Below Menu
Below Menu

सुन्दर भविष्यका लागि बचत

सुन्दर भविष्यका लागि बचत

द ग्रीक दार्शनिक हेराक्लिटसले भनेका छन, “There is Nothing Permanent Except Change”  जसको अर्थ परिवर्तन बाहेक केही पनि स्थायी छैन । यस भनाईबाट हामी स्पष्ट हुन सक्दछौ कि, संसारमा परिवर्तनको महत्व र समयक्रमसँगै परिवर्तनलाई आत्मसात गर्न सक्ने मानिस मात्र सफल बाटो पहिल्याउन सक्षम हुन सक्छ । त्यसकारण वर्तमान समय भन्दा विगतका समयलाई मुल्याङ्कन गरी भावी दिनमा हुन सक्ने र आउन सक्ने परिवर्तनशील समयका लागि तयारी गर्नु निकै नै महत्वपुर्ण हुने गर्दछ। 

सामान्यतया बचत भन्नाले रकम जम्मा गर्ने बुझिन्छ । तर अर्थशास्त्रको परिभाषा अनुसार कुनै निश्चित समयावधिमा करकट्टी आय पश्चातको आवश्यक खर्चहरु कटाएर बाँकी रहेको रकमलाई नै बचत भनिन्छ । तसर्थ बचत भनेको खर्च र दायित्व भुक्तानी गरी बाँकी रहेको खुद रकम हो । वर्तमानको आम्दानीबाट भविष्यका लागि भनेर छुट्टयाइएको निश्चित अंश तथा भाग हो, जुन नगद वा जिन्सी दुबै रुपमा बचत हुन सक्दछ । जिन्सी बचत भन्नाले गरगहना, घर, जग्गा जमिन, गाडी आदी सम्पत्तिहरु, जसलाई भविष्यमा आवश्यक पर्ने समयमा नगदमा रुपान्तर गर्न सकिन्छ । भविष्य भन्नाले सरल भाषामा बुझ्दा आउन बाँकी समय वा दिन भन्ने बुझिन्छ । जसबाट हामी के बुझ्न सक्दछौ भने जो कोहीले पनि अगामी आउने दिनको समय र परिस्थिती सहजै अनुमान गर्न नसक्ने भएकाले पनि भविष्य अनिश्चितता र जोखिमपुर्ण मानिन्छ । यसकारण भावी दिनमा आउन सक्ने परिवर्तनशील समयका लागि वर्तमानमा नै लक्ष्य र योजनासहित निश्चित प्रकारको बजेट निर्माण गरेर नियमित बचत गर्न सकेको खण्डमा भविष्यमा पैदा हुन सक्ने सम्भावित अनिश्चितताहरुलाई कम गरी भावी दिनमा असहज वातावरण उत्पन्न हुँदा समेत सरल र सहज तरिकाले सुखी जीवन यापन साथै सम्मृद्धि हासिल गर्नका लागि टेवा पुर्याउँदछ । त्यसैले भोलीको लागि आजैबाट तयारी हुन आवश्यक रहेकोले पनि सुन्दर भविष्यका लागि बचत गर्नु महत्वपुर्ण रहेको छ ।

बचत गर्नुको मुख्य उद्देश्य भनेकै भविष्यमा उत्पन्न हुन सक्ने आर्थिक संकटहरुलाई न्युनिकरण गरी सुखी जीवनयापन र सम्मृद्धि हासिल गर्न सहज पुर्याउनु हो

सुन्दर भविष्यका लागि बचत गर्न आवश्यक रहेको छ तर जसको आम्दानीबाट खर्च टार्न पर्याप्त हुँदैन त्यस्ता किसिमको मानिसहरुको लागि यो बिषय सान्र्दभिक नहुनपनि सक्छ किनभने उनीहरुको आम्दानीले अत्य आवश्यक वस्तु तथा सेवाहरु उपभोग गर्न पुग्दैन भने बचत हुने सम्भावना पनि रहँदैन । त्यस्तो परिस्थिती रहेका मानिसहरुको हकमा सर्वप्रथम आम्दानीबाट बचतका लागि केही रकम छुट्टयाएर बाँकी रकम खर्च गर्नु उपयुक्त हुन्छ । त्यसकारण आफ्नो आम्दानीबाट थोरै बचत गरेर पनि धेरै बनाउन भने सकिन्छ जसरी सुरुवातमा सानो बिरुवा रोपेर ठुलो रुख बनाएर फल फलाउन सकिन्छ त्यसै गरी सानो सानो बचत संकलन गरेर पनि ठुलो रकम बनाएर आवश्यक परेको बेलामा उपभोग गर्न सकिन्छ । जसका लागि सर्वप्रथम लक्ष्य निर्धारण र योजना निर्माण गर्नु भने निकै नै महत्वपुर्ण रहेको छ ।

बचत गर्ने लक्ष्य निर्धारण पश्चात् उपयुक्त किसिमको प्रभावकारी योजना निर्माण गर्नुपर्ने हुन्छ, किनभने मासिक रुपमा गरिने स-सानो रकम जस्तै रुपैयाँ १० वा रुपैयाँ २० बचत गर्नाले निजको जीवनमा खासै परिवर्तन नल्याउला ।  फलस्वरुप लक्ष्य अनुसारको उपयुक्तताको आधारमा अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजनाको रुपमा नियमित बचत गर्ने बानी बसालेमा भने सो बचत रकमले भविष्यमा बचतकर्ताको जीवनमा सकारात्मक परिवर्तनहरु ल्याउन पक्कै पनि मद्दत गर्दछ । जसका लागि आफ्नो परिवारको बचत योजना निर्माण गर्दा प्राथमिकताको आधारमा लक्ष्य प्राप्त गर्न चाहिने समय र आवश्यक पर्ने बचत रकमसमेत निर्धारण भएको खण्डमा बचत योजना प्रभावकारी हुन सक्दछ । बचत गर्न वित्तीय अनुशासन समेत विकास गर्नु आवश्यक हुन्छ किनकि आफ्नो आम्दानी अनुसार निश्चित बचत रकम निर्धारण गरिसकेपछि अनावश्यक तथा विलासिताका वस्तु तथा सेवाहरुमा खर्च गर्ने बानी घटाउनु पर्दछ साथै आवश्यकता भन्दा बढि ऋण लिने बानी पनि त्याग्नु पर्दछ ।
 
नियमित बचत किन आवश्यक छ त ?
बचत गर्नुको मुख्य उद्देश्य भनेकै भविष्यमा उत्पन्न हुन सक्ने आर्थिक संकटहरुलाई न्युनिकरण गरी सुखी जीवनयापन र सम्मृद्धि हासिल गर्न सहज पुर्याउनु हो । मुख्य रुपमा नियमित बचत गर्नाले आकस्मिक रुपमा आवश्यकता परिपूर्ति गर्न, धन सम्पत्ति खरिद गर्न टेवा पुग्दछ । बचत आवश्यक पर्नुका कारणहरु निम्नानुसार बुदाँगत रुपमा राख्न सकिन्छ ।
-    वित्तीय स्वतन्त्रताका लागि,
-    आकस्मिक वा आपतविपद कोष राख्न,
-    ऋणबाट मुक्त हुन,
-    अवकाशपछि सुखी जीवन जिउन,
-    दीर्घकालिन वित्तीय उद्देश्यहरु परिपूर्ति गर्न,
-    लगानी गर्न (घर जग्गा, गाडी आदी )
-    अनियमित र फजुलको खर्च रोक्न,
-    जागिर गुमाएको र चोटपटक वा बिरामी भएको खण्डमा,
-    नियमित खर्चहरु परिपुर्ति गर्न,
-    तनावमुक्त जीवन जीउन,
-    आर्थिक सम्पन्नता हासिल गर्न आदी

स्पेनिस उपन्यासकार मिगुइल डि सेरभन्टेस ले भनेका छन, “Don't Put All Your Eggs In One Basket” जुन कुरा बचत गर्न महत्वपुर्ण नियम हुन सक्दछ किनकी बचत वा लगानी गर्दा सम्पुर्ण रकम एउटै शिर्षक वा संस्थामा लगानी वा बचत गर्दा निकै नै जोखिमपुर्ण हुने गर्दछ तर जोखिम बिना आम्दानी पनि हुँदैन त्यसकारण जोखिम कम हुने क्षेत्रमा लगानी गर्दा आम्दानी कम हुन्छ र जोखिम बढी हुने क्षेत्रमा लगानी गर्दा आम्दानी बढी हुन्छ । तसर्थ लगानी गर्दा अत्याधिक जोखिम भएको क्षेत्रमा लगानी गर्नु पनि हुँदैन र फाइदा नहुने क्षेत्रमा पनि लगानी गर्नुहुँदैन । बजेट बनाएर नियमित गरेको खण्डमा थप प्रभावकारिता रहने भएकाले पनि विभिन्न क्षेत्रहरु पहिचान गरी सोही अनुसार बचत, बीमा कार्यक्रम र विशेष गरी लगानी विविधिकरण (Portfolio Investment) गरी सही समयमा लगानी गर्न सकिएमा भविष्यमा सकरात्मक उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । हाल समुदायमा विभिन्न बैंक, सहकारी तथा अन्य वित्तीय संस्थाहरुले बचतका लागि सेवा प्रदान गरिरहेको अवस्था छ । विशेषगरी सहकारी संस्थाहरुले सदस्य केन्द्रित रहेर घर–घर नै गएर निक्षेप संकलन गर्ने कार्य र वित्तीय पहुँचमा पनि जोड दिईरहेको छ । जसबाट सदस्यहरुले आफ्नो बजेट अनुसारको नियमित बचत र कारोबार गर्न सफल भएका पनि छन् । यति धेरै विकल्प र अवसरहरु बीच बचत कसरी र कहाँ गर्दा उपयुक्त हुन्छ त ?

-    बचत के का लागि हो लक्ष्य निर्धारण गर्ने,
-    लक्ष्य अनुसारको योजना निर्माण गर्ने (अल्पकालिन, मध्यमकालिन, दीर्घकालिन),
-    आम्दानीको स्रोतहरु पहिचान गरी पारिवारिक बजेट निर्माण गर्ने,
-    वित्तीय लगानीलाई विविधिकरण गर्ने (बीमा, मुद्दती, आवधिक निक्षेप, सेयर)
-    आफ्नो लगानी र प्रतिफलको तुलना गरी चक्रवृद्धि व्याजको असरबारे जानकार रहने,
-    अनावश्यक÷फजुल र विलासिताका चिजहरु खरिद गर्नबाट टाढा रहने,
-    छैन/होइन वा अहिले होइन भन्ने बानीको विकास गर्ने,
-    आय आर्जन बढाउनका लागि ऋण लिने,
-    ऋण सकेसम्म कम ब्याजदर र सहुलियत दरमा लिने साथै मासिक किस्ताबन्दीमा तिर्ने,
-    बचत गर्न खर्च कम गर्ने र स–सानो पैसा पनि व्याज प्राप्त हुने खातामा बचतको बानी बसाल्ने,
-    उपयोगिता बचत गर्न सिक्ने, 
-    सामान खरिद गर्नु पुर्व सुचि तयार गर्ने र सकेसम्म छुटको सुविधाहरु लिएर कारोबार गर्ने 
-    आफ्नो अनुकुलता र आवश्यकताको आधारमा जहाँ सुरक्षा र बढी व्याज पाइन्छ त्यही बचत गर्ने ।

वास्तवमा मानिसले जबसम्म आफुले आय आर्जन गरेको आम्दानी साथै स्रोेत साधनहरुको उचित सदुपयोग र व्यवस्थापन गर्न सक्दैन तबसम्म सो व्यक्तिले वित्तीय रुपमा सम्पन्नता हासिल गर्न सक्दैन । त्यसैले वित्तीय रुपमा सम्पन्न हुन र भविष्यमा सिर्जना हुन सक्ने आपतकालिन अवस्थाहरुको लागि तयारी हुन नियमित बचत गर्नु आवश्यक छ जुन Wealth Maximization को अवधारणा बमोजिम उपयुक्त हुन्छ । अन्तमा मानिसहरु अक्सर पैसा बचतको महत्व बुझ्न असफल हुन्छन् उनीहरु सोच्छन कि उनीहरुको आफ्नो जीवनमा बचत गर्न र भविष्यमा प्रयोगको लागि आफ्नो पैसा लगानी गर्न पर्याप्त समय पाउनेछन् तर समय गतिशिल छ । त्यसकारण पैसा बचत गर्नु एक कारक हो जसले सानैदेखि योजना र बजेट अनुसार बचत र लगानी गर्दछ उसको आगामी दिन र समयमा भविष्य सुनौलो र सुखमय भई आर्थिक सम्पन्नतातर्फ अगाडी बढ्ने कुरामा कुनै दुई मत रहन सक्दैन ।

(ग्लोबल मनी विकको अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्कीले आयोजना गरेको ‘सुन्दर भविष्यको लागि बचत’ विषयक अन्तर कर्मचारी निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल निबन्ध । गुरुङ पोखरा रोयल साकोसका सुपरिवेक्षक हुन् ।)

 

Advertisment