Side Logo
Below Menu

लोपोन्मुख समुदायबाट उदाएकी ‘सन्तोषी वनकरिया’    

लोपोन्मुख समुदायबाट उदाएकी ‘सन्तोषी वनकरिया’    

मकवानपुरको मनहरी गाउँपालिका-४, मुसेधापमा एउटा बस्ती भेटिन्छ । जहाँ लोपोन्मुख समुदाय वनकरियाको बसोबास छ । वनकरिया नेपालको सबैभन्दा कम जनसंख्या भएको समुदाय हो । मुसेधापमा जम्मा २१ घर छन्, यी घरहरुमा ९२ जना बस्छन् ।

वनकरियाहरुले जंगलको जीवनशैली त्यागेर समुदायमा बस्न थालेको धेरै भएको छैन । दुई दशकअघिसम्म उनीहरु हेटौँडाको चुरे जंगलमा बसोबास गर्थे । तर, अहिले उनीहरु मुसेधापमा बस्छन् । त्यो पनि आफ्नो होइन, कबुलियत वनको जग्गा हो ।

फिरन्ते जीवनशैली त्यागेर एकै स्थानमा बसोबास शुरु गरेको यस समुदायबाट उदाएकी एक उदाहरणीय पात्र हुन्, ‘सन्तोषी वनकरिया’ । वनकरिया समुदायमा जन्मिएर पनि उनले हासिल गरेको सफलता आममानिसको लागि सामान्य भएपनि यो समुदायको लागि अकल्पनीय हो, उदाहरणीय हो ।

सन्तोषी वनकरिया २०५२ कात्तिक ९ गते मकवानपुरको डुम्रे डाँडामा जन्मिएका हुन् । बुबा सानु सोमलाल र आमा माया वनकरियाकी माइली छोरी हुन्, उनी । उनको पनि बाल्यकाल आमा बुबासँग जंगलमै बित्यो । जंगलमा बुबा आमासँग गिढ्ढा भ्याकुर खाएर नै उनी हुर्किइन ।

‘पर्सा राष्ट्रिय निकुञ्ज नजिकैको डुम्रे डाँडामै बस्थ्यौँ । पारिवारिक अवस्था धेरै नै नाजुक थियो । परिवारमा आठ जना थियौँ’, त्यसबेलाको क्षण सम्झदै उनी अगाडी भन्छिन्, ‘२०६२ सालदेखि मकवानपुरको मनहरि गाउँपालिका वडा नं ४ मा बस्न थाल्यो । समदायमा बस्न थालेपछि खानका लागि जंगलमा चाहर्नु परेन । घरमा बस्न पाउने भयौं, काम गर्न सिक्यौं । समुदायमा अरु मान्छेहरु पनि देख्न पायौं ।’

जंगल त्यागेर मुसेधाप आउँदा उनलाई पढ्नुपर्छ भन्ने ख्याल थिएन । मुसेधाप आएपछि उनलाई मानिसहरुसँग घुलमिल हुन नै समस्या थियो । पढाई सोच्ने त टाढाको कुरा भयो ।

‘जंगल छाडेर समुदायमा बस्दा शुरुमा असज नै हुन्थ्यो । घुलमिल हुन नै गाहे थियो । अरुले नै हामीलाई सबै कुरा सिकाउनु हुन्थ्यो । त्यसपछि विस्तारै सबैसँग घुलमिल हुन थालियो । पढ्नु पर्छ भन्ने लाग्यो । पढियो, विभिन्न सिप र तालिमहरु पनि सिकियो’, उनी भन्छिन् ।

मुसेधाप आएको एक वर्षपछि अर्थात २०६३ सालमा उनी स्कुल जान थालिन् । २०७३ सालमा एसएलसी पास गरिन् । त्यसपछि उनले कक्षा १२ सरहको बाली विज्ञान (जेटिए) उत्तीर्ण गरिन् । जेटीए उत्तीर्ण गर्ने वनकरिया समुदायको उनी पहिलो महिला पनि हुन् ।

‘जंगलको जीवन छाडेर बस्तीमा बस्न थालेपछि सबैजना पढ्न जान थालेको देखियो । म पनि ९ वर्षको थिए । वरिपरिको मान्छे पढ्न गएको देखेर आफू पनि बुझ्ने भए । पढ्नु पर्ने रहेछ भन्ने भयो । अनि स्कुल जान थाले । ९ वर्षको उमेरदेखि स्कुल गए’, उनले सुनाइन् ।

उनी कक्षाकोठामा त्यति अरुसँग बोल्दिन थिइन । मध्यम नै थियो उनको पढाई । फेल पनि नहुने अनि राम्रो नतिजा पनि नआउने किसिमको पढाइ रहेको उनी सुनाउँछिन् । कलेज पढ्ने भएपछि भने उनी साथीहरुसँग विस्तारै घुलमिल हुने थालिन् । धेरैसँग बोल्न थालिन् ।

उनी हाँस्दै भन्छिन्, ‘चार÷पाँच कक्षासम्म त साथीहरुसँग नबोलेर पढ्यौँ । सरमिसहरुसँग बोल्दै डर लाग्ने । उहाँहरुले ठूलो भएपछि के बन्छौं भनेर सोध्दा समाजसेवी बन्छु भन्ने गर्थे ।’ 

जेटीए भने उनले विभिन्न संस्थाको सहयोगमा निशुल्क पढेकी हुन् । जेटीए पढेकी उनले आफ्नो समुदायलाई जिविकोपार्जन गर्नका लागि खेती गर्न सिकाइन् । त्यससँगै उनले आफ्ना समुदायका बालबालिकाहरुलाई पनि पढाइन् ।

जागिरभन्दा व्यवसाय ठिक लागेपछि.. 

जेटीए पढेकी उनलाइ १०-४ को जागिर खान भने मन लागेन । ‘जागिर भन्दा व्यवसाय नै ठिक लाग्यो । व्यवसाय गरे भने आफ्नो दिदी बहिनीहरुसँग मिलेर काम गर्न पनि सहज हुने भयो । मसँगै उनीहरु पनि उद्यमी बन्ने भए । मेरो उद्योग छ भनेर काम गर्न पाइयो । त्यसैले  व्यवसाय तीर लागे’, उनले भनिन् ।  

जागिर भन्दा व्यवसाय गर्न ठिक त लाग्यो उनलाई । तर, व्यवसाय शुरु गर्न सहज भने थिएन, समस्याका चाङ थिए । न उनीहरुको नाममा जग्गा थियो । न त उद्योग शुरु गर्न पैसा नै । तर, पनि उनले आँट गरिन् । ‘हामी बसिरहेको जग्गा पनि आफ्नो नाममा छैन । ऋण लिन पनि समस्या थियो । उद्योग दर्ता गर्नका लागि मलाई धेरै गाह्रो भएको थियो । लगानी गर्न पैसा पनि नहुने’, सन्तोषीले भनिन् ।

जडिबुटीबाट नै साबुन बनाउँदा राम्रो हुन्छ भनेर अरुबाट सल्लाह पाएपछि उनले साबुन उद्योगबाट व्यवसायिक यात्रा शुरु गरिन् । अनि उनले तितेपातीबाट साबुन बनाउन शुरु गरिन् । अहिले उनी सफल साबुन उद्यमी बनेकी छिन् ।

उनले उद्योगको नाम पनि वनकरिया तथा चेपाङ महिला साबुन उद्योग राखेकी छिन् । वनपस्तिबाट बनेका जस्तै तितेपाती र चिउरीबाट उनले साबुन बनाउने गर्छिन । यो अग्र्यानिक साबुन रहेकाले यसमा कुनै पनि विषादी प्रयोग नगरिएको उनको दाबी छ ।

उनी भन्छिन्, ‘सामुदायिक वनमा पातहरु बगेर कुहिएर खेर जान्छ । डढेलो लाग्छ । डढेलो लाग्नु अघिनै पातहरु टिपेर साबुन बनायो भने डडेलो लाग्न पनि कम हुन्छ र खेर पनि जाँदैन । प्रयोगमा पनि आयो ।’ 

उनले नुहाँउने साबुन सानोमा ६० रुपैयाँ गोटा बेच्ने गरेकी छिन् ।  सरफहरु पनि बनाउने केमिकल पाउडर ल्याएर घरमै बनाउने गरेकी छिन् । उद्योग शुरु गर्दा उनीसँगै २५ जनाले तालिम लिएर आवश्यक सामानहरु ल्याएर २० देखि ५० हजार रुपैयाँसम्म लगानी गरेर उद्योग शुरु गरेको उनले जानकारी दिएकी छिन् । 

उनका अनुसार सामानहरु किनेको लागत कटाएर महिनामा ८ हजारसम्म नाफा हुने गरेको छ । ‘बजारमा हाम्रो सामानको प्रचार प्रसार नै कम छ । सामान्य परिवार धान्न सहयोग पुगेको छ । सामानको नाफा सबै जनाले बाँड्नुपर्ने भएकाले अहिले परिवार नै धान्न पुग्ने अवस्था छैन । बजारका लागि प्याकेजिङ भइरहेको छ । यसपछि बजारीकरणमा पनि सहज होला ।’

उद्योग वाणिज्य संघबाट उनलाई सहयोग मिलेको छ । स्थानीय तहहरुसँग पनि सहयोगको अपिल गरेका कारण सहयोग पाइन्छ की भन्ने उनमा आशा पनि रहेको छ । ग्रिन फाउण्डेसनबाट पनि फलोअप हुन्छ । शुरुमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चबाट तालिम लिएर आयुर्वेदिक साबुनहरु बनाउने गरेको उनी सुनाउँछिन् ।

उद्यमका लागि घरपरिवारको पनि राम्रो सहयोग रहेको छ । तर, महिला भएकै कारण व्यवसायमा गाह्रो हुने गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘महिलालाई काम गर्न सहज छैन । एक त गृहिणी महिला अर्को किसानी महिला त्यसबाट पनि घरबाट अनेक बाधाहरु तोडेर व्यवसायमा लाग्नुपर्यो गाहे छ । सबै काम भ्याएर अनि व्यवसायमा लाग्नुपर्छ प्रयास जारी छ ।’

परिन् प्रभावशाली ५० महिलाको सूचीमा 

उनी २०८० मा प्रभावशाली ५० महिलाको सूचीमा परेकी छिन् । घरपरिवारदेखि गाउँपालिका र अन्य व्यक्ति तथा संस्थाहरुले पनि प्रशंसा गर्दा उनमा अगाडी बढ्ने हौसला मिलेको छ । 

प्रभावशाली महिलाको सूचीमा थपिएपछि जिम्मेवारी बढको उनी बताउँछिन् । आफ्नो जिम्मामा आएको सबै कुराहरु गर्ने र थोरै गरिरहेको काममा भार थपिएको उनले अनुभव गरेकी छिन् ।  

‘हाम्रो समुदाय शिक्षामा कमजोर छ । शिक्षा क्षेत्रमा सुधार गरी उद्योग व्यवसायलाई पनि व्यापक रुपमा अघि बढाउने योजना छ । सबै जना उद्यमी भएर आफ्नो कारोबार आफै चलाउने सक्ने बनाउने मन छ’, उनले आफ्नो योजना सुनाइन् । 
 

Sponsored Advertisment

Advertisment

थप समाचार