काठमाडौं : राष्ट्र बैंकले चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएका छन् । मूल्यवृद्धि नियन्त्रणमा रहेको छ भने मुलुकको वैदेशिक व्यापारमा पनि सुधार देखिएको छ ।
बढ्दो रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति २० अर्ब डलर पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । यस अवधिमा आयात र निर्यातमा पनि सकारात्मक वृद्धि देखिएको छ ।
मूल्य वृद्धि
उक्त तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति –२.२८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमायी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत,गैर–मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगतउपभोक्ता मूल्य सूचकाङ्क १.६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७० प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेश प्रदेशको १.८६ प्रतिशत, बागमती प्रदेशको १.६७ प्रतिशत, गण्डकी प्रदेशको १.०३ प्रतिशत, लुम्बिनी प्रदेशको १.३५ प्रतिशत, कर्णाली प्रदेशको १.७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत रहेको छ ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई रु.२३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ ।
यस अवधमिा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई रु.१४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धिभएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ ।
कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई रु.११९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतलेवृद्धि भएको थियो । निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।
यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१३ अर्ब ९८ करोड बराबरको भएको थियो ।
शैक्षिक अध्ययनमा बाहिरियो करिब १५ अर्ब
साउन मसान्तसम्म खुद सेवा आय रु.१३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४ अर्ब ७७ करोड रहेको थियो ।
त्यस्तै भ्रमण व्यय २.८ प्रतिशतले कमी आई रु.२१ अर्ब ७० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१४ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२२ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१४ अर्ब ९६ करोड रहेको थियो ।
रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई रु.१७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु.१३६ अर्ब ६० करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४,४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३,६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६,९२८ र २२,६४७ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
यस अवधिमा चालु खाता रु.७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८० करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८९ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
चालु आर्थिक वर्षको साउन महिनामा कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई साउन मसान्तमा रु.२८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई रु.२५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई रु.२ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।
साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
सरकारको कुल खर्च
साउन मसान्तसम्म नेपाल सरकार, अर्थ मन्त्रालय,महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको कुल खर्च रु.४६ अर्ब ३१ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.१८ अर्ब ४८ करोड, पँुजीगत खर्च रु.७३ करोड र वित्तीय व्यवस्था खर्च रु.२७ अर्ब १० करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.८४ अर्ब ४७ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.८० अर्ब ६७ करोड र गैर कर राजस्व रु.३ अर्ब ८० करोड परिचालन भएको छ ।
साउन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२२६ अर्ब ६४ करोड (प्रदेश सरकार तथास्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात. रु.१३० अर्ब ७३ करोड रहेको थियो ।
निजी क्षेत्रमा प्रवाहित कर्जा
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.२ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटी रु.५४ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको थियो ।
साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थातर्फप्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ । यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.३ प्रतिशत र ६६.३ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिकउत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.०४ प्रतिशतले घटेको छ ।
त्यस्तै आवधिक कर्जा ०.२ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशतले, र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्यात ९५.७ प्रतिशतले र आयात ११.४ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.७६ प्रतिशत रहेको छ ।
Advertisment