- रुद्र मल्लाजी
सहकारी संस्थामा जम्मा भएको बचत रकम अपचलन गरेको आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र कास्कीका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली अन्तत: कानुनको दायरामा आएका छन् ।
पोखरामा शुरु गरेको सहकारीलाई बागलुङमा समेत दर्ता गरेर दुई ठाउँमा मुख्य कार्यालय र बागलुङकै गलकोट र बुर्तिबाङमा सेवा केन्द्रमार्फत हजारौं व्यक्तिसँग कारोबार गर्दै आएको सहकारी २०८० बैशाख ७ गते बागलुङ कार्यालय एक्कासी बन्द भएपछि सहकारी क्षेत्रमा भुईचालो नै आयो ।
बागलुङमा बढी रकम संकलन भएको र धेरै जना बचतकर्ता भएका कारण तथा बागलुङकै कार्यालय पहिलो पटक बन्द भएका कारण भुईचालोको केन्द्र विन्दु बागलुङ नै भयो ।
बागलुङ बजारका अधिकांश मान्छेले इमेज सहकारीमा बचत गरेका रहेछन् । आफैले अर्को सहकारी सञ्चालन गरेको छ, त्यो सहकारीको प्रमुख तथा पदाधिकारी छ, उसले पनि इमेजमा लगेर करोडौं रकम राखेको छ । राज्यका महत्वपूर्ण निकायमा रहेका, समाजमा प्रतिष्ठित भएका लगायत आम सर्वसाधारणले ठुलैै रकम जम्मा गरेका रहेछन् ।
देव कुमार नेपालीले कसरी संस्था चलाएका थिए, के-के गरेका रहेछन्, कसरी मान्छेहरुलाई प्रभावित बनाएछन्, सबै कुरा धेरैले बुझि नै सकेका छन् । उनले सहकारीलाई निजी सम्पत्ती आर्जन गर्ने एउटा महत्वपूर्ण माध्यम बनाएका रहेछन्, राजनीति गर्ने एउटा आधार सहकारीलाई बनाएका रहेछन्, कुरा छर्लङ्ग छ ।
देव कुमारले गलत तरिकाले सहकारी सञ्चालन नगरेको भए, भाग्नु पर्ने थिएन, देव कुमारलाई जस्तै तरलताको समस्या अरु धेरै सहकारीहरुलाई पनि आएको थियो । उनीहरु भागेनन्, बरु सदस्यहरुलाई बचतकर्ताहरुलाई भने, नआत्तिनुस्, तपाईको पैसा पाउनु हुन्छ, हामीले जो हो गर्दैछौं ।
बचतकर्ताले अहिलेसम्म पनि थामिदिएका छन् । सहकारी चलाएको भए त सदस्यहरु हुन्छन्, सदस्यहरुले सहकारी थामिदिन्छन्, देव कुमारले सहकारी होइन, निजी कम्पनी चलाएका रहेछन्, कम्पनीमा सदस्य हुँदैनन्, ग्राहक हुन्छन्, ग्राहकले उनलाई दबाब दिए, उनले आफ्नो घर जग्गाको रवाफ देखाए, ग्राहकले मानेनन्, भएको यत्ति हो ।
देव कुमारले के के गरे, किन गरे ति विषयमा यहाँ उल्लेख गर्न खोजिएको छैन । देव कुमार भागेपछि अर्थात् उनी सम्पर्क विहिन भएपछि धेरै मान्छेले धेरै कोणबाट आरोप प्रत्यारोप, आलोचना, समालोचना, विचार विश्लेषण गरेको पाइयो ।
इमेजमा पैसा फसाएकाहरुको एउटा पीडा छदै थियो, पैसा नराखेका स्वतन्त्र न्यायाधीशहरुको अर्को बिलौना देखिन्थ्यो । सहकारी बुझेकाहरुका एकाथरी कुरा थिए, सहकारी नबुझेकाहरुका अर्काथरी कुरा थिए ।
देव कुमारको सहकारी बिग्रेपछि मेरो सहकारी सप्रन्छ भन्ने सहकारीकर्मीहरु पनि भेटिए, अभियान जोगाउनु पर्छ, एउटा बिग्रदा सबैलाई असर गर्छ, हामी सिसाको घरमा बसेका छौं, तल सडकमा हिड्ने जुलुशलाई ढुंगा हान्नु हुँदैन भन्नेहरु पनि देखिए, यस्ता बकम्फुसे कुरा गर्ने अभियन्ता पनि छन् भनेर अभियानकर्मीहरुलाई नै गाली गर्नेहरु पनि देखिए ।
पीडितको पीडा एकातिर छ, सहकारीबाट ऋण लगेर नतिरेका खराब ऋणीहरुको कोकोहोलो अझै उच्चस्तरको देखियो । इमेज मात्रै होइन अन्य सहकारीमा पनि ऋण लगेर नतिरेका, विभिन्न बहाना गरेर ऋण तिर्न नपरे हुन्थ्यो भन्दै झैझगडा गर्दै हिडेकाहरुलाई त इमेज एउटा जिवनवुटी भएको थियो ।
देव कुमारले दुनियाँको पैसा खाएर भाग्न हुने, हामीले ऋण किन तिर्ने? भन्दै सहकारीका सञ्चालक र कर्मचारीलाई थर्काउनेहरुको पनि कमी देखिएन । त्यति मात्रै हो र ? सहकारीको ऋण तिर भन्दै जाने सञ्चालक र कर्मचारीलाई इमेजमा पैसा फस्यो, त्यही भएर तिर्न सकिन, इमेजले जहिले दिन्छ, त्यहिले ऋण तिर्छु भन्नेहरु पनि देखिए, जसको इमेजमा एक पैसा पनि थिएन ।
एउटाले समस्या ल्यायो भने दुनियाँलाई एउटै भन्दै आफुले लिएको ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरु पनि धेरै नै भेटिए ।
देव कुमार नेपाली पछिल्लो एक दशक बागलुङ, पोखराका लागि एउटा सेलिब्रेटी थिए । खेलकूद, सांगितिक कार्यक्रम लगायत केही कार्यक्रम राख्यो कि ? देव कुमारलाई नसम्झने मान्छे धेरै कम थिए ।
चन्दा, सहयोग लगायतको थुप्रै साथ र सहयोग देव कुमारको पार्टी लगायत सबै पार्टीका नेता कार्यकर्ता, सामाजिक अगुवा, राज्य सञ्चालनको जिम्मेवारीमा रहेका सरकारी कर्मचारीदेखि समाजका अगुवा ठानिने अधिकांशले लिएको चर्चा हुने गरेको थियो । हिजो देव कुमारको साख्खे भएर घर बनाएकाहरु आज देव कुमारले दुःख दियो भन्दै रोइलो गर्दै हिडेको पनि देखियो ।
यो १७ महिनामा के देखिएन । साँच्चिकै विशेष गरी बागलुङमा इमेज र देव कुमारलाई देखाएर उम्कने, उम्काउने, धम्काउने, थर्काउने, घुर्काउने धेरै खेल भए । सहकारीको ऋण तिर्न परे पनि देव कुमार, सहकारीबाट बचत झिक्न पनि देव कुमार, चोकको चिया पसलमा पनि देव कुमार जहाँ तही देव कुमारलाई नै देखाइयो ?
देव कुमार मैदानमा हुँदा धेरैले आशा भरोसा गरेका थिए, जब उनी सम्पर्क विहिन भए, पीडितहरु न्यायका लागि दौडे, पीडितहरुलाई देखाएर रोटी सेकाउनेहरुले उनीहरुले भन्दा बढी डंका पिटे । साँच्चिकै देव कुमारले बागलुङ बजार सर्लक्क थुतेर लगेका छन् जसरी कुरा, चर्चा परिचर्चा भयो ।
देव कुमार पछिल्लो १७ महिना साच्चिै देव नै भए । देव भनेको राम्रो मात्र नहुँदो रहेछ । नराम्रो कुरामा उनको यति धेरै चर्चा भयो नि, समस्यामा परेका मात्रै होइन समस्याबाट उम्मन खोज्नेहरु, राजनीतिको रोटी सेकाउनेहरु सबैले देव कुमारलाई देखाउने पात्र बनाए ।
एउटाले गल्ती गरेर जान्छ, यहाँ अर्कोलाई दोषी देखाउने प्रपञ्च निकै भए । कहिले अभियानलाई गाली गरियो । सबै ठग हुन् । कुहेका छन् । खस्न मात्रै बाँकी छ भन्न भ्याए । त्यो पनि सामान्य मान्छेले होइन, मुलुक हाक्छु भनेर लागेकाहरुबाटै त्यस्ता कुरा आए ।
कतिले प्रहरी प्रशासनलाई सरापे । कतिले नियमनकारी निकायलाई दोषी देखाए । कतिले सहकारी बैंकले किन ऋण दिएको भनेर उसलाई नै दोषी देखाए । दोषी को हो, किन हो? धेरै चर्चा गर्न सकिन्छ । तर कतिले त बचतकर्तालाई पनि दोषी देखाए ।
बचतकर्ताको हक अधिकारका लागि लड्न बनेको संघर्ष समितिलाई त झन कमिशनमा लागेको आरोप नै लगाए । देव कुमार नेपालीले संसदीय छानविन समितिलाई पठाएको पत्रमा उल्लेख नै नभएको संघर्ष समितिलाई छानविन गर्नु पर्छ भन्ने कुरा थप गरेर समाचार नै बाहिरियो ।
यसर्थ यो १७ महिनामा जे जति भए, कति स्वभाविक थिए, कति अस्वभाविक थिए, कति छलफल हुनै पर्ने थिए, कति छलफल नगर्दा पनि हुने थिए ।
समस्या आएपछि छलफल हुन्छ र चर्चा परिचर्चा हुन्छ । त्यो स्वभाविक नै हो । एउटा कुरा चाही सत्य के हो भने देव कुमारको सहकारीमा समस्या नआउँदा पनि उनी नै चर्चामा थिए, बचतकर्ताहरुले सहकारी होस् त देव कुमारको जस्तो भन्थे ? अझै देव कुमारको पो सम्पत्ती छ र ? सहकारी चलाउने, अरुको के छ र ? सहकारी चलाउने भन्ने ठालुहरु पनि बजारमा यत्रतत्र देखिन्थे । जब उनले तरलता नभएको भन्दै सहकारी बन्द गरे त्यसपछिको १७ महिना पनि उनै चर्चामा छन्, देव कुमारले आफ्नो सम्पत्ती बेचेर बचत फिर्ता गर्छु भनेका छन्, उनको हो मा हो मिलाउनेहरु धेरै छन् ।
देव कुमार आउँदैनन्, तिब्बत तिर लुक्छन्, उनी फर्कने कुनै संभावना नै छैन भन्ने ठालुहरुको मुखमा अब पिडालु राख्नु पर्ने भएको छ । उनी फर्के त ? मैले यहाँ उल्लेख गर्न खोजेको मुख्य विषय देव कुमारका बारेमा नाना नौरंग अड्कल काटेर, अरुलाई दोषी देखाएर, अरुलाई खराब भनेर गरिएको सबै अड्कलवाजीहरुको जवाफ त आखिरमा देव कुमार नै हुन होइन र ?
त्यसैले अब खुला छलफल चलाउ । सहकारीमा बचत जम्मा गरेका सबैको पैसा देव कुमार नेपाली र उनको टिमले भुक्तान गर्नुपर्छ । यसमा कुनै सहमति, सम्झौता हुनु हुँदैन । पीडितलाई न्याय दिनु पर्छ । त्यसका लागि राज्यले पक्कै उचित व्यवस्था गर्नेछ । गरेन भने खबरदारी गर्नुपर्छ । यो विषयमा पीडितहरु सचेत हुन जरुरी छ । देव कुमारले सहकारी बन्द गर्दा सबै सहकारी बन्द गराउँछौं भन्दै कुर्लदै हिड्ने पीडितहरुले पनि अब समस्याको समाधान देव कुमारबाटै खोज्न जरुरी छ ।
उनले गरेको गल्तीको दोष अरुलाई थुपारेर हुँदैन । नियमन भएन होला, राज्यले ध्यान दिएन होला, अभियानले खेद्न सकेन होला । के त्यसो भनेर आफुले चलाएको सहकारीमा मनपरी गर्न पाइन्छ? अरुलाई दोष लगाएर हुँदैन । सहकारीका सञ्चालकहरु नै यो विषयमा संवेदनशिल बन्नु पर्छ । बचतकर्ताको बचत फिर्ता गर्ने काम सञ्चालकहरुको हो । इमेजको मात्रै कुरा होइन, सबै सहकारीमा सदस्यले जम्मा गरेको बचत फिर्ता गर्ने दायित्व सञ्चालकहरुको हो । अपचलन गरेको वा अरु कुनै कारणले समस्या आयो भने सञ्चालकहरुले दामासाहीले बचत फिर्ता गर्नुपर्छ ।
देव कुमार आएपछि केही व्यक्तिहरु असाध्यै दुःखी भएको पनि चर्चा छ । कति त देव कुमार वा उनको सहकारीबाट ऋण लिएका पनि होलान्, कति अरु सहकारीबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरु होलान् । अझै कति चुनाव, महाधिवेशन, मेला, महोत्सवका नाममा देव कुमारबाट सहयोग लिने र सम्बन्धित ठाउँमा आएको रकम मध्ये आधा भन्दा पनि कम देखाउनेहरु पनि छन् भन्ने सुनिन्छ ।
देव कुमार नेपाली यतिबेला आफ्नो जीवनको सबै भन्दा बढी पिडामा हुनु पर्छ, उनलाई यो अवस्थामा पुराउन उनकै बुद्धिले धेरै काम गरेको होला वा अरु कसैले साथ सहयोग र आड भरोसा दिएर पनि त होला ?
जे जसरी उनी यो अवस्थामा आएका हुन्, उनी अप्ठेरोमा परेको समयमा उनले हिजो उनको आड लागेर स्वाद लिएका बहादुरहरुको बारेमा पनि त पक्कै चर्चा होला नि ?
सापट दिएको पैसा माग्न आयो, सहकारीले ऋण भुक्तान गर्न भन्यो देव कुमार भागेर हुने, मैले तिर्न पर्ने भन्नेहरु, इमेजमा एक पैसा पनि नराख्ने तर इमेजमा लाखौं फसेको छ भनेर भावुक हुने ठगमाराहरु सबैको पनि त पर्दा खुल्दै जाला नि ? होइन र ?
Sponsored Advertisment
Advertisment