्न लागिपरेका छन् ।
वार्षिक साधारण सभा संस्थामा आबद्ध सदस्यहरुको भेला हो । साधारण भनिए पनि यो भेला साधारण भने होइन । सहकारी ऐनको दफा ३६ (१) मा ‘सहकारी संस्थाको सर्वोच्च अङ्गको रुपमा साधारण सभा हुनेछ’ र दफा ३६(२) मा ‘सहकारी संस्थाका सबै सदस्यहरु साधारण सभाका सदस्य हुनेछन्’ भनी सम्वोधन गरेको छ । तसर्थ संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुले वार्षिक साधारण सभाको गरिमा र आफ्नो भूमिकाको महत्वलाई बुझ्नु जरुरी छ ।
कुनै पनि संस्था सबल र उत्कृष्ट रुपमा सञ्चालन हुन नीति योजना, कार्यक्रम, बजेट पूर्वनिर्धारित गरिएको हुनुपर्दछ र संस्था प्रचलित कानुनको अधीनमा रही विनियम तथा आन्तरिक कार्यविधिहरु मार्फत निर्देशित हुनुपर्दछ । सहकारी ऐनको दफा ३८ ले वार्षिक साधारण सभाको काम कर्तव्य र अधिकार निम्नानुसार निर्धारण गरेको छ ।
– वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने
– वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने
– समिति वा लेखा सुपरीवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने
– सञ्चालक वा लेखा सुपरीवेक्षण समितिको संयोजक वा सदस्यलाई पदबाट हटाउने
– समिति वा लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गर्ने
– विनियम तथा आन्तरिक कार्यविधि पारित गर्ने
– लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने
– संस्था एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने
– पारीश्रमिक लगायतका सुविधा तोक्ने
– वाह्य दायित्व स्वीकार गर्ने
– सदस्यको दायित्व मिनाह गर्ने
– समितिलाई आवश्यक निर्देशन दिने
– विनियममा तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
सहकारी संस्थामा सदस्य आफै मालिक हुने भएकाले कानुनले नै सदस्यहरुलाई अधिकार सम्पन्न बनाएको छ । साधारण सभामा गणपुरक सदस्यको उपस्थिति भएमा मात्र साधारण सभाले वैधता प्राप्त गर्न सक्दछ । सहकारी ऐनको दफा ४०(४) ले ‘सहकारी संस्थाको साधारण सभाको लागि गणपुरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको कम्तीमा ५१ प्रतिशत हुनेछ’ भन्ने व्यवस्था गरेको छ ।
माथि उल्लेखित साधारण सभाको काम कर्तव्य र अधिकार सदस्यहरुको गणपुरक उपस्थितिले मात्र सम्पन्न हुन सम्भव छ । तसर्थ संस्थाको वार्षिक साधारण सभालाई सफल बनाउन स्वस्फूर्त रुपमा सहभागिता जनाउनु सदस्यको कर्तव्य पनि हो ।
विगतका दिनमा साधारण सभालाई परिवहन खर्च/भत्ता बुझ्ने वा भोज खाने कार्यक्रमको रुपमा हेर्ने/बुझ्ने गरिएको थियो । क्षणिक लाभको लागि सदस्यले दिएको समर्थनका कारण सञ्चालक र व्यवस्थापकहरुमा विचलन आएको थियो । नतिजाः कैयौं सहकारी संस्थाहरु धरासायी भए, सदस्यले आफूले खाईनखाई जम्मा गरेको बचतको पैसा फस्न पुग्यो ।
हिजोका ती घटनाबाट पाठ सिकेर आफू सदस्य रहेको संस्थामा सदस्यले चासो, सरोकार र सक्रियता बढाउनुपर्दछ । संस्थाको वार्षिक साधारण सभामा सहभागी भई असल र क्षमतावान सञ्चालकहरु चयन गर्ने, संस्था सञ्चालनको लागि विनियम तथा आन्तरिक कार्यविधि उपर छलफल गरी पारित गर्ने, संस्थाको लेखापरीक्षण गर्न उपयुक्त लेखापरीक्षक नियुक्ति गर्ने, पारीश्रमिक तोक्ने, संस्थाको वार्षिक कार्यक्रम, बजेट उपर छलफल गरी निर्धारण गर्ने लगायत अधिकारको विवेकपूर्ण उपयोग गर्नुपर्दछ ।
सहकारी संस्था सदस्यकेन्द्रीत हुने भएकोले संस्थाका विषयमा सकारात्मक चासो राख्नु सदस्यको जिम्मेवारी हो । हरेक आर्थिक वर्ष समाप्तिसँगै संस्थाको अवस्था कस्तो रह्यो, साधारण सभा कहिले हुँदैछ भन्ने विषयमा सदस्य आफैले ध्यान दिनुपर्दछ । संस्थाले पनि कम्तीमा ३० दिन अगावै सदस्यहरुलाई साधारण सभा बस्ने सम्बन्धी सम्पूर्ण जानकारी खुलाई विभिन्न माध्यमबाट सूचित गर्नुपर्दछ ।
निष्कर्ष
वार्षिक साधारण सभाका अलावा सदस्यल संस्थामा नियमित रूपमा उपस्थित भई बचत राख्ने कामलाई महत्व दिनुपर्दछ । सदस्यले संस्थाबाट के कस्ता लाभ प्राप्त गर्न सकिन्छ ? आफूले जम्मा गरेको बचत सुरक्षित छ वा छैन ? संस्थाले के कसरी ऋण लगानी गरेको छ र ऋण लगानी गर्दा पर्याप्त सुरक्षण विधि अपनाएको छ वा छैन ? सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिहरुले कसरी काम गरिरहेका छन् ? संस्थामा कार्यरत कर्मचारीहरुको व्यवहार र सेवा प्रवाह चित्त बुझ्दो छ वा छैन, संस्थाबाट सञ्चालन हुने विभिन्न कार्यक्रम लगायतका विषयहरुमा पर्याप्त जानकारी लिनुपर्दछ ।
सहकारीमा सदस्य बन्नु ठूलो होइन सचेत सदस्य बन्नु चाहीँ महत्वपूर्ण कुरा हो । सामान्यतया सदस्यको चासो र सक्रियता बढी भएको संस्था विधिसम्मत सञ्चालित हुने भएकोले त्यस्ता संस्थाहरुमा जोखिमको आयतन कम हुन्छ । सहकारी संस्थामा निस्क्रिय सदस्यको कुनै महत्व नहुने भएकोले नै सहकारी ऐनको दफा ३४(ख) ले ‘लगातार वार्षिक साधारण सभामा बिना सूचना तीन पटकसम्म अनुपस्थित भएमा’ संस्थाले सदस्यता समाप्ति गर्न सक्ने व्यवस्था गरिदिएको छ ।
सदस्यको चासो र सक्रियताले नै संस्थालाई असल मार्गनिर्देशन मात्रै मिल्दैन, यसले संस्था र सदस्यबीचको आत्मियता थप मजबुत बन्ने कुरामा दुई मत छैन । तसर्थ अब हरेक सहकारी संस्थाका सदस्यहरु जागरुक हुनुपर्दछ । आफूले नबुझेका वा आफूलाई चित्त नबुझेका कुराहरुमा सञ्चालक र कर्मचारीलाई प्रश्न गर्नुपर्दछ, रचनात्मक सुझाव दिनुपर्दछ ।
(ठकुरी बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।)
Advertisment