Below Menu
Below Menu

‘सहकारी क्षेत्र सुधारका लागि राज्य नै अग्रसर हुनुपर्छ’

‘सहकारी क्षेत्र सुधारका लागि राज्य नै अग्रसर हुनुपर्छ’

समुदायका लागि समुदायकै पहलमा सामुहिक सहकार्यका लागि सहकारीको अवधारण अघि बढेको हो । समुदायमा मिलेर काम गर्ने संस्थाको रूपमा सहकारीको विकास भएको पाइन्छ । अझ एउटै प्रकृतिको काम गर्ने व्यक्ति, वर्ग र मजदुरहरूलाई व्यवसाय गर्न प्लेट फर्म दिने मनसायले सहकारीहरु स्थापना भएका हुन् । विश्वमा हेर्ने हो भने अमेरिकामा पनि सहकारीबाट ठूला ठूला डिपार्टमेन्ट स्टोरहरू चल्छन् । विश्वव्यापी रूपमा अमुल वित्तीय कारोबार गर्ने संस्था बनाएको पनि सहकारीले नै हो । यसले समाजवादको धार पनि सिर्जना गर्छ ।

सहकारीलाई पनि एउटा क्षेत्र साझेदार बनाइदियो भने यसले कल्याणकारी राज्य व्यवस्था, समानता र सहअस्तित्वका साथै हूने र नहुने बीचको खाडल पुर्ने दृष्टिकोणबाट अघि बढाएको छ । सानो पूँजी हुनेहरूले पनि लगानी गर्ने र थोरै थोरै पुँजी सञ्चय गरेर ठूलो पुँजी निर्माण गर्ने खास क्षेत्र कृषि तथा साना उद्योगको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा मिलेर काम गर्ने अवसरमा प्राप्त होस् भनेर सहकारीलाई तीन खम्बे अर्थनीतिको एक महत्वपुर्ण खम्बा मानिएको हो । 

तर, अहिले सहकारी भनेको पनि निजी क्षेत्र नै हो भन्ने विवाद छ । यसलाई निजी क्षेत्र नै हो भनेर व्याख्या गरेपनि हुन्छ भन्ने छ । तर वास्तवमा निजी क्षेत्र भनेको गाउँमा एक रोपनी जग्गामा खेती गर्ने, पाँच वटा गाई र बाख्रा पाल्ने सानो जुत्ताको कारखाना चलाउने र पसल थाप्ने पनि निजी क्षेत्र नै हो । 

तर हामी कहाँ ठूला ठूला घरानियाँहरूले ठूला उद्योग चलाएका, राजनीतिमा प्रभाव राख्न सक्ने र व्यवसायको  संस्थामा नेतृत्व गर्न सक्ने मान्छे वर्ग निजी क्षेत्र हो भनेर त्यसको गणना बढी हुन थाल्यो । गाउँठाउँमा दुर्गम क्षेत्रमा र सहरमै पनि साना साना उद्योग व्यवसाय र पेसा गर्नेको निजीक्षेत्रमा पहुँच पुग्न सकेन । स्रोत र साधनको पहुँच कम भयो । यसले गर्दा पनि निजी क्षेत्र भन्ने बित्तिकै मान्छेले विश्वास गरेन र भर परेन । यसले गर्दा पनि सामुदायिक क्षेत्रको दृष्टिकोणले सहकारीलाई राखिएको हो । तर यसलाई सहकारी भन्दापनि सामुदायिक क्षेत्र भनिदिएको भए त्यही क्षेत्रमा सहकारी बस्थ्यो ।

संविधानमा सहकारीलाई राखेपछि राजनीतिक दलहरूले एउटा खाका र स्वरूप तयार गर्नुपथ्र्यो । निजी क्षेत्र र सहकारीको भूमिकालाई संक्षेपमा लेखेर अन्य कुनै रणनीति भित्र यसको विस्तृतीकरण गरिदिनु पथ्र्यो । अहिले कूल ग्रार्हस्थ उत्पादनमा पुगनपुग तीनचौथाई भन्दा बढी भाग निजी क्षेत्रले र लगभग चार प्रतिशत सहकारी क्षेत्रले ओगटेको छ । अब आउँदो २० वर्षमा यसलाई कति पुर्याउने र सरकारी क्षेत्रलाई घटाउने कि बढाउने र यसका लागि के के कार्यक्रमहरू चाहिन्छ ? भनेर राज्यले नै विस्तृतीकरण गरेर दस्तावेजलाई बाहिर ल्याउनुपर्छ । 

सहकारी क्षेत्र भनेर राखिएको छ, २०४८ मा ऐन बनेको थियो । २०७४ मा त्यसको संशोधन गरियो त्यसमा केही कुराहरू राखिएको छ । यो क्षेत्रलाई अनुगमन र नियमन गर्नुपर्ने कुरामा वित्तीय कारोबार गर्ने सहकारीमा दोस्रो तहको नियामक निकाय राख्ने र प्रशिक्षित गर्नुपर्ने कुरा भएता पनि पालना भएन । अभियन्ताहरूले पनि त्यसलाई धेरै ध्यान दिएनन् । उनीहरू राजनीतिक रंगले रंगिए, सहकारी अभियानलाई राजनीतिक अभीष्ट पुरा गर्ने थलो बनाईदिए । यसैको परिणाम निकै लामो इतिहास भएपनि सहकारी क्षेत्र अझै सबल र सक्षम हुन सकेन ।

सहकारी क्षेत्रको एउटा नेतृत्व चयन गर्नुपर्यो भने अमुक पार्टीको मान्छेलाई जिताउन लागि पर्छन् । त्यहाँ दक्षता र क्षमता भएको, सहकारीको बारेमा विशिष्ट ज्ञान भएको व्यक्ति ल्याउने भन्दापनि राजनीतिक ढंगले आफ्नो नेतृत्व पुर्याउने हुँदा गडबड त्यहीँबाट शुरू भएको हो । 

कसको पहुँच पुग्ने भन्ने भयो, त्यहाँ अनुगमन नियमन भएन । खासगरी सहकारीमा दुई/तीन खालका मान्छेहरू छिरे । काम गर्न खोज्नेछ केहीँ असल आचरण भएका पनि छिरे र अर्को थरी असल मनसाय भएरपनि ज्ञान कम भएका छिरे । तथापि, महत्वपूर्ण पक्ष मनसाय नै खराब र दुषित भएका खराब नियत भएका मान्छे पनि छिरे । हो, यिनीहरुले अहिले सहकारी क्षेत्र दुषित र दुर्गन्धित बनाए । 

जब समग्र सहकारी क्षेत्र नै दुषित बन्न पुग्यो यसलाई सरकारले पनि ध्यान दिन सकेन । फलतः हिजो सहकारीमा केहीँ राम्रो काम गरेकाहरु पनि यसै भेलमा विस्थापित हुन पुगे । 

सहकारीमा संकट

आज भोलि अन्य विषयगत सहकारी भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारीको बाहुलियता बढेको छ । भन्ने नै हो भने बहुद्देश्यीय (कृषि तथा पशुपालन लगायत दुग्ध) सहकारी हराउँदै गएका छन् । कृषिको क्षेत्रमा विचौलियाहरूले धेरै पैसा राखे । सहकारीले नै गाउँमा उत्पादित वस्तु संकलन गरेर सहरमा लगेर बेच्ने र त्यसबाट हुन सक्ने नाफा सदस्यहरूलाई नै पुर्याउने भन्ने सोच आएको हो ।

तर यसलाई संस्थागत र सुदृढीकरण गर्ने र दिगोपन ल्याउने काम सरकारले पनि गर्न सकेन । यता सहकारीहरु पनि सहज र बढी नाफा कमाउने होडमा लागे । अन्ततः सहकारीमा दुषित मनसाय भएकाहरुले नै काम गरे र वित्तीय क्षेत्रलाई विचलनमा लगे । अहिलेको परिस्थिति यसैको बाईप्रोडक्ट हो ।

अहिले राज्यले विभिन्न दस्तावेजमा गरेका संकल्पहरूमा पनि केही कुरा आएको छ । तर त्यो टिपन टापन ढंगले हुँदैन । एकीकृत रुपमा अब सहकारी क्षेत्रलाई कसरी लैजाने र यसलाई सामुदायिक क्षेत्रको कुन स्थानमा राख्ने भन्ने कुरामा राज्यले दिर्घकालिन रणनीति बनाउनुपर्छ ।

अबको २० वर्षमा सहकारी क्षेत्रको स्थान ( शिक्षा,सेवा, स्वास्थ्य, दुग्ध लगायत कृषि) का क्षेत्रमा कसरी हुन्छ र लगानी कसरी गर्ने ? अनुगमन, नियमन र प्रशिक्षण कसले दिने ? आवश्यक प्राविधिक सहयोग कसले दिने ? भन्ने कुराको समग्र रणनीति नै ल्याउनुपर्ने अवस्था आएको छ ।

सामाजिक न्याय समेतको समृद्ध समाज निर्माणको आधार सहकारी पनि हो भन्ने मान्यताले सहकारीलाई पनि तीन खम्बे अर्थनीतिमा राखिएको हो । यसको मर्मलाई सरकारले र आम सहकारीकर्मीले आत्मसात गर्न सक्नुपर्छ ।

सहकारीको इतिहास र आवश्यकता

मुलतः सहकारीको सिद्धान्त तथा मर्म यसलाई राम्रोसँग चलाउनेछ हो भने निकै उत्कृष्ट सामुदायिक वित्त प्रणाली हो । निजी क्षेत्रमा पुँजी जसको हुन्छ उद्योग उसैको हुन्छ । तर सहकारी क्षेत्रमा पुँजी हुनेको मात्र हुँदैन त्यसको व्यवस्थापन र नियन्त्रणमा कम पूँजी हुनेको पनि पहुँच हुन सक्छ । तर त्यहाँ विश्वास सिर्जना गर्न सकिएन भने सन्तुलनमा ल्याउन सकिँदैन । यसका लागि संरचना निर्माण गर्नुपर्छ । ख्याल ख्याल र लडतरो तालले सहकारी क्षेत्र आफै स्वस्फुर्त रूपले विकास हुने होइन । यसको लागि राज्यको दृष्टिकोण स्पष्ट हुनुपर्यो ।

संविधानले नै विकासको साझेदार भनेपछि साझेदरको मुख्य भूमिका के हो ? र भोलिका दिनमा यस क्षेत्रमा राज्यले के योगदान गर्ने ? कस्ता काम गरिदिने ? र तीन तहका निकायले के गरिदिने ? भन्ने कुरा स्पष्ट हुनुपर्छ ।

सहकारीलाई उत्पादनशील क्षेत्रमा बढी लगाउने र वित्तीय क्षेत्रमा पनि काम गर्नेहरूलाई उपयुक्त व्यवस्थापन गर्नुपर्छ । सरकारी क्षेत्रलाई कहिले सामान्य प्रशासन मन्त्रालय, कहिले उद्योग मन्त्रालय र कहिले शिक्षा मन्त्रालय पुग्ने कर्मचारीले नियमन गरेर हुँदैन । उनीहरूको ज्ञान, दक्षता र जिम्मेवारीको कमी हुन्छ ।

उनीहरूले सामान्य प्रशासन सञ्चालन गरे जसरी सहकारी चलाउन खोज्छन्, अहिले भद्रगोल आउनुको कारण यो पनि एउटा हो । यसर्थ सहकारीलाई विशिष्टीकरण गर्नुपर्छ ।

सरकारको प्राथमिकतामा किन परेन सहकारी ?

सरकारका लागि सहकारी कुहिरोको काग जस्तै बनेको छ । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा महत्वपूर्ण खम्बाको रुपमा ब्याख्या गर्दै संविधानमा नै राख्यो, हेर्दा मिठो पनि छ । तर यसलाई नीतिगत तहमा घनिभुत रूपमा लानुपर्ने र निरन्तरता दिनुपर्ने थियो । त्यसो गरिएन । सहकारीको सन्दर्भमा निजी क्षेत्र हौ भन्ने ठूला नेतृत्व लिनेहरू सहकारीप्रति नकारात्मक भए । बैंक तथा वित्त क्षेत्र पनि सहकारीप्रति जानेर वा नजानेर नकारात्मक बन्यो । यसलाई एउटा कडी मान्नु पथ्र्यो, परिपुरक मान्नु पथ्र्यो । तर त्यसो भएन ।

उत्पादन गर्ने सहकारीले पनि वस्तु उत्पादन गरिदियो भने उत्पादित वस्तु बजारमा आउँछ । व्यवसाय चल्छ, व्यवसायीलाई ऋण चाहिए लिन्छ । ढुवानीकर्तालाई ऋण चाहिए लिन्छ । उपभोक्ताले पनि पैसाको प्रयोग गर्छ र अन्तिममा बैंक वित्त संस्थामा आउने हो भन्ने कुरा बैंक तथा वित्त कम्पनीहरुले सोचेनन् । ठूला उद्योगीहरूले पनि सहकारी क्षेत्रमा साना, मध्यम र अलिकति मझौला खालका उद्योग भयो भने त्यसको अन्तरसम्बन्धले हामीलाई नै सहयोग पुग्छ भन्ने बुझेनन् । 

बचत तथा ऋण सहकारी पनि विधिमा चल्न सके भने साना साना बचत परिचालन गर्छन् । त्यो पैसा ल्याएर बैंक मै राख्छन् । अनि एकमुस्ट पैसा आउँछ र हाम्रो लागत घट्छ । अर्को कुरा हामी नपुगेको ठाउँमा सानो लगानी गरेर सहकारी पुग्छन् । समग्र वित्तीय प्रणालीमा परिपुरकको काम गर्छन् र सन्तुलन कायम हुन्छ भन्ने उनीहरुले बुझेनन् । सहकारी र वित्त कम्पनीहरुको बीचमा समन्वयको खाँचो भयो ।

अभियन्ताहरूले पनि जुन खालको खाका र रणनीति बनाएर अघि बढ्नुपर्ने र आफु जुनसुकै दलको राजनीतिमा आवद्ध भएता पनि यो क्षेत्रलाई विशुद्ध सहकारी र व्यवसायिक र सिद्धान्तका आधारमा चलाउनुपर्छ भन्ने कुरा बिर्से । त्यसकारण पनि अहिलेको परिस्थिति सिर्जना भएको हो । 

सहकारीमा समस्या आउनुमा राज्य, अभियन्ता, स्थानीय तह राजनीतिक दल, सञ्चालक र सदस्यहरू सबैको कमजोरी छ । कमजोरीको अनुपात फरक होला तर कमजोरी सबैको छ । अब यसलाई सकारात्मकतातर्फ लान सबैले आफ्नो कमजोरी नियालेर हेर्नुपर्छ । 

सहकारीका समस्याले वित्तीय क्षेत्रमा भुक्तानीको जालो निर्माण गरेको छ । अहिले उत्पादन मुलक क्षेत्रमा लागेका र क्षेत्रगत सहकारीभन्दा वित्तीय क्षेत्रमा लागेका सहकारी र लघुवित्त, बैंक र गाउँका केही साहुँ मिलेर नेपालको समग्र वित्त प्रणाली चलाइरहेका छन् ।

वित्तीय क्षेत्रको रोग सरूवा जस्तै हुन्छ । यो संवेदनशील क्षेत्र भएकाले एक ठाउँमा लागेको रोग अर्को क्षेत्रमा पनि लाग्छ । सहकारी क्षेत्रमा समस्या देखिन थालेपछि विकृतिहरू पनि देखिन थाले । यसको असर लघुवित्तमा पर्यो । लघुवित्तमा परेको समस्याले समग्र वित्त क्षेत्रमा चुनौतीहरू देखिन थालेका छन् । एक ठाउँबाट ऋण लिँदै अर्कोमा तिर्दै गर्ने चक्र चलिरहेको थियो । तर एक क्षेत्रमा समस्या देखिएपछि स्वतः यसको असर अर्कोमा अर्कोमा गर्दै सर्यो ।

सहकारीले ग्रामीण भेगमा ६ खर्ब भन्दा बढी को स्रोत परिचालन गरिरहेको थियो । त्यसमा समस्या पर्नासाथ समग्र भुक्तानी प्रणालीमा असर देखियो । सहकारीमा आउनुपर्ने पैसा पनि आएन । भएको पैसा पनि धमाधम निकाल्न थाले । यसले गर्दा राम्रो चलेका सहकारीले पनि धान्न सकेनन् र अन्ततः केहीँ सहकारी डुब्ने स्थितिमा पुगे ।

विश्वव्यापी रुपमा पनि यस्ता समस्या आउँछ । यसलाई विधि, पद्धति र विश्वासले बाँधेर राख्ने क्षेत्र हो । विश्वास ढल्मलायो भने सबै चर्मराउन थाल्छ । यसमा राज्य संरचना बेलामा सचेत नहुनु प्रमुख दोषी हो ।

अबको निकास

सहकारी क्षेत्रको सुधारको अबको निकास भनेको जसरी रोग लागेको छ त्यो खोज्न जरैसम्म पुग्ने नै हो । सहकारी र लघुवित्तको क्षेत्रमा स्रोत साधन हुनेले लिएको ऋण तिरिदिने हो भनेपनि अहिलेको ३० प्रतिशत समस्या समाधान हुन्छ । अहिले कमसल धितो र खराब मनसायले ऋण लिएकाहरू एकथरी छन् भने अर्को थरी ऋण लिएर व्यवसाय गरेपनि कोरोना महामारी र अन्य कारणले गर्दा तिर्न नसकेकाहरू छन् ।

अहिलेसम्म कनिकुथी ऋण तिरिरहेकाहरू पहिचान गरी वर्गीकरण गर्नुपर्छ । खराब मनसायले ऋण लिएका अर्थात् लिएको ऋण नतिर्नेहरूलाई अब राज्यले पनि कडा कारबाही गर्नुपर्छ । पासपोर्ट रद्द गर्नेदेखि राज्यबाट पाउने सेवा सुविधा लगायत सम्पत्ति नै रोक्का गर्न समेत सरकार पछि हट्न हुन्न ।

तर, अवस्था कमजोर र धेरथोर कर्जाको सावाँ ब्याज (किस्ता) चलाइरहेकाहरुको हकमा कर्जाको पुनरतालिकीकरण गरेर राहत दिएर सहजीकरण गर्नुपर्छ । सहकारी सञ्चालक र व्यवस्थापकहरूलाई पनि उनीहरूको कार्यशैली र परिस्थिति हेरेर आवश्यक रूपमा प्रोत्साहन र बेइमानी गर्नेलाई कारबाहीको व्यवस्था गर्नुपर्छ ।

यसका साथै स्थानीय निकायको भुमिकालाई स्पष्ट पारी प्रकृतिजन्य हिसाबले कामको जिम्मेवारी दिनुपर्छ । तसर्थ सहकारी अनुगमन र नियमन गर्ने, वित्त क्षेत्र जस्तो न्यायाधिकरणको व्यवस्था गर्ने र दिर्घकालमा समग्र सहकारी क्षेत्र सम्बन्धमा रणनीतिक योजना तयार गर्नुपर्छ ।

आउँदो २५ बर्षभित्र सहकारी क्षेत्रलाई कसरी विस्तार गर्ने ? भन्ने स्पष्ट नीति राज्यले बनाउनुपर्छ । उत्पादन मुलक, सेवामुलक र वित्तीय संस्थाबाट हुने लगानी, उत्पादन, आर्थिक क्रियाकलाप र रोजगारीका सम्बन्धमा २५ बर्षको लक्ष्य निर्धारण गर्नुपर्छ । यसका लागि राज्यले स्रोत र साधनको सुविधा भनेर खाका तयार गर्नुपर्छ । (कुराकानीमा आधारित)

Advertisment

थप समाचार