दशैंको नवरात्री हिन्दु धर्म अनुसार देवी दुर्गाको पूजा-अर्चना गरी मनाइन्छ । यो नौ दिनसम्म चल्ने पवित्र पर्व हो, जसमा प्रत्येक दिन दुर्गाको नौ रुपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा गरिन्छ । घरघरमा घटस्थापना गरी जमरा रोपिन्छ, पूजा पाठ, भजन कीर्तन र उपवास गरी देवीको आराधना गरिन्छ ।
नवरात्रीको अन्तिम दिन विजयादशमीमा देवीले असुरमाथि विजय प्राप्त गरेको प्रतीक स्वरूप टीका र जमरा लगाइन्छ । मान्यजनबाट आशीर्वाद लिइन्छ । परिवारजन भेटघाट, माया र मेलमिलापको माहोल बन्छ । नयाँ लुगा, मिठा परिकार र उमंगले भरिएको दशैँ एकता, संस्कार र खुसी बाँडेर मनाईन्छ । यस पर्वले सत्य, धर्म र शक्ति प्रति प्रेम तथा विजयको सन्देश दिन्छ । यो पर्व परिवारहरु बीच माया र संस्कारको एउटा संगम पनि हो ।
यसै अवसरमा हाम्रा साना बाबुनानीहरुले आफ्नो मान्यजनहरुबाट टीका, जमरा ग्रहण गरी साथमा केही रकम दक्षिणा स्वरुप प्राप्त गर्दछन् । अनि यस्ता पैसाहरुलाई धेरै जसो बालबालिकाहरुले अनावश्यक चिजबिज, पत्रु, खानेकुरा जस्ता कुराहरुमा खर्च गरेर सकाउने गर्दछन् ।
अझै त्यतिमात्र पनि होईन आफ्नो बाबुनानीहरुको जम्मा भएको पैसालाई उनीहरुको अभिभावकहरुले नै मासेर सक्ने गर्दछन् । तसर्थ बालबालिकाहरुलाई यस्ता पैसा खर्च गर्न नदिने र बचत गर्ने संस्कार सिकाउने हो भने बालबालिकाहरुको भविष्यको बलियो जग बन्न सक्दछ । स-सानो पैसालाई बचत गर्ने बानीले आपतकालिन अवस्थामा गर्जो टार्न सकिन्छ । यस्ता साना साना पैसालाई जम्मा गर्न कुनै भार पनि पर्दैन र पैसा जम्मा गरेको महसुस पनि हुँदैन ।
यसै सन्दर्भमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखि नै कोपिला बालबचतकर्ताहरुलाई खुत्रुकेमा बचत गर्न प्रेरित गर्दै आएको थियो भने विगत १५ वर्षदेखि संस्थामा आवद्ध सदस्यले नवजात शिशुलाई जन्म दिएको अवस्थामा उक्त नवजात शिशुलाई बालबचतकर्ता बनाई निःशुल्क रुपमा खुत्रुके प्रदान गर्दै आईरहेको छ ।
हाल संस्थाले प्रदान गरेको खुत्रुके हजारौँको संख्यामा आफ्ना कोपिला बालबचतकर्ताहरुको घरघरमा छ । बुडोल सामुदायिकले सिकाएको खुत्रुके संस्कारले संस्थाका नवजात कोपिला बालबचतकर्ताको जन्मँदादेखिको पैसालाई अन्यत्र खर्च हुन दिएको छैन । नवजात शिशुहुँदा आफन्तहरुले मुख हेरेकोदेखि पास्नी, व्रतबन्ध/गुन्यो चोलो, जन्मदिन, आफन्तहरुले माया गरेर पापा खाउ है भनेर दिएको पैसा, टिफिन खर्चबाट जोगाएको पैसा, चाडबाडमा टिका लगाएर, देउसी भैलो खेलेर प्राप्त गरेको पैसा समेतलाई बचत गर्दै आफु वयस्क भएर उच्च शिक्षा लिने बेलासम्ममा ठूलो आकारको बचत भएको दृष्टान्तहरु धेरै छन् ।
शुरुवाती अवस्थादेखिनै यस्ता पैसाहरुलाई जम्मा गर्ने बानी बसालिएन भने नजानिदो तरिकाले यस्ता स-साना पैसाहरु खर्च भएर गएको पत्तो नै पाईँदैन भने बालबालिकामा पनि खर्चालु बानीको विकास हुँदै जान्छ । तसर्थ बुडोल सामुदायिक साकोसले विकास गरेको यो खुत्रुके संस्कार आफ्ना सदस्यहरुमाझ निकै लोकप्रिय बन्दै आएको छ ।
दशैँको दक्षिणा बापत प्राप्त भएको पैसाहरुलाई खुत्रुकेमा एकत्रित गरी दशैँ, तिहार सकिएलगत्तै कोपिला बालबचतकर्ताको अभिभावकहरु उल्लासका साथ संस्थामा खुत्रुके लिएर पैसा जम्मा गर्न आउने गर्नुहुन्छ ।
कोपिला बाल बचतकर्ताका अभिभावकहरु खुत्रुकेबाट पैसा निकालेर उत्साहका साथ बुडोल सामुदायिकमा बचत गर्दै गर्दाका केही तस्वीरहरु:
दशैँको दक्षिणालाई खुत्रुकेबाट निकालेर हातभरी भएको पैसालाई बुडोल सामुदायिकमा जम्मा गर्न पठाउँदै गर्दा खुसी कोपिला बचतकर्ताहरु:
(नोटः तस्विरका बालबालिकाहरुलाई जन्मेपश्चात नै संस्थाको सुत्केरी भेटघाट कार्यक्रम मार्फत निःशुल्क खुत्रुके वितरण भएको हो ।)
त्यसैले खुत्रुके टिनको सामान्य कन्तुर मात्र होइन । यो भविष्यको सपना सुरक्षित गर्ने संस्कार हो । हरेक सानो पैसाले ठूलो लक्ष्यतर्फको बाटो निर्माण गर्न सघाउँछ । बाल्यकालदेखि नै खुत्रुकेमा पैसा जम्मा गर्ने बानीले बचत, अनुशासन र आत्मनिर्भरताको संस्कार बसाल्छ । यो केबल रकम जम्मा गर्ने अभ्यास मात्र होइन, जिम्मेवारी सिकाउने माध्यम हो । खुत्रुकेले ‘सानो-सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिन्छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई खुत्रुके संस्कार सिकाउँदा उनीहरूमा परिश्रम, योजना र भविष्यप्रतिको विश्वास विकसित हुन्छ ।
(लेखक बुडोल सामुदायिक साकोस, काभ्रेका बरिष्ठ अधिकृत हुन्)
Sponsored Advertisment