Below Menu

जेन जी आन्दोलन र सहकारीमा नेतृत्व परिवर्तनको सवाल

जेन जी आन्दोलन र सहकारीमा नेतृत्व परिवर्तनको सवाल

समयको वेगसँगै जेन जी पुस्ताको आन्दोलनले राज्यको शासकीय स्वरुपको पुनर्संरचनाको आवश्यकतालाई प्रस्ट्याएको छ । यो हर क्षेत्रमा लागु हुन्छ भनेको पनि हो । त्यसो भए नेपालको संविधानले आर्थिक विकासको एक खम्बाको रुपमा स्वीकार गरेको सहकारी क्षेत्रको समिक्षा पनि आवश्यक छ । नेपालको सन्दर्भमा सहकारीले आफ्नो पहिचान पूर्ण रुपमा स्थापित गर्न नसकेको कारणलेनै सहकारीको औचित्यता फेरी एक पटक पुष्टी गर्र्न सक्नु पर्ने भएको छ ।

Sponsored Advertisement

प्रमुख रुपमा उठ्ने गरेको सहकारी नेतृत्व, नेतृत्वको सोच, जीवनशैली र कार्यपद्धति यसका कसीका रुपमा रहेका छन् । राष्ट्रस्तरमा हेर्ने हो भने नीतिगत एवं कार्यान्वयन तहमा भएका व्यापक बेथिति, नृतृत्वमा देखिएको उत्ताउलोपन र भ्रस्टाचार, नेपोटिजमको पराकाष्ठ लगायतका जनजीविकाका सवाललाई लिएर सेप्टेम्वर ८, २०२५ को जेन जी पुस्ताको आन्दोलनले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक प्रणालीमा देखिएको सुद्घिकरणको हतारोलाई उजागर गरेको छ ।

उल्लेखित सवालहरुमा व्यापक सुधार गरी उचित सम्बोधनार्थ भएको दोस्रो दिन सेप्टेम्वर ९ भने आन्दोदलनले विधोम्सात्मक रुप लियो । अनगिन्ती स्वार्थ समूहहरुको अनगिन्ती स्वार्थ पुरा गर्ने थलो राज्यका धरोहर, प्रशासनिक निकाय, निजी घराना र व्यक्तिगत सम्पत्ति भईसकेका थिए । परिणामत यस आन्दोलनमा आशंका गरिएको राष्ट्रिय अन्तर्राष्ट्रिय संगठनको डिपस्टेटिजमलाई भने बहुत ख्याल गर्नुपर्ने हुन्छ । जे भएता पनि आम नेपालीले बुझ्ने गरी भन्दा आन्दोलनले दिएका प्रमुख २ वटा सन्देशहरु १) शासकिय स्वरुपमा पुनसंरचना २) वस्तु तथा सेवा प्रवाहमा कोर्ष करेक्सन । 

शासकीय स्वरुपको पुनर्संरचनाको एक अंगको रुपमा थियो नेतृत्व परिवर्तन भने कोर्ष करेक्सनको प्रमुख सवाल थियो सुशासन । चालु संविधान भित्रै रहेर सक्रमणकालिन समय गुजार्ने तर संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदको समयावधि, संघीयताको खारेजी तथा सुशासनको प्रत्याभूति गर्ने अवस्थाको माग उक्त आन्दोलने गरेको देखिन्छ । यस परिस्थितिमा नेतृत्व परिवर्तन त्यसको प्रमुख आधार हुने नै भयो ।     

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा लामो समयदेखि देखिँदै आएको भ्रस्टाचार, बेथिति, मनोमानी प्रवृत्ति र उत्तरदायित्वको अभावले आजको विद्रोहलाई जन्म दिएको निश्चित छ । मेलिनियल पुस्ताले गलत कुराको प्रतिवाद गर्न नसकेका कारणनै जेन जि को असन्तोष विस्फोट भएको छ । सेवा प्रवाहमा देखिएको बेथितिले सँस्कृतिकै रुपमा जरो गाडेको छ । 
त्यसो भए यस पस्थितिमा सहकारी क्षेत्रको दृष्टिकोण के हो त भन्ने सवाल आउँछ । राज्यको तेस्रो खम्बाको रुपमा स्वीकार गरिएको सहकारी क्षेत्रमा यो बेथिति झनै व्याप्त छ ।

राजनीतिक दलको सिफारिसमा अझ भनौ राजनीतिक निर्णयका आधारमा नेतृत्वको चैन हुने, उहि अनुहारहरुबाट आलापालो पद धारण गरिरहने, स्वार्थ समूहको प्रभावमा नीति, कानूनको निर्माण गर्ने गराउने, नियुक्ति प्रक्रियालाई आवश्यकताका नाउँमा आफ्नालाई भर्ति गर्ने, व्यवस्थापनको व्यावसायिकतामा पटक पटक हस्तक्षप र प्रहार गर्ने, प्रणाली शून्यताको बाटोतर्फ धकेलिने, पुरातनवादि शैलीबाट माथि उठ्न नसक्ने, भाषण, माला, खादा र औपचारिकतामै अत्यधिक समय वेथित गर्ने, साधारण सभाको सर्वोचतालाई औपचारिकतामा सिमित गर्ने, युवा नेतृत्व प्रति सकारात्मक दृष्टिकोण राख्न नसक्ने र निरंकुश कार्यशैलीलेनै सहकारी महासंघ, संघ र संस्थाहरु कठघरामा उभिनुपर्ने बाध्यताको सृजना भएको छ ।

अर्को शव्दमा भन्ने हो भने जसरी दुई दिने जेन जी आन्दोलनको बीचैमा अवान्छित तत्वबाट हाइज्याक भएको थियो त्यसैगरी सहकारी क्षेत्रमा समेत वास्तविक सहकारीकर्मीहरुलाई पछि पारी संभ्रान्तहरुले हाईज्याक गरेको अवस्था छ । फलत सदस्य केन्द्रित भन्दा पनि अवसर केन्द्रित भएर सहकारी अभियान अघि बढिरहेको छ र सहकारीमा समस्याको चाङ लागेको छ । यसो भन्दै गर्दा समुदाय केन्द्रित असल नियतले संचालनमा रहेका सहकारी यसको दायरा भन्दा बाहिर छन् र त्यँहा आशा पनि छ । यस्तो स्थितीमा नेपालमा सफल भनिएका वित्तीय कारोबार गर्ने सहकारीहरुनै अहिले चरम संकट व्यहोरीरहेका छन् र बचतकर्ताहरुको बचत रकमको दुरुपयोग भएका छन् ।

यस पृष्ठभूमिमा सम्पूर्ण तहबाट आवाज उठ्न थालेको छ र विद्रोहको ज्वाला भुसको आगो जस्तै फैलिएको छ । तत्कालै कोर्ष करेक्सनमा नजाने हो भने हालको नेतृत्व पक्तिको औचित्यता पुष्टी गर्नुपर्ने हतारो भइसकेको छ ।  सहकारी क्षेत्रमा समेत शासकीय स्वरुपमा आमुल परिवर्तन मार्फत प्रणालीगत सुधार गर्न कत्ति पनि ढिला गर्नुहुँदैन । अहिलेको परिवर्तनको आंकाक्षालाई बुझेरनै हामीले हाम्रो पद्धति, कार्यशैलीलाई रुपान्तरण गर्नुपर्छ । 

नेतृत्वमा देखिएको अराजकता, व्यक्तिगत स्वार्थ, अपरिपक्वता र विदेश सयर गर्ने लोभले सहकारी अभियानलाई कमजोर बनाएको हो । अर्काे कारण सहकारी जस्तो मुल्य र सिद्घान्तमा आधारित सामाजिक व्यवसायलाई समेत दुषित बनाउन राजनीतिक हतकन्डालाई अघि सारिएको छ । यो सहकारीको बिरोधका शव्दहरु मात्र होइनन् यो त समय सापेक्ष शुद्धिकरणको आवश्यकताले डोहोर्याएको तथ्य हो । फरक मत वा फरक विचार सुन्न सक्ने संस्कृति छैन । आलोचना गर्ने स्वतन्त्रता छैन, चिन्तनको लागि समय छैन, स्वच्छ प्रश्न उठाउनै नहुने वायुमण्डल बनाइएको छ । विशेषरी सहकारीका माहु संगठनहरुमा सुधारको आवश्यकता छ । त्यसैले कुवा सफा गर्दा फोहोर पानी निस्किए पनि समय सँगै त्यो सफा हुन्छ  र जेन जीको आन्दोलनको सन्देश पनि यहि हो । आन्तरिक प्रजातन्त्र र सुशासन । 

उदाहरणको लागि अहिले बचत तथा ऋण सहकारीहरूको दिगोपना बारे बहस गर्नुपर्ने बेला हो, तर उपल्लो निकायका नेतृत्व पक्ति कहाँ अल्मलिएको छ ? वैदेशिक कार्यक्रममा ? वा व्यक्तिगत विदेश भ्रमणमा वा समूहगत लाभमा ? प्रश्न उठ्नु स्वभाविक भएको छ ।  

आज खोई त सहकारी नेतृत्व अझ भनौं व्यवस्थापनमा समेत युवाहरुको सहभागिता र निर्णय प्रक्रियामा सामेल । खोई प्रविधि र नविनतम ज्ञानलाई स्विकार गर्न सकेको । खोई त परिवर्तित व्यवस्थापन लागू गरेको ? अनि सदा त्यही नेतृत्व शैलीलाई स्वीकार गर्नुपर्ने ? यो कस्तो वदनियत हो । खोईत हाम्रा आन्तरिक नीति, कार्यविधिको पालना भएको, खोईत आवधिक योजनाको कार्यान्वयन र समिक्षा भएको । खोईत राज्य सामु अभियानको एकिकृत धारणा बनाउन सकेको ।  

अतः स्वार्थ केन्द्रित नेतृत्वको आवरण संस्था, संघदेखि महासंघसम्म एथेस्ट देखिन्छ । बहुपदिय बिल्ला भिरेका कतिपय नेतृत्वलाई अझै पनि यो चेत आएको छैन । नेतृत्वमा कार्यसम्पादन मूल्याङ्कनको परिपाटी शून्य छ । किन यस्तो भयो भनि प्रश्न गर्ने धरातल समेत बाँकी राखिएको छैन । ऐन कानुनलाई बेवास्ता गर्दै ताण्डव नृत्य गर्ने अभ्यास सामान्य बनेको छ । अध्यक्षको काम, कर्तव्य र अधिकारको व्याख्याको दुरुपयोग गरिएको छ र अधिकांस सहकारी संघ संस्थामा कार्यकारी प्रमुखको अधिकार क्षेत्रमा हस्तक्षेप गरिएको छ । 
आज जेन जी पुस्ता सशक्त रूपमा परिवर्तनको माग गर्दै सडकमा छन् ।

यसै सन्दर्भमा सहकारी क्षेत्रले युवालाई रोजगारी र स्वरोजगार दिने ठोस नीति बनाउनै पर्छ । नेतृत्व तह राजनीतिक अन्तर सम्बन्धबाट टाढा रहनुपर्छ । युवा नेतृत्व आउने अनिवार्य व्यवस्था गरिनुपर्छ । तेस्रो खम्बा हुँदाहुँदै पनि ब्युरोक्रेसीले यसलाई नजरअन्जाद गर्ने, ऐनमै लेखिएको कुरा पनि कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गरिनुपर्छ त्यसको लागि हामी सबैले हाम्रो कार्यशैलीलाई परिणामुखी र मापन योग्य बनाउनु पर्छ । देशको कुना काप्चासम्मको स्रोत साधानलाई स्थानीय जनतामा विकेन्द्रीत गर्ने यो आर्थिक मोडेललाई अबका प्रशासकले कार्यान्वयन गर्नुपर्छ । स्वरोजगारी सिर्जना गर्न, साना र मझौला उद्योग र स्थानीय साधन स्रोतबाट स्थानीयस्तरलाईनै लाभ पुग्ने गरी योजना बनाउनुपर्छ । 

सारमा सहकारीले प्रणालीगत सुधार, परिवर्तित नेतृत्व, कार्यकारी सर्वोचता र स्मार्ट कार्यशैलीको विकास गर्न नसक्ने हो भने प्रतिस्पर्धाको यो युगमा सहकारी क्षेत्र यसै गरी पिल्सिरहनुपर्छ । रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र स्थानीय उत्पादनलाई प्रवाह गर्न र वित्तीय सहकारीमा जम्मा भएको पँुजीको परिचालन उत्पादन क्षेत्रमा गर्न नसकिएमा संकट अझ चुलिन्छ र बढ्दै गएको वितृष्णा बिद्रोहमा परिवर्तन हुन्छ ।  

त्यसोभए अबको सहकारी कस्तो त ? भन्ने पनि जिज्ञासा आइहाल्छ । अन्य धेरै एजेण्डामा छलफल गर्नु पर्दैन । सहकारीको पहिचान स्थापित गर्ने कार्य जस्तैः सहकारीको सामुदायिक छवि बनाउन कहाँ कहाँ चुकेका छौं । म म भन्ने ककस्ले ? त्यसको समिक्षा गरौं । बचत परिचालन कस्का लागि ? र निरन्तरको वित्तीय साक्षरता किन ? कस्को जीवनस्तरमा सुधार आउनुपर्ने हो ? उद्यमशीलता विकासमा गर्ने लगानीको लक्षित वर्ग को हो ? त्यसको परिणाम कस्तो हुनुपर्ने र त्यसको प्रमूख कार्यसम्पादन सुचकाङ्क के हुन् ? परियोजनामा गर्ने लगानीको अन्तिम लक्ष्य र त्यो लक्ष्य पुरा गर्ने क्रियाकलापमा साँच्चै तादम्याता छ ? समुदाय केन्द्रित क्रियाकपालमा के नयाँ कुरा दिन सकिन्छ ? प्रविधिमा सदस्यहरुलाई कसरी सचेत र सहभागी गराउन सकिन्छ आदि आदि सकारात्मक सुरुवात । 

अन्त्यमा हामी यसो र त्यसो गर्न तयार छैनौं भने र राजनीतिक रुपमा यसलाई आफ्नो सिँढी मात्र बनाईराख्ने मनसाय बोकेका छौं भने अब समय आयो । तत्काल सहकारी क्षेत्रको पुनर्संरचना र प्रणालीगत सर्वोच्चताको लागि महासंघ, संघ र संस्थाहरुको सञ्चालक समिति र व्यवस्थापनको समिक्षा र नेतृत्व परिवर्तनको छलफल हुनैपर्छ । नैतिकताको आधारमा हाल सञ्चालक समिति तथा व्यवस्थापन ओगटेर प्रत्युत्पादक कार्यमा संलग्नहरुले यो पेचिलो सवालको किनारा लगाउनुपर्छ । विनियम परिवर्तन गरेरै भएपनि परिवर्तनका खातिर त्यस्तो नेतृत्वशैलीले सौहाद्रपूर्ण रुपमा पदबाट राजिनामा दिनुपर्छ र नेतृत्व पुस्तान्तरणको लागि मार्गप्रशस्त गर्नुपर्छ ।

युवाहरुको रोजाईमा नेतृत्व स्थापित हुनुपर्छ नकी प्रणालीमा भएको प्रहारको साक्षी । सहकारीमा हुने अनुभूतयोग्य परिवर्तन व्यक्तिको मात्र परिवर्तन हैन, यसको कार्यशैली, कार्य प्रणाली र संस्थागत कार्यदिशाको समेत परिवर्तन हो । हालको नेतृत्वमाा विद्यमान सकारात्मक अनुभवको सल्लाह र युवा पुस्ताको सशक्त नेतृत्वलेनै हाल सहकारीमा उठेका सवालहरुको निराकरण गर्दे सफल सहकारी व्यवसायका रुपमा अघि बढाउन सकिन्छ । हामी आशावादी छौं र आजको एक मात्र आवश्कता यही हो ।

Sponsored Advertisment