Below Menu
Below Menu

सहकारी बैंकको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक

सहकारी बैंकको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अघि पुस ११ गते पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैंकको वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले जानकारी दिए । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।

तालिका अनुसार पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका सङ्कलन/सङ्ग्रह, र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण-पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।

साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य (कम्तीमा ३ महिला सहित) ७ जना, प्रत्येक प्रदेशबाट एक/एक जना सञ्चालक सदस्य (कम्तीमा २ महिला सहित) ७ जना गरी १५ जना सञ्चालक समिति र संयोजक सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति (कम्तीमा एक जना महिला) अनिवार्य चयन हुनेछन् ।

साधारणभामा २०७९ मंसिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए ।

Advertisment

थप समाचार