बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम

बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समिक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार मुद्रास्फीति नियन्त्रणमा रहेको र विदेशी विनिमय सञ्चिति  बलियो रहेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि निजी क्षेत्रमा कर्जा विस्तार भने लक्ष्यअनुसार हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको थियो। सो लक्ष्यअनुसार दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ। यद्यपि २०८३ वैशाखमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ । जुन वार्षिक लक्ष्यको हाराहारीमा रहेको देखिन्छ।

यस्तै चालु आवका लागि विस्तृत मुद्रा प्रदाय १३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएकामा वैशाखसम्म बिन्दुगत आधारमा विस्तृत मुद्रा प्रदाय १५.२ प्रतिशतले बढेको छ। तर निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर भने लक्ष्यभन्दा निकै कम रहेको छ। राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको भए पनि वैशाखसम्म निजी क्षेत्रमा जाने कर्जा केवल ६.५ प्रतिशतले मात्र बढेको छ।

यसैगरी मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति कायम गर्ने लक्ष्य राखेको थियो। तर वैशाख मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।  

बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ। चालु आर्थिक वर्षको सुरुवातमा स्थायी तरलता सुविधाको ब्याजदर ६ प्रतिशत, स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशत तथा नीतिगत दर ४.५० प्रतिशत कायम गरिएको थियो।

पहिलो समीक्षामार्फत स्थायी तरलता सुविधाको ब्याजदर ५.७५ प्रतिशत तथा नीतिगत दर ४.२५ प्रतिशतमा झारिएको थियो भने स्थायी निक्षेप सुविधाको ब्याजदर यथावत् २.७५ प्रतिशत कायम गरिएको थियो।

राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने लक्ष्य लिएको भए पनि अधिक तरलताका कारण वैशाख महिनामा अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित रहेको छ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको छ । नियमित मौद्रिक उपकरणका अतिरिक्त बैंकिङ प्रणालीमा रहेको संरचनागत प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र समेत निष्कासन गरिएको छ । 

चालु आर्थिक वर्षको दश महिनामा ४ दिनदेखि १७५ दिन अवधिसम्मका निक्षेप सङ्कलन बोलकबोल ७१ पटक, स्थायी निक्षेप सुविधा ११७ पटक तथा एक वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र ९ पटक जारी गरी प्रणालीबाट तरलता प्रशोचन गरिएको छ।

वैशाख मसान्तसम्म निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१६ अर्ब ७० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत १११ अर्ब ९० करोड रुपैयाँ तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत मात्रै चालु आर्थिक वर्षको दश महिनामा ९४६ अर्ब २६ करोड रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीमा प्रवाह भएको छ।

वित्तीय प्रणालीमा अधिक तरलता रहेका कारण अल्पकालीन ब्याजदरहरू ब्याजदर करिडोरको तल्लो सीमाकै हाराहारीमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

अधिक तरलताका कारण अल्पकालीन ब्याजदर निरन्तर न्यून स्तरमा रहेका छन्। वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत तथा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ।

वैशाखसम्म वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकको ३.७० प्रतिशत तथा वित्त कम्पनीहरूको ४.५९ प्रतिशतमा झरेको छ। त्यस्तै, वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकहरूको ७.८७ प्रतिशत तथा वित्त कम्पनीहरूको ९.१४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ। 
 

थप समाचार