रूस र इरानले गरे क्रिप्टोमार्फत खर्बौँको कारोबार

रूस र इरानले गरे क्रिप्टोमार्फत खर्बौँको कारोबार

काठमाडौं : रूस, इरान र उत्तर कोरियाले अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबाट बाहिर रहेर क्रिप्टोकरेन्सीमार्फत कारोबार गर्ने छुट्टै नेटवर्क बनाएको दाबी गरिएको छ। क्रिप्टो कारोबारको निगरानी गर्ने संस्था चेनालिसिसका अनुसार सन् २०२५ मा यी तीन देशसँग सम्बन्धित क्रिप्टो कारोबार करिब ९.९२ लाख करोड रुपैयाँ बराबर पुगेको छ। यो रकम सन् २०२४ को तुलनामा आठ गुणा बढी हो।

रिपोर्टका अनुसार यो कारोबार सामान्य व्यापार वा डिजिटल सम्पत्ति राख्नका लागि मात्र नभई ड्रोन, हतियारका पार्टपुर्जा, सैन्य प्रविधि र तेलको भुक्तानीजस्ता क्षेत्रमा पनि प्रयोग भइरहेको छ।

रूसले रुबलसँग जोडिएको ‘ए७५ टोकन’ नामको डिजिटल मुद्रा प्रणाली तयार गरेको रिपोर्टमा उल्लेख छ। यसमार्फत रूसभित्र रुबल जम्मा गरेर विदेशमा क्रिप्टोकरेन्सीका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको बताइएको छ। मे महिनासम्म यो टोकनमार्फत करिब ११.४ लाख करोड रुपैयाँ बराबरको कारोबार भएको र यस नेटवर्कमा ४१ हजारभन्दा बढी खाता तथा करिब २ लाख ५० हजार स्थानान्तरण रेकर्ड भएको उल्लेख छ।

इरानले पनि आफ्ना घरेलु क्रिप्टो एक्सचेन्जलाई अन्तर्राष्ट्रिय भुक्तानी र तेल बिक्रीबाट आउने रकम व्यवस्थापन गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार इरानको रिभोल्युसनरी गार्डले तेल बिक्रीबाट प्राप्त रकम क्रिप्टोमार्फत लिएर डिजिटल वालेट प्रयोग गर्दै अन्य देशमा पठाउने गरेको उल्लेख छ। चेनालिसिसले यस्तो प्रणालीलाई रूस र इरानमाथि लगाइएका प्रतिबन्धबीच प्रयोग भइरहेको वैकल्पिक वित्तीय माध्यमका रूपमा उल्लेख गरेको छ।

उत्तर कोरियाले भने क्रिप्टोकरेन्सी चोरीलाई आम्दानी जुटाउने माध्यमका रूपमा प्रयोग गरेको दाबी गरिएको छ। रिपोर्टअनुसार सन् २०२५ मा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूहहरूले करिब २० हजार करोड रुपैयाँ बराबरको क्रिप्टो सम्पत्ति चोरी गरेका छन्। यसमध्ये सबैभन्दा ठूलो घटना फेब्रुअरी २१ मा भएको बताइएको छ, जब ‘लाजारस’ समूहले बाइबिट एक्सचेन्जबाट करिब १४ हजार ३१० करोड रुपैयाँ बराबरको क्रिप्टो चोरी गरेको दाबी गरिएको छ।

एफबीआईले उक्त घटनालाई ‘ट्रेडरेटर’ नेटवर्कसँग जोडेको जनाएको छ। चेनालिसिसको रिपोर्टअनुसार सन् २०१६ यता उत्तर कोरियासँग सम्बन्धित समूहहरूले २६३ वटा घटनामार्फत ६.७५ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। उक्त रकम मिसाइल कार्यक्रम र सैन्य सामग्री खरिदमा प्रयोग गरिएको दाबी गरिएको छ।

इरानको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज ‘नोबिटेक्स’ ले देशको करिब ७० प्रतिशत डिजिटल मुद्रा कारोबार सम्हाल्ने र यसका करिब १ करोड १० लाख प्रयोगकर्ता रहेको रिपोर्टमा उल्लेख छ। उक्त एक्सचेन्जको सम्बन्ध इरानका सर्वोच्च नेताको परिवारसँग रहेको दाबी पनि गरिएको छ।

यसैबीच, चीनसँग सम्बन्धित केही मनी लन्डरिङ नेटवर्कहरूले क्रिप्टोकरेन्सी प्रयोग गरेर ठूलो मात्रामा रकम सफा गर्ने काम गरिरहेको चेनालिसिसको दाबी छ। रिपोर्टअनुसार यस्ता नेटवर्कहरूले ‘लन्डरिङ-एज-अ-सर्भिस’ मोडलमार्फत दैनिक करिब ४,२०० करोड रुपैयाँ बराबरको कालोधनलाई वैध बनाइरहेका छन्।

सन् २०२५ मा यस्ता नेटवर्कमार्फत करिब १।५४ लाख करोड रुपैयाँ बराबरको रकम प्रशोधन भएको उल्लेख गरिएको छ। यी नेटवर्कहरूले प्रतिबन्धित देशका भुक्तानी तथा अन्य अवैध गतिविधिसँग सम्बन्धित रकमसमेत व्यवस्थापन गर्ने गरेको रिपोर्टमा जनाइएको छ।

रिपोर्टमा क्रिप्टो र प्रविधि कम्पनीहरूमा नक्कली पहिचान प्रयोग गरेर रोजगारी लिने गतिविधिको पनि उल्लेख गरिएको छ। चीन, उत्तर कोरिया र इरानसँग सम्बन्धित व्यक्तिहरूले नक्कली कागजात, एआईबाट तयार गरिएका सामग्री र डीपफेक अन्तर्वार्ताको प्रयोग गरी ४० देशका क्रिप्टो तथा प्रविधि कम्पनीहरूमा रिमोट जागिर पाएको दाबी गरिएको छ।

पछिल्ला दुई वर्षमा यस्तो नेटवर्कमार्फत करिब २६ हजार ७०० करोड रुपैयाँ बराबरको रकम संकलन गरिएको रिपोर्टमा उल्लेख छ। कतिपय अवस्थामा स्थानीय सहयोगीमार्फत कम्पनी सञ्चालन गरी कर्मचारी सम्बन्धित देशमै काम गरिरहेको देखाउने प्रयास गरिएको पनि रिपोर्टमा जनाइएको छ।

थप समाचार