Below Menu
Below Menu

बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल

बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल

रिता पाठकले जीवनमा यति उचाइको सफलता चुम्ने कुरा कहिल्यै सोचेकी थिइनन् । सिटिजन लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरसँगै कर्पोरेट सेल्स हेड रिताले यहाँसम्मको यात्रामा निकै लामो संघर्ष र मिहिनेत गरेकी छन् ।  

बीमा कम्पनीहरूको नेतृत्व तहमा कमै मात्र महिला पुगेका छन् । पाठकले बीमा क्षेत्रमा काम थाल्दा त त झन् महिलाहरू घरबाहिर निस्किएर काम गर्नु अनौठो मानिन्थ्यो । अझ भनौँ, महिलाले सार्वजनिक पद सम्हाल्ने चलन नै थिएन । 

‘मैलै काम थाल्दा महिलाहरू बाहिर निस्केर काम गर्ने चलन थिएन । सम्पन्न परिवारमा मेरो विवाह भएको थियो । तर पनि काम गर्ने रहर साँचेकी थिएँ । सम्पन्न, पढेलेखेको घर भए पनि बुहारीहरु काममा निस्किने चलन थिएन’, उनले सुनाइनन्, ‘गजुरेल परिवारबाट बाहिर निस्केर काम गर्ने पहिलो बुहारी मै थिएँ । पढेलेखेका भए पनि अरु सार्वजनिक पद सम्हालेर काम गर्दैन थिए । बाहिर काम गर्न पनि सजिलो थिएन । श्रीमान् समझदार भएकाले मलाई काममा निस्किन सजिलो भयो ।’

श्रीमानले उनको क्षमता देखेर काम गर्न प्रोत्साहन गरिहन्थे । श्रीमान्कै साथ र हौसलाले बाहिर निस्किएर काम गर्न पाइन् । घरबाहिर निस्किने त्यही आँट र श्रीमान्को साथले उनी अहिले सफलताको उचाइमा छिन् । 

‘त्यतिबेला गृहिणी महिलालाई घरबाहिर निस्केर काम गर्न गाह्रो थियो । अनगिन्ती चुनौतीसँग जुध्न तयार हुनुपथ्र्यो । श्रीमानको साथले नै यहाँसम्म आइपुगेँ’, उनले सुनाइन् । 

हिजोको समयभन्दा अहिले महिलालाई बीमा क्षेत्रमा काम गर्न धेरै सहज रहेको उनको अनुभव छ । ‘पहिले धेरै संघर्ष गर्नु पथ्र्यो, चुनौती पनि अनेक हुन्थे’, उनले सुनाइन्, ‘बाहिर निस्किँदा पनि कहाँ हिँडेको, किन निस्केको ? भन्ने प्रश्नसँग जुध्नुपथ्र्यो । महिलाले पनि बीमा गराउँछन् भन्ने आक्षेप लाग्थे । अहिले बीमा कम्पनीका माथिल्लो तहमा धेरै महिला छन् ।’

उनको बुझाइमा अहिले त घर सम्हालेर, परिवार र बच्चालाई समय दिएर पनि महिलाले बीमामा काम गर्न सक्छन् । ‘अहिलेका महिलालाई धेरै सहज छ । आफ्ना लागि कमाउन सक्छन्’, उनी भन्छिन्, ‘आफ्नो आम्दानीले परिवारलाई पनि सहयोग हुन्छ । घरपरिवार चलाउन अझै सहज हुने गरेको छ ।’

महिलाले आफैँ कमाएर आफ्नो खुट्टामा उभिनुपर्ने कुरामा विश्वास गर्थिन् । आफ्नो नाम आफैँ बनाउनु पर्छ भन्ने कुराले नै उनको अलग पहिचान बनाइदियो । ‘आफ्नो नाममै चिनिनुपर्छ भन्ने लाग्छ । बच्चा र बाबुआमाको नामबाट परिचय बन्यो । श्रीमानको नामबाट अरुले चिने । सन्तानले राम्रो गरे उनीहरूको नामले समाजले चिने । हामीले आफ्नै कामले कहिले चिनाउने ?’, उनको प्रश्न छ । 

रहर बैंकिङ, रोजिन् बीमा

उनले २०६१ सालमा बीमा क्षेत्रको करिअर थालेकी थिइन् । त्यसबेला बैंक र बीमा क्षेत्र महिलाका लागि राम्रो मानिन्थ्यो । बैंकमा जागिर खाने रहर थियो । तर, बैंकमा साँझसम्म बस्नुपर्ने भएकाले बालबच्च हेर्न गाह्रो थियो । त्यहीकारण उनी बीमामा गइनन् । बीमा धेरै सहज देखिएपछि त्यतै लागिन् ।

‘बीमामा कहिलेकाहीँ अबेरसम्म बस्नुपर्छ । मार्केटिङ पढेकाले पनि बीमा सहज हुने भएपछि त्यही रोजेँ ।  त्यसबेला मेट लाइफ इन्स्योरेन्समा अभिकर्ताको काम थालेँ । लामो समयमा मेट लाइफमा बिताएर म्यानेजर तहसम्म पुगेँ’, उनले करिअर थाल्दाका दिन सम्झिँदै भनिन् ।  

सानैदेखि अब्बल

उनले सरकारी स्कुलबाटै आधारभूत तह पूरा गरिन् । स्कुलमा पनि असल  विद्यार्थीमा गनिन्थिन् । त्यसबेला एसएलसी गर्ने विद्यार्थी थोरै थिए । १६० जना विद्यार्थीमध्ये पास हुने चारजनामा उनी पनि थिइन् । 

चितवनको रत्ननगर नगरपालिकास्थित टाँडीमा जन्मिएकी उनले स्नातक तह त्यहीँ पूरा गरिन् । स्नात्तकोत्तर भने काठमाडौंमा पढिन् । त्यसबेला निजी स्कुल थिएनन् ।

‘त्यसबेला पूर्वी चितवनमा कलेज थिएन । हजुरबुवाहरू मिलेर कलेज खोल्नु भएको थियो । काठमाडौं आएर पढ्न सक्ने अवस्था थियो । तर हजुरबुवाले खोलेको कलेजमा चितवन बसेर पढेँ’, उनले भनिन् ।

पढाईबाहेक उनी अतिरिक्त क्रियाकलापमा पनि सक्रिय थिइन् । भलिबल एकदमै मन पथ्र्यो । ब्याडमिन्टन र साइक्लिङमा पनि रुची राख्थिन् । उनी अचार बनाउन पनि शौखिन थिइन् । आफैँ अचार बनाएर विदेशमा रहेका आफन्तलाई कोसेली पठाउने गर्थिन् । 

‘अतिरिक्त क्रियाकलापमा धेरै भाग लिन्थेँ । एसएलसी दिएको समयमा सिलाई बुनाई सिकेर डिप्लोमा गरेँ । लुगामा पेन्टिङ, स्वेटर, मोजा, टोपी लगायत बुन्ने गर्थेँ’, उनले विगत स्मरण गरिन् ।

सुत्केरी भएका बेला अरु सुतेपछि उनी स्वेटर बुन्ने गर्थिन् । बिहान ममी उठ्दा छोराको स्वेटर, टोपी, पञ्जा, मोजा बुनेर भ्याइसक्थिन् । खाली हात बस्न मन लाग्दैन थियो । केही न केही सिर्जनात्मक र उत्पादनमूलक काम गरिरहन्थिन् उनी ।

‘म सानैदेखि ड्राइभिङ गर्थेँ । बुवा घरमा नहुँदा उहाँको बाइक लिएर हिँड्थे । जोखिमयुक्त काम गर्न मन पराउने म’, उनले सुनाइन्,  ‘बच्चैदेखि जोखिम हुने काममा हात हाल्थेँ । बीमामा सफल भएको पनि जोखिम मोल्ने त्यही बानीले होला ।’ 

ठूलो परिवारमा हुर्किएकोले धेरै बाहिर जान नपाउने गरेको उनले सुनाइन् । ‘घरमा धेरै बच्चा भएकाले बाहिरका मान्छेले पनि होस्टेल हो भनेर सोध्थे । हामी घरमा १८ जना थियौँ’, उनले भनिन्, ‘उमेर पनि सबैको उस्तै उस्तै, खासै अन्तर थिएन । म जेठी छोरी, मभन्दा जेठो दाजु हुनुहुन्थ्यो । उहाँ पाइलट । तर, हवाई दुर्घटनामा बित्नु भयो ।’  

प्लस टु पढ्दा पढ्दै गर्दा काठमाडौंमा विवाह भयो । स्नातक निरन्तर पढ्न पाइनन् । कहिलेकाहीँ माइती गएको बेला कलेज जान्थिन् । तर धेरै घरमै पढेर पास गरिन् । स्नात्तकोत्तर तहमा उनले एमबीए पढिन् । उनले एमबीए भने कामसँगै पढिन् । नियमित कलेज जान पाइनन् । 

जागिरको हुटहुटी

सानैदेखि नै केही गर्नुपर्छ, जागिर खानुपर्छ भन्ने सोच बोकेकी थिइन् । सम्पन्न परिवारकी उनी आफ्नो लागि आफैँ कमाउनुपर्ने सोचसहित हुर्किइन् । ‘विवाह पनि सम्पन्न परिवारमै भयो । श्रीमान् सरकारी सिनियर इन्जिनियर हुनुहुन्थ्यो । केही समय श्रीमानसँगै विभिन्न जिल्ला पुगेँ । दुई छोरा जन्मिए । बच्चा भएपछि जिम्मेवारी बढ्यो’, उनले भनिन्, ‘त्यसबेला जागिरभन्दा बच्चालाई समय दिनुपर्छ भन्ने लाग्यो । बच्चालाई आफैँले स्याहार गरेर हुर्काएँ । त्यसपछि बल्ल काम थालेँ ।’

जागिर सुरु गर्न उनले परिवारमा पनि धेरै संघर्ष गर्नुपरेको थियो । ‘बीमा क्षेत्रको काम मार्केटिङबाटै सुरु गरेँ । हरेक लाइफ इन्स्योरेन्समा टार्गेटसहित काम गर्नुपर्छ । कार्यालयले मलाई कर्पोरेट हेडको जिम्मेवारी दिएको छ’, उनले सुनाइन्, ‘अहिले सहकारी, माइक्रो फाइनान्स, बैंक, ग्रुप इन्स्योरेन्स र वैदेशिक रोजगार बीमा सबै हेर्छु । कम्पनीले विश्वास गरेर यी जिम्मेवारी दिएको छ ।’

लाइफ इन्स्योरेन्सतर्फ सिनियर पोष्टमा सीमित महिला छन् । ‘काम गर्दै जाँदा इन्स्योरन्स मार्केटले हेर्ने नजर पनि अर्कै हुने रहेछ, खुशी लाग्छ’, उनी थप्छिन्, ‘कामका आधारमा बजारले मूल्यांकन गर्ने रहेछ । अहिले पनि धेरै कम्पनीबाट अफर आउँछ । कामका लागि मसँग जोश, जाँगर उस्तै र उत्तिकै छ ।’

सहकारीमा पनि

उनले सन् १९९८ तिर आफ्ना छिमेक र आसपासका महिला समेटेर सहकारी सुरु गरिन् । ‘बच्चाहरू स्कुल पठाएपछि दिउँसो स्वयम्सेवीको रुपमा झण्डै एक वर्षसम्म काम गरेँ’, उनले भनिन्, ‘महिलालाई सीपमुलक तालिम दिएँ । विस्तारै अन्य सहकारीमा पनि जोडिँदै गएँ । अहिले पनि सहकारीमा जोडिएर काम गरिरहेकी छु ।’

नेपालका थुप्रै सहकारको तालिम उनले लिएकी छन् । उनलाई सहकारी क्षेत्र राम्रो लाग्छ, मन पर्छ । अहिले केही सहकारीले बदमासी गरेकाले समग्र सहकारी क्षेत्रको बदनाम हुँदा उनलाई चिन्ता लागेको छ । 

‘सहकारीका मूल्य-मान्यता र सिद्धान्त धेरै राम्रा छन् । तर, यसलाई चलाउने ड्राइभर राम्रो नहुँदा केही सहकारी बिग्रिए । समग्र सहकारीलाई नराम्रो भन्नुपर्ने स्थिति आयो’, उनले चित्त दुखाउँदै भनिन्, ‘सहकारी अभियानको सुरुवातदेखि नै बोर्डमा आवद्ध छु । सहकारीमा समस्या आउनुमा नियामक निकायको कमजोरी छ । यसलाई सुधार्नुपर्छ ।’ 

प्राथमिकतामा महिला

उनी महिलालाई धेरै प्राथमिकता दिएर काम गर्छिन् । अहिले बीमा क्षेत्रमा काम गर्ने वातावरण सहज बनेकाले पनि उनी अरुलाई प्रोत्साहित गरिरहेकी हुन्छिन् । 

‘त्यसबेला र अहिले धेरै फरक छ अवस्था । कामको प्रकृति नै फरक छ । सुरूमा हामीले बीमा गराउनुभन्दा के हो भनेर सबै बुझाउनु, पढाउनु पथ्र्यो’, उनले भनिन्, ‘बीमा भनेको बैंक, सहकारी र नेटवर्किङ के हो ? भनेर सोध्थे, बुझाउनै मुस्किल हुन्थ्यो ।’ 

त्यसबेला एकजनाको बीमा गराउन तीन दिनसम्म पढाउनु, बुझाउनु पथ्र्याे । ‘बीमाबारे उहाँहरूलाई बुझाउन गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘अहिले त आर्थिक अवस्था मात्रै हेर्ने हो । बीमाबारे सोध्ने चलन गइसक्यो । बीमाले पनि बचतलाई ‘रिस्क कभर’ कसरी गर्ने भनेर बुझाए हुन्छ । अहिले बीमाबारेको धारणा नै फेरिएको छ ।’ 

उसबेला बीमा गराउँदा महिला भएकाले विश्वास नगर्ने, फरक नजरले हेर्ने गरेको अनुभव उनीसँग छ । तर, अहिले त्यस्तो परिस्थिति हटिसकेको उनले सुनाइन् । 

‘यो क्षेत्रमा जोडिएकोमा कहिल्यै पछुतो लागेन । पारिवारिक कुराले कहिलेकाहीँ गाह्रो बनाउँछ । बीमा मेरो रोजाईको विषय भएर पनि होला,  यो क्षेत्रमा धेरै अवसर देख्छु’, उनले भनिन्, ‘बीमाबाट करिअर सुरु गर्न सानो पदबाट छिर्नुभएको भए धेरै अवसर छ । तपाईसँगको क्षमताअनुसार काम गरेर देखाउन सक्नुभयो भन्ने सफल नहुने कुरै छैन ।’

उनी कार्यरत सिटिजन लाइफ अहिले आठ वर्षको भएको छ ।  प्रवेश कम्पनीको सरुवातदेखि नै उनी जोडिएकी हुन् । यो कम्पनीभन्दा अगाडिका कम्पनीलाई उछिने चौथो वर्षदेखि दोस्रो स्थानमा ल्याउन सफल भएको उनी बताउँछिन् ।

‘२० वर्षअघिका कम्पनीसँग प्रतिस्पर्धा गर्दै दोस्रो पोजिसनमा ल्याउन ठूलो चूनौैती थियो । नयाँ कम्पनीलाई बजारमा चिनाउने अर्को चुनौती थियो’, उनले अनुभव बाँडिन्, ‘यो कम्पनीलाई दोस्रो स्थानसम्म ल्याउन र त्यसलाई चार वर्षदेखि निरन्तर कायम राख्न्न सक्दा धेरै खुशी लाग्छ । टिमवर्क राम्रै थियो । मेरो नेतृत्वमा कम्पनीलाई यहाँसम्म ल्याउन सक्दा गर्व लाग्छ ।’

Advertisment