Below Menu
Below Menu

औषधि उद्योगमा स्थापित देउराली–जनता फर्मास्यूटिकल्स, चार अर्ब ७५ करोड लगानी थप्दै

औषधि उद्योगमा स्थापित देउराली–जनता फर्मास्यूटिकल्स, चार अर्ब ७५ करोड लगानी थप्दै

काठमाडौं : स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो ३५ औं वार्षिकोत्सव मनाएको छ । साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित कम्पनीले औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले चितवनको भरतपुरमा ४ अर्ब ७५ करोड रुपैयाँ लगानीमा नयाँ अत्याधुनिक औषधि कारखाना निर्माण गर्ने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो उद्योग दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेलका अनुसार नयाँ उद्योग सञ्चालनमा आएपछि औषधि उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्नेछ र आयात प्रतिस्थापनमा थप सहयोग पुग्नेछ ।

हाल देउराली–जनता फर्मास्यूटिकल्सले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट र ड्राइ पाउडरसहित २९६ प्रकारका जीवनरक्षक तथा दीर्घ रोगसम्बन्धी औषधि उत्पादन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तरको स्वदेशी औषधि

सन् १९८८ मा स्थापना भएको कम्पनीले विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जीएमपी० प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली औषधि उद्योगको रूपमा पहिचान बनाएको छ । कम्पनीमा हाल ६७५ जना दक्ष अनुसन्धानकर्ता, प्राविधिक तथा कर्मचारी कार्यरत छन् ।

प्रविधि हस्तान्तरणमार्फत अन्तर्राष्ट्रियस्तरको औषधि उत्पादन प्रविधि भित्र्याउने नेपालको पहिलो औषधि उद्योगको रूपमा पहिचान बनाएको उल्लेख गर्दै नयाँ परियोजनाले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

नयाँ परियोजना कार्यान्वयनसँगै जनस्वास्थ्य क्षेत्रमा नवीन प्रविधि र उच्च गुणस्तरका औषधि उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने कम्पनीले जनाएको छ ।

कर र नीतिगत चुनौतीबारे गुनासो

कार्यकारी निर्देशक शर्माले उद्योगमैत्री नीतिको अभावका कारण स्वदेशी औषधि उद्योगले विभिन्न चुनौति भोग्नुपरेको गुनासो गरे । उनका अनुसार औषधि उद्योगमा प्रयोग हुने कच्चा पदार्थ पूर्ण रूपमा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ भने विभिन्न शीर्षकमा लगाइने करका कारण लगानीको ठूलो हिस्सा सरकारलाई तिर्नुपर्ने बाध्यता छ ।

उनले भने, ‘४ अर्ब ७५ करोड लगानी गर्दा करिब २ अर्ब रुपैयाँ कर तिर्नुपर्ने अवस्था छ। यस्तो वातावरणमा उद्योग सञ्चालन र प्रतिस्पर्धा कठिन हुन्छ ।’
नीति अनुकूल नभए पनि मुलुकको आवश्यकता बुझेर जोखिम मोलेर लगानी गर्ने निर्णय लिएको उनको भनाइ छ ।

उनका अनुसार उद्योग निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका कम्पनीबाट डिजाइन र इन्जिनियरिङ गराए पनि नगरपालिकाबाट नक्सा पास गर्न लामो समय लाग्ने, अतिरिक्त शुल्क र प्रशासनिक झन्झट ठूलो समस्या बनेको छ।  ‘अन्य देशमा केही प्रक्रिया पूरा गरेपछि सहजै काम सुरु गर्न पाइन्छ, तर नेपालमा नक्सा पासमै वर्षौं लाग्ने अवस्था छ’ उनले भने।

कम्पनीले दीर्घ रोग व्यवस्थापनका लागि सन् २००५ मा  ‘सुस्वास्थ्य’ डिभिजन स्थापना गरेको थियो, जुन मुटुरोग, एन्डोक्राइनोलोजी र नेफ्रोलोजी क्षेत्रमा केन्द्रित छ ।

त्यसपछि आरोग्यम, निरोग, दिव्यम र आरम्भ जस्ता विशिष्टकृत डिभिजनमार्फत टोपिकल, न्युरोसाइकियाट्री, ग्यास्ट्रो–हेपाटोलोजी तथा आमा–शिशु स्वास्थ्यसम्बन्धी औषधि उत्पादन गर्दै आएको छ।

देउराली–जनता फर्मास्यूटिकल्स नेपालकै ठूला औषधि उत्पादक कम्पनीहरूमध्ये एक बनेको छ । कम्पनीले निकट भविष्यमा कम्तीमा पाँच अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्ने योजना बनाएको छ।

नयाँ परियोजना समयमै सम्पन्न गर्न देउराली–जनता फर्मास्यूटिकल्सले नेपाल सरकार, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा नेपाली जनताको सहयोग र साथको अपेक्षा गरेको छ ।

एक वर्षमा सवा दुई अर्बको कारोबार

देउराली जनता फर्मास्युटिकल्स प्रालीले सन् २०२५ मा दुई अर्ब ३५ करोड रुपैयाँको ९अपरिष्कृत० कारोबार गरेको छ । इक्रा नेपालका अनुसार उक्त रकम अघिल्लो वर्षको तुलानमा १६.१६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा कम्पनीले दुई अर्ब २ करोड ३० लाख रुपैयाँ बराबको कारोबार गरेको थियो । यसअघिका वर्षहरुमा कम्पनीको कारोबार औसत एक अर्ब ६७ करोड रुपैयाँ हाराहारी रहेको थियो । पछिल्ला दुई वर्षमा कम्पनीको कारोबार आकर्षक रुपमा बढेको छ ।

इक्राका अनुसार कम्पनीको कारोबार सन् २०२३ मा एक अर्ब ८६ करोड ४० लाख, सन् २०२२ मा एक अर्ब ७० करोड ५० लाख र सन् २०२२ मा एक अर्ब ४६ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०२५ मा कम्पनीले करिब १६ प्रतिशत राजस्व वृद्धि गर्दै सवा दुई अर्बमाथिको कारोबार गरेको रिपोर्टमा उल्लेख छ । सञ्चालन नाफा मार्जिन करिब १९ प्रतिशतमा स्थिर रहेको छ ।

यसले कम्पनीको बजार पकड र मूल्य निर्धारण क्षमतालाई संकेत गरेको । यसका कारण ब्याज तिर्ने क्षमता करिब ११ गुणा र ऋण सेवा कभरेज अनुपात करिब ४ गुणा कायम भएको छ ।

कम्पनीको कूल ऋण–नेटवर्थ अनुपात ०.३ गुणामै सीमित रहेको छ भने कूल बाह्य दायित्व–नेटवर्थ अनुपात ०.७ गुणा रहेको छ । जसले कम्पनीको पुँजी संरचना सुरक्षित र कम जोखिम रहेको देखाउँछ।

वर्षौंदेखि नियन्त्रणमा राखिएको लाभांश नीतिका कारण आन्तरिक नगद सञ्चिति बलियो रहँदै आएको र सोही आधारमा नियमित पुँजीगत खर्च तथा विस्तार योजनालाई सहयोग पुगेको देखिन्छ ।

तीन दशकभन्दा लामो अनुभव, अनुभवी प्रवद्र्धक तथा व्यवस्थापन टोली र स्वदेशी औषधि बजारमा स्थापित ब्रान्डको पहिचान कम्पनीका प्रमुख सबल पक्ष हुन् । देउराली जनतासँग २०० भन्दा बढी वितरकको सञ्जाल रहेको छ र २५० भन्दा बढी उत्पादन विभिन्न उपचारात्मक क्षेत्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । शीर्ष १० वितरकबाट करिब १८ प्रतिशत मात्र आम्दानी हुनु ग्राहक विविधतामा सन्तुलित रहनुको संकेत गरेको कम्पनीको भनाइ छ ।

यद्यपि, कम्पनीको कार्यशील पुँजी चक्रमा भने अझै चुनौतीपूर्ण रहेको देखिन्छ।  सन् २०२५ को मध्यसम्म पुग्दा कार्यशील पुँजीरआम्दानी अनुपात करिव ४४ प्रतिशत पुगेको छ भने ऋण दिन करिव १४३ दिन रहेको छ।

अधिकांश ऋणी असुरक्षित भएकाले असुलीमा ढिलाइ वा लेखापानी गर्नुपरेमा नगद प्रवाहमा थप दबाब पर्न सक्ने जोखिम देखिन्छ ।  यद्यपि, कार्यशील पुँजी सीमामा पर्याप्त खाली क्षमता ९करिब ५९ प्रतिशत० रहेकाले अल्पकालीन तरलता जोखिम कम भएको विश्लेषण कम्पनीको छ।

कम्पनीले बैंकिङ सुविधाका लागि एक अर्ब छ करोड १० लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ जसमा दीर्घकालीन कर्जाका एक करोड ८० लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि एक अर्ब चार करोड ३० लाख बराबरको कर्जाको रेटिङ गराएको हो । 

स्वदेशी औषधि उद्योग उच्च प्रतिस्पर्धी र खण्डित बजार भएको, सस्तो आयातित औषधिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था, तथा कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने पक्ष पनि कम्पनीका दीर्घकालीन चुनौती मानिएको छ ।

सन् २०२६ मा नेपाल एलडीसी सूचीबाट उक्लिएपछि औषधि उद्योगले भोग्दै आएको कर तथा रोयल्टी सुविधामा कटौती हुने सम्भावना रहेकाले लागत र नाफामा दबाब पर्न सक्ने रिपोर्टमा उल्लेख । 

Advertisment

थप समाचार