मुसुक्क मुस्कुराउँदै । नमस्कारको शैलीमा जुम्ल्याहा हात जोड्दै । मनमायाँ सहकारीको कार्यालयमा पसिन् । मानौँ सहकारीका कर्मचारीसँग उनको पुरानो चिनजान थियो । यहाँका हरेक कर्मचारीसँग बोल्दा र व्यवहार गर्दा उनको बोलीमा मधुरता थियो । अपनत्व दर्शाउने हाउभाउ र आत्मीयता झल्कन्थ्यो । अनुहार आकर्षण देखिन्थ्यो ।
“म यहाँ नजिकै पसल गर्छु नि, व्यापार राम्रै छ,” उनी सगर्व भन्छिन्, “कारोबार राम्रो हुन्छ । दैनिक बचत गर्छु, सदस्यत बनाइदिनुस् न ।”
आफै आएर सहकारीको सदस्य बन्ने प्रस्तावले सहकारीका कर्मचारीको ध्यानाकर्षण हुन्छ । नम्र बोली । मधुर व्यवहार देखेपछि सदस्यता दिइन्छ ।
मनमायाँ मख्ख पर्दै निस्किन्छिन्। “अबदेखि दैनिक बचत गर्छु है ।”
सदस्य बनेकै दिनदेखि उनले नियमित बचत गर्न थाल्छिन् । हप्ता, महिना, दोस्रो महिना, तेस्रो महिना पनि उनले भनेझैँ नियमित बचत गर्छिन् । उनको खातामा कहिल्यै ४०-५० हजारभन्दा कम भएन ।
तीन महिना हुँदा नहुँदै उनी “राम्रो बचतकर्ता”को परिचय बनाउन सफल हुन्छिन् ।
एक दिन उनी सहकारीमा आइन्, “पसलमा सामान थप्न पर्यो, ५० हजार ऋण आवश्यक पर्यो ।”
उनले ऋण मागेभन्दा बढी रकम उनकै खातामा थियो । विश्वास नगर्ने कुरै भएन । उनले ऋण लिइन्, सातादिनमै तिरी पनि दिइन् । उनीमाथि सहकारीको विश्वास झन् सघन भयो ।
दस दिनपछि उनी फेरि कार्यालयमा आइन् र भनिन्, “अस्ति लगेको ऋण तिरें, तर यति चाँडै नतिर्नुपर्ने रहेछ । अब एक लाख चाहियो, दुई महिनाका लागि ।”
त्यही विश्वासिलो र व्यवहारिक सदस्यलाई ऋण नदिने कुरै भएन । उनको खातामै पनि राम्रै बचत थियो । अघिल्लो व्यवहार पनि सफा । त्यही हेरेर सहकारीले फेरी ऋण दियो ।
मनमायाँले त्यो ऋण पनि भनेकै समयमा तिरिदिइन् ।
अब त उनी सहकारीकी विश्वासिलो मात्र होइन, आत्मीय सदस्य भइन् ।
कहिले पसलमा, कहिले सहकारीमा- सबैसँग हाँस्दै गफिँदै, मानौँ आफ्नै घरजस्तै सदस्यका रुपमा प्रभाव बनाइन् ।
तीन महिनापछि उनी फेरि सहकारीमा आइन् ।
“अब व्यवसाय अलि विस्तार गर्नुपर्यो । यसपटक सकिन्छ भने पाँच लाख ऋण चाहियो ।”
ठूलो रकम माग भएपछि सहकारीले, “नियम अनुसार धितो चाहिन्छ।” भन्यो ।
उनी झोकिँदै भनिन्, “मरो विश्वास छैन र ? मैले यत्रो समय तपाईंलाई भरोसा गरें, अब तपाईंहरु मलाई विश्वास गर्न नसक्ने ?”
सहकारीका सबै चुपचाप भए । अन्ततः विश्वासका आधारमै निर्णय भयो — पाँच लाख ऋण स्वीकृत गरियो ।
त्यसपछि...
त्यसपछि महिना दिन नियमित किस्ता तिरिन् ।
अनि भने मनमाया अचानक हराइन् ।
के भयो भनेर सहकारीका कर्मचारी उनको पसलमा पुगे ।
पसल बन्द, ढोकामा ताल्चा !
फोन गरे, फोन उठ्दैन ।
कहाँ गइन्, कसैलाई थाहा छैन ।
बुझ्दै जाँदा उनको पसलको आँगनमा पाँच–सात सहकारीका कर्मचारी दिनहुँ फन्को मार्दा रहेछन् ।
“हाम्रो सहकारीबाट पाँच लाख लगिन्”
“हाम्रोबाट एक लाख”
“हत्तेरीका, म त जमानी बसेर फसेँ ।”
सबैको अनुहारमा निराशा, मनमा पश्चात्ताप झल्किन्छ ।
तर मनमायाँको मन ?
उनको मन कहिल्यै सहकारीप्रति इमान्दार थिएन् ।
(लेखक माइक्रो श्रमिक साकोस, काभ्रेका नायव प्रमुख कार्यकारी अधिकृत हुन्)
Advertisment