Below Menu

‘अबको सहकारी, डिजिटल सहकारी’

‘अबको सहकारी, डिजिटल सहकारी’

देवन सफ्ट प्रा.लि.ले विकास गरेको सहकारी मोबाईल बैंकिङ एप आईस्मार्ट’ (ismart) सहकारी क्षेत्रमा लोकप्रिय बन्दैछ । स्थापनाको तेस्रो वर्षमै झण्डै पाँच सय सहकारीका २ लाखभन्दा बढी सदस्यहरु ‘आईस्मार्ट’ मोबाईल बैंकिङ एप प्रयोग गर्दछन् । कम्पनीले आफ्नो स्लोगन नै ‘अबको सहकारी, डिजिटल सहकारी’ राखेको छ । विशुद्ध सहकारीहरुका लागि लक्षित गरी विकास गरिएको ‘आईस्मार्ट एप’ आईओएस र एन्ड्रोईड दुबै भर्सनमा उपलब्ध छ । जुनसुकै कोर बैंकिङ सिस्टम प्रयोग गर्ने सहकारीहरुले यसको सेवा लिन सक्छन । हाल ४० वटा कोर बैंकिङ सफ्टवेयर प्रयोग गर्ने सहकारीले यसको सेवा लिइरहेका छन् । यो कम्पनी आईओएस ९००१ र २७००१ प्रमाणित छ । 

Sponsored Advertisement

सहकारीबाट बैंकहरुमा रकम ट्रान्सफर मात्रै नभई बैंकहरुको खाताबाट पनि सिधै सहकारीको खातामा बिना झन्झट सिधै र सजिलै रकम ट्रान्सफर गर्न सकिन्छ । हाल कृषि विकास बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, लक्ष्मि सनराईज बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक र मन्जुश्री फाइनान्सबाट सिधै सहकारीको खातामा केही सेकेन्डमै रियल टाई फण्ड ट्रान्सफर गर्न मिल्छ। साथै, सदस्यहरूलाई दिइएको क्यूआर कोडमार्फत १० मिनेटभित्र जुनसुकै बैंक वा डिजिटल वालेटबाट समेत आफ्नै सहकारी खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ।

सहकारीका सदस्यहरुले विभिन्न सरकारी भुक्तानी, विजुली, खानेपानी, हवाई तथा बसको टिकट, मोबाईल टपअप, टिभी तथा इन्टरनेटको रकम भुक्तानी गर्न सक्दछन् । साथै ब्रोकर पेमेन्ट, बीमाको रकम भुक्तनी, कनेक्ट आईपीएस, वालेट लोड समेत सरल, सहज र सुरक्षित तवरले गर्न सक्छन् । यसका साथै एसएमएस बैंकिङ, एटीएम, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिटेन्स र इन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध छ । 

सहकारीहरुलाई डिजिटल प्याटर्फममा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको कम्पनीका देवन सफ्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनसँग कम्पनीले दिँदै आएको सेवाहरु, यसका समस्या, चुनौती, सम्भावना, आगामी रणनीतिबारे वित्तीय पोस्टले कुराकानी गरेको छ ।

आईस्माटको पछिल्लो अवस्था कस्तो छ ?
सबैभन्दा पहिले प्रष्ट पारौं, आईस्मार्ट एउटा डिजिटल प्ल्याटफर्म हो । यस भित्र एसएमएस, मोबाईल बैंकिङ, कलेक्टर एप, एटिएम कार्ड, इन्टरनेट बैंकिङ सेवा पर्दछन् ।

हाम्रो अहिलको अवस्था भन्नुपर्दा, तीन वर्षअघि १ करोड लगानीबाट शुरु गरेको कम्पनीको वार्षिक कारोबार अहिले १० करोड हाराहारी छ । २५ जना कर्मचारी छन् । ६३ जिल्ला हाम्रो कभरेज छ । ४०८ सहकारीमा सेवा सुरु भैसकेको छ भने सम्झौता ५ सय सहकारीसँग भएको छ । र, अर्को भनेको नेपालका ब्राण्डेड सहकारीहरुले पनि हाम्रो सेवा लिएका छन् । भक्तपुर बचत तथा ऋण सहकारी, किसान कल्याण, अजम्बरी, सदस्य सेवा लगायत काठमाडौं, चितवन, पोखराका धेरै सहकारी हामीसँग जोडिएका छन् ।

सहकारी क्षेत्रलाई नै किन रोज्नुभयो सेवाका लागि ? 
मैले २००७ मा आईटीमा स्नातक सकेँ । त्यसपछि लगभग आठ वर्ष सनराईज, प्राईम बैंक, निर्धन उत्थान लघुवित्त लगायतमा काम गरेँ । निर्धन उत्थानको आईटी टिम, डिजिटल बैंकिङको लिड गर्ने जिम्मेवारीमा थिएँ ।

बैंकिङमा डिजिटल बैंकिङ थियो तर सहकारीमा थिएन । बैंक तथा वित्तीय संस्था र सहकारीमा ग्याप देखेँ । अहिले पनि धेरै सहकारीले डिजिटल बैंकिङ सुरु गरेका छैनन् । त्यतिबेला केही सहकारीले मात्रै डिजिटल बैंकिङ सुरु गरेका थिए  । तर, उनीहरु भेण्डरसँग भर पर्दथे । छुट्टै सर्भर, स्टाफ, धेरै लगानी गर्नुपर्ने अवस्था थियो । लगानी धेरै गर्नसक्ने अवस्थामा सहकारीहरु थिएनन् ।

बैंक छाडेर अर्थ मोबाईल बैकिङ कम्पनीमा काम पनि गरेँ । त्यो भारतीय कम्पनी थियो । उनीहरु नेपाल आएर १ सय १० जति सहकारीमा मोबाईल बैंकिङ सेवा दिइरहेका थिए । उनीहरुले पनि त्यति राम्रो सर्भिस दिन सकेनन् । त्यसपछि हामी आफै किन नगर्ने भन्ने सोच आयो । सहकारीहरुलाई नै सेवा दिनेगरी एक जना पार्टनरसँग मिलेर एउटा कम्पनी खोल्यौं । त्यो कम्पनीमा आठ वर्ष काम गरेँ र अहिले छाडेको तीन वर्ष भयो । त्यसपछि आईस्मार्ट खोल्यौं ।

सहकारीको बजार कस्तो छ ?
बजार निकै राम्रो छ । ३० हजार बढी सहकारी छन् । बैंक तथा वित्तीय संस्था केही सयको संख्यामा छन् । तर सहकारी हजारौं छन् । अधिकांशले बचत तथा ऋणको कारोबार गर्दछन् । सहकारी क्षेत्र यति ठुलो छ की एक सय भेण्डर आए पनि पर्याप्त विजनेश पुग्छ । हामीले ४० वटा सीबीएससँग सहकार्य गरेर डिजिटल बैंकिङ सेवा प्रवाह गरिरहेका छौं । म एउटाले मात्रै सबै गर्छु भनेर सम्भव हुँदैन । सबैजना मिलेर नै काम गर्ने हो । जति धेरै कम्पनी बढ्यो त्यति नै राम्रो प्रडक्ट र सर्भिस पाउँछन् । 

बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ र आईस्मार्ट बीच तुलना गर्दा आईस्मार्टलाई कहाँ पाउँछौं ?
बैंकमा भएको सम्पूर्ण सर्भिस आईस्मार्टमा छ । एउटा भर्चुअल कार्ड भने हामी इस्यु गरेका छैनौं । त्यो बाहेक सम्पूर्ण सर्भिस आईस्मार्टमा छ । अहिले सहकारीको मोबाइल बैंकिङ बैंकहरुसँग नै प्रतिस्पर्धा हुने हो । बैंकको भन्दा २, ४ वटा फिचर सहकारीको बढी नै हुन्छ । सहकारीको एपमा रकम लोड गर्न मिल्छ, बैंकमा ट्रान्सफर नै गर्नु पर्ने हुन्छ । बैंकहरुको क्यूआर आउन निकै समय लाग्छ तर सहकारीको दुई दिनमै आउँछ । 

डिजिटल प्ल्याटफर्ममा सहकारी जोडिन कति खर्च गर्नुपर्छ?
प्रविधिको कस्ट छैन । यो प्रविधि २ रुपैयाँमा पनि बेच्न सक्नुहुन्छ २ करोडमा पनि । प्रविधिको मूल्य निर्धारण स्वंयम सहकारीले गर्ने हो । सदस्यलाई मोबाईल बैंकिङ एक सयमा दिने की एक हजारमा दिने त्यो निर्धारण आफैले गर्ने हो । बैंकले लाखौं खर्च गर्ने प्रविधि सहकारीले एक सयमा पाएको छ । बैंकहरुले त्यहि प्रविधि डाटा सेन्टर बनाएर वार्षिक करोडौं खर्च गर्छन् । तर सहकारीले त्यसो गर्न सक्दैन । हामीले मुख्य कुरा भनेको नम्बर अफ युजर बढाउनु पर्छ । एउटा सहकारीमा कमसेकम २ सय युजर हुन्छन् । त्यो भनेको वर्षको २० हजार हो । 

सहकारीका सदस्यहरु प्रविधिमैत्री छैनन् भन्छन् नी ?
अहिले त्यस्तो छैन । धेरै सदस्यहरु प्रविधिमा अभ्यस्त नै छन् । सहकारीहरु पनि प्रविधिमा नजानुको कुनै विकल्प छैन । सहकारीहरु आफै खोजी खोजी आइरहेका छन् । सहकारीका सञ्चालकहरु र व्यवस्थापनलाई पनि सदस्यको दबाव छ । गाउँ गाउँका सहकारीहरुका सदस्यमा केही समस्या पक्कै छ तर शहरमा त्यस्तो छैन । विस्तारै सहकारीले कलेक्टर हटाउँदै जानुपर्छ । सदस्यहरुको पसल पसलमा क्यूआर पुर्याउन जरुरी छ । सदस्यबाट दैनिक एक हजार आउने पैसा क्यूआरबाट सयौं गुणा बढी कलेक्सन हुन्छ । 

सहकारीका सदस्यहरुलाई प्रविधिमैत्री बनाउन यहाँहरुको भूमिका के हुन्छ?
सहकारीका सदस्यलाई डिजिटल साक्षरता जरुरी छ । जबसम्म साक्षर हुँदैन तबसम्म हाम्रो व्यवसाय नै चल्दैन । मोबाईल बैंकिङ कसरी चलाउने, यसको फाइदा र बेफाइदाका बारेमा सिकाउनै पर्छ । हाम्रो अधिकांश समय यसैमा ट्रेनिङ मै जान्छ । सहकारीका कर्मचारी, सञ्चालक, सदस्यहरु सबैलाई ट्रेनिङ प्रदान गर्दै आएका छौं । सहकारी स्वंयमले पनि ट्रेनिङ गर्दै आएको छ ।

सहकारीहरुलाई प्रविधिमा ल्याउन निजी क्षेत्रकै महत्वपूर्ण भूमिका छ । सहकारी अभियानका उच्च निकायहरुबाट कत्तिको साथ, सहयोग पाउनु भएको छ?
उहाँहरुबाट साथ, सर्पोट पाएको पनि छैन, आशा पनि गरेका छैनौं । उहाँहरुले हामी जस्ता कम्पनीलाई सशक्त बनाउनुपर्ने हो तर प्रतिस्पर्धी बन्नुहुन्छ ।

अबको चुनौती के देख्नुभएको छ ?
मुख्य चुनौती भनेको कर्मचारी हो । प्रविधिलाई निरन्तरता दिन कर्मचारी चाहिन्छ । कर्मचारीलाई टिकाई राख्नु मुख्य चुनौती हो । विदेश जाने ट्रेन्ड जस्तो चलेको छ । विदेश गएर भाडा माझ्न तयार हुने तर नेपालमा काम गर्न मानिसहरु तयार छैनन् । कम्पनीहरुको पनि कमजोरी छ । म एउटा आईटी इन्जिनियर र उद्यमी गाडी चढेर हिँड्छु । मैले मेरो कर्मचारीहरुलाई पनि त्यो लेबलमा पुर्याउनु सक्नुपर्छ । हामी तेस्रो वर्षमा छौं । त्यो लेबलमा पुर्याउने हाम्रो सोंच छ । त्यो दिन नसकेपछि नेपालमा मान्छे किन बस्छ त । बर्षौसम्म काम गर्ने अनि मेरो लेबलमा पुगेन भने तर छोड्छ त । मैले पनि हिजोका दिनमा बैंक छाडेको हुँ । 

सहकारीको नजरबाट हेर्दाको चुनौती के देख्नुहुन्छ ?
सहकारीको साईडबाट पनि कर्मचारी नै हो । सहकारीमा पनि ३, ४ महिनामा कर्मचारी चेन्ज भईरहन्छन् । हामीले तालिम दिइरहनुपर्ने हुन्छ । राम्रा कर्मचारी बैंक, अन्य राम्रा सहकारीमा जान्छन् । मुख्य कुरा भनेको ट्रेनिङ हो । प्रविधि कसरी चलाउने भनेर महिना महिनामा र आवश्यक पर्दा जुनसुकै समयमा पनि ट्रेनिङ दिइरहेका हुन्छौं । 

आईस्मार्टको अबको रणनीति के हो ?
हामी सहकारीमा मात्रै केन्द्रीत छौं । हाम्रो स्लोगन ‘अबको सहकारी, डिजिटल सहकारी’ हो । अर्को वर्षसम्म हामी १ हजार सहकारीलाई सेवा दिनेछौं । एउटा कम्पनी दिगो र व्यावसायिक उन्मुख हुन कम्तिमा एक सय सहकारी संस्था चाहिन्छ । हामी कस्टमा तलमाथि गर्दैनौं । अबको पाँच वर्षमा पनि रेट उही नै हुन्छ । अझ भन्ने हो भने, टेक्नोलोजी त सस्तिदै जान्छ । 

प्रविधिको सेवा दिने कम्पनीहरु बीच अस्वस्थ प्रतिस्पर्धा धेरै छन् भन्छन् नी ?
हामीले ग्राहकलाई रोकेर रोक्न सक्दैनौं । हामीले सर्भिस दिने हो । जसले राम्रो सर्भिस दिन्छ, ग्राहक उसैकोमा जान्छ, त्यो स्वाभाविक हो । एउटाबाट अर्कोमा जाँदा केही न केही कस्ट आउँछ । ग्राहकले केही नदेखिकन अर्कोमा सिफ्ट हुँदैन । हामीले ग्राहक तान्नेभन्दा पनि आउने हो । हिजोका दिनमा विकल्प कम थिए ग्राहक सिफ्ट हुँदैन थिए, आज विकल्प धेरै छन् ग्राहकहरु सिफ्ट भैहाल्छन् । यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्न मिल्दैन । 

अन्त्यमा, कम्पनीको नाम चाहिँ कसरी जुर्यो ?
मैले जति पनि कम्पनीमा काम गरेँ तिनले आईफोनमा एप दिएका थिएनन् । अहिले पनि कतिपय कम्पनीहरुले आईफोनमा एप दिएका छैनन् । मलाई, त्यही कमजोरीलाई आफ्नो स्ट्रेन्थ बनाउनु थियो । पहिलो सेवा चाहिँ आईफोनबाटै दिन्छु भन्ने लाग्यो । नयाँ कम्पनी सुरु गरेँ । आईफोनबाट सेवा सुरु गरेपनि एन्ड्रोइड एप पनि निमार्ण गरेर सेवा सुरु गर्यौं । आईफोनको ‘आई’ लियौं र प्रविधि भनेकै स्मार्ट बनाउन भएकाले यो शब्द पनि जोडेर ‘आई स्मार्ट’ नाम राख्यौं ।

Sponsored Advertisment

थप समाचार