Below Menu
Below Menu

सहकारी सिङ्गो अर्थतन्त्रको आधार: मन्त्री अधिकारी

सहकारी सिङ्गो अर्थतन्त्रको आधार: मन्त्री अधिकारी

लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताएका छन्।

बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि अध्यादेश ल्याएको बताए।

उनले सहकारी स्वनियमनकारी निकायका नाममा अत्यन्तै खुकुलो नीति बनाउँदा समस्याग्रस्त बन्दै गएको  बताए। “अहिले सहकारीबाट लगेको रकम तिर्नुपर्दैन भन्ने भ्रम छरिएको छ र अर्को सहकारीमा किन बचत गर्ने भन्ने भ्रम सृजना गर्ने काम भएका छन्”, उनले भने, “देशैभरका सहकारीले एकैपटक यसका विरुद्ध सचेतना अभियान चलाउनु पर्दछ ।”

उनले सहकारीमा देखिएका समस्या समाधान गर्न विसं २०७४ को सहकारी ऐन पर्याप्त नभएकाले समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पारे। अधिकारीले हरेक कानुन समयक्रमसँगै संशोधन आवश्यक हुने भएकाले सहकारीसम्बन्धी अध्यादेश पनि नागरिकका समस्या समाधान गर्न ल्याइएकाले यसमा सहजीकरण गर्न आग्रह गरे। 

मन्त्री अधिकारीले वर्षौदेखि बसिरहेको जमिनको मालिक बनाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि बताए। 

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहकारी क्षेत्रका असल अभ्यासका विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने बानीको विकास भएमा सहकारी क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउन सकिने बताए। उनले सहकारीको बचत रकम अपचलन गर्ने करिब छ सय जना प्रहरी हिरासतमा रहेको र १५ सयभन्दा बढी फरार रहेको जानकारी दिए।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीको सुशासनका लागि संघ तथा महासंघहरू सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै सरकारले सहकारी क्षेत्रको महत्व बुझ्न आवश्यक रहेको औंल्याएका थिए।

Advertisment

थप समाचार