राज्यले लिएको कमिशन नघट्ने, ब्रोकरको मात्र किन?
नेपाली शेयरबजारमा करिब १६ वर्षपछि नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन् । हाल ५६ लाखको हाराहारीमा शेयर लगानीकर्ताहरु छन् । नेप्सेले २०७७ सालमा गरेको अध्ययनले १३० वटा नयाँ धितोपत्र दलाल सदस्य थप गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजिनक गरेको थियो । नेपाल धितोपत्र बोर्डले ४३ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएसँगै नेपालमा ९३ ब्रोकर कम्पनी पुगेका छन् । थप भएका नयाँ कम्पनीहरुले छुट्टै संगठन धितोपत्र ब्रोकर एशोसिएसन नेपाल स्थापना गरेका छन् । एशोसिएसनले पुँजी बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधारको लागि बहस र पैरवी गर्दै आएको छ ।
नेप्सेले पास गरी स्विकृतीको लागि सेबोन पठाएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०७९ को सम्बन्धमा सेबोनलाई एशोसिएसनले ज्ञापन पत्र समेत बुझाएको छ । पुँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने व्यवस्था संशोधन गरेर मात्रै पास गर्न एशोसिएसनले ज्ञापनपत्र बुझाएको थियो । प्रस्तुत छ यी लगायत समग्र पुँजी बजारको विषयमा केन्द्रीत रहेर धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालसँग वित्तीय पोस्टकी संंम्वाददाता सम्झना बरुवालले गरेको कुराकानीको संम्पादित अंशः
नेपालको जस्तो सानो पुुँजी बजारका लागि यति धेरै ब्रोकर कम्पनी आवश्यक छ?
करिब १६ वर्षपछि नेपालमा नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन् । अहिलेको नेपाल स्टक एक्सजेन्ज लिमिटेड (नेप्से) मा भएका लगानीकर्ताको संख्या हेर्दापनि कोरोना महामारीपछि ५६ लाखको हाराहारीमा पुगेका छन् । त्यसका आधारमा नेपालमा १२० वटा ब्रोकर कम्पनी आवश्यक छ भनेर अध्ययन समितिले निष्कर्ष निकालेको थियो । नेप्सेले नै ब्रोकरको संख्या थप्ने भनेर लागि परेका थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कारण नै काम रोकिने गरेको थियो ।
नयाँ ब्रोकरको लाइसेन्स फरक तरिकाले ल्याइएको छ । २० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएको नयाँ ब्रोकर आएका छन् । डेढ अर्ब रुपैयाँ पुँजी भएको नबिल सेक्युरिटी आएको छ । यो स्टक डिलर हो । यसले सबै काम आफ्नो कम्पनीबाट गर्न पाउँछ । नयाँ आएको ब्रोकरमा स्टक डिलरको पनि शूरुवात गर्दै हुनुहुन्छ । एक हप्ताभित्रै उक्त सेवाको शुरुवात गर्दै हुनुहुन्छ । ६० करोड क्यापिटल भएको ब्रोकर मार्जिन ल्यान्डिङसहितको आएको छ । यसले पनि अहिलेसम्म हुन नसकेको मार्जिन ल्यान्डिङको शुरुवात गर्दैछ ।
तेस्रो, २० करोड क्यापिटलको ब्रोकर आएको छ । क्यापिटलको साइजले पनि बजारलाई थप सहयोग पुर्याउँछ । हिजो २ देखि तीन करोड क्याटिल भएका ब्रोकरहरु थिए । अहिले क्यापिटलको साइज पनि बढेका कारण लगानीकर्ताहरुलाई सहज हुन्छ । नयाँ प्रोडक्ट र प्रविधिहरु ल्याउनका लागि पनि सहजीकरण गर्छ । नयाँ ब्रोकर आएपछि आफैले कुनै प्रोडक्ट डिजाइन गरेर लन्च गर्न पाउँदैन । सेबोनको अधिनमा रहेर काम गर्नुपर्नेछ । यसले गर्दा पनि नेप्सेको तर्फबाट केही प्रोडक्टहरु ल्याईदियोस् भन्ने हाम्रो माग छ । नेप्से ल्याएका प्रोडक्टहरुको कार्यान्वयन गर्न हामी तयार छौं ।
डिम्याटको हकमा पनि हिमालयन ब्रोक्रेजले आजिवनको अफर ल्याएको छ । अन्य कम्पनीहरु लगानीकर्ताहरुलाई सहजीकरणका लागि अझै धेरै सुविधा सहित पनि आउनुभएको छ । नयाँ आएका ब्रोकरमा जस्तो सेवा सुविधा राम्रो छ त्यही कम्पनी रोजेर जाने वातावरण भने बनेको छ । लगानीकर्ताको सेवा सुविधालाई नै प्राथमिकतामा राखेर नयाँ कम्पनीहरु लगिरहेका छन् । अनलाइनमार्फत नै केवाइसीसहितको सेवाहरु लन्च गर्न लागिरहेका छौं ।

काठमाडौं उपत्यकामा ब्रोकरको संख्या हेर्दा नयाँको आवश्यकता खासै देखिदैन, उपत्यकाबाहिर जान नयाँ ब्रोकर कम्पनीले गरेको प्रतिबद्धता पुरा गर्लान्?
हामी बाहिर जान तयार छौं । सबै मापदण्ड पुरा गर्दा शाखा कार्यालयहरुको सञ्चालन खर्च बढी छ । तसर्थ उपत्यका बाहिर त्यति काम गर्न सकिएको छैन । हामीले पहिलेदेखिनै बैंकलाई लाइसेन्स दिनुपर्छ भनेका थियौं । बैंकले लाइसेन्स पाएका भए सबै शाखाहरुबाट एकैपटक हुन्थ्यो । शाखा कार्यालय विस्तारका लागि आवश्यक कार्यविधिका कारणले अहिलेका कम्पनीहरुले कारोबार गर्न त्यति सहज छैन । डिम्याटको समस्या समाधान भएको छ । जुन बैंकको शाखामा गएपनि डिम्याट खोल्न सकिन्छ । यसलाई एजेन्सी मोडलमा लगेर अहिलेको सेवालाई उपत्यका बाहिर जान सक्ने शाखा कार्यालयहरुमा कम शुल्कमा सेवा दिन सकिने हिसाबले जानुपर्छ । यसका लागि पनि सेबोनले नियमावली र कार्यविधि संशोधन गर्नुपर्छ ।
हिमालयन ब्रोक्रेजले इटहरी बुटवल लगायत केही शहरहरुमा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । उपत्यका बाहिर पनि सबैले सहज रुपमा यसको सेवा लिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि सेवा लिइरहेका छन् । हाम्रो चाहना प्रविधिको विकास सँगसँगै लगानीकर्तालाई घरमै बसेर कारोबार गर्न सकिने गरी सेवा प्रदान गर्ने हो ।
उपत्यका बाहिर शाखा कार्यालय विस्तारमा के कस्ता चुनौती छन्?
क्यापिटल मार्केट सबैजनाको पहुँच र लगानीकर्ताको लागि सेकेन्डरी मार्केट हो भन्ने कुरा बुझ्नु हुँदैन । सेकेन्डरी मार्केटमा केही रिक्सहरु पनि छन् । कहिलेकाँही सानो नीतिका कारण ठूलो परिवर्तन आइदिन्छ । यो मार्केट सबैचिज बुझेको मान्छेहरुको लागि हो । लगानीकर्ताले गरेको लगानीको जिम्मेवारी कुनै पनि कम्पनीले लिदैन । त्यसको जिम्मेवार लगानीकर्ता नै हो । तसर्थ जनचेतनाको सँगैसँगै पुँजी बजारको विकास र यसको दायरा पनि विस्तार गर्नुपर्छ । अहिलेको स्थितिमा नै ग्रामिण भेगका लगानीकर्ताहरुले शेयर किन्नुपर्छ भन्ने हिसाबले गयो भने यसले कहीँ न कर्ही दुर्घटना निम्त्याउन सक्छ । शहरमा नै कति नबुझेका छन् । पुँजीबजारका बारेमा सचेतनामूलक कार्यक्रमहरु पनि निकाल्नुपर्छ र यो आवश्यक पनि छ ।
केहिदिनअघि एशोसिएसनले ब्रोकर कम्पनी कारबाहीको स्वरुप परिवर्तन गर्न बोर्डसँग माग गर्दै निलम्बनको सट्टा नगद नै जरिवाना गर भन्नुभयो । यसको तात्पर्य के हो?
नेप्सेले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधनको तयारी गरेको छ । उक्त विनियमावली संशोधन गरी स्विकृतीको लागि सेबोन पठाएको छ । उक्त विनियमावलीमा क्लोज आउटको कुरामा तीन दिनको अफर दिएको छ, त्यसलाई १५ दिन बनाउने भनिएको छ ।
त्यसमा पहिलो गल्ती ब्रोकरले गर्ने अनि त्यसको पेनाल्टी लगानीकर्तालाई किन दिने? यो जाहेज छैन । एक जना लगानीकर्ताले १५ दिनसम्म कारोबार गर्न नपाउने? यसको पछाडिको तर्क ठिक छैन । हाम्रो भनाई ब्रोकरले फाइनान्सियल्ली पैसा नपुगेर क्लोज आउट गरेको केश हो भने पैसा कै पेनाल्टी लगाईदिनु भन्ने हाम्रो माग हो । ब्रोकरलाई तीन दिन निलम्बनमा राख्नुभन्दा पेनाल्टी लगायो भने राज्यलाई फाइदा पनि भयो र ब्रोकरहरु सचेत पनि हुने भए ।
दोस्रो कुरा ब्रोकरमा शेयरहोल्डरहरुको घरपरिवार कसैले पनि कुनै ब्रोकरमा शेयर किन्न नपाउने भनेर लेखेको छ । यो गलत छ । पहिलेको जस्तो तीन जनाको मात्र शेयर छैन । अहिलेको एउटै ब्रोकरमा ७० देखि ८० जना शेयरहोल्डर छन् । यो पब्लिक कम्पनी जस्तै भएको छ । अहिले ब्रोकरको संख्या ९३ पुग्छ । उहाँहरुले अहिले आफ्रनो ब्रोकर बाहेक अन्त कारोबार गर्न नपाउने व्यवस्था गरेमा सबैभन्दा सहज नियामक निकायलाई तथ्यांक खोज्न सजिलो हुन्छ ।
ब्रोकर कम्पनीहरुले कहाँ कहाँबाट काम गरिरहेको छ भनेर खोज्नुभन्दा एउटा कम्पनीबाहेक अन्त कारोबार गर्न नपाउने व्यवस्था गरेर १५/१५ दिनमा रिर्पोट माग्नु भयो भने हामी रिपोर्ट दिन तयार छौं । यसले सबैलाई सहज पनि हुन्छ । नियामक निकायले हेर्न खोजेको इन्साइडर ट्रेडिङदेखि लिएर सबै कुरा सहज रुपमा देखिन्छ ।
आचारसंहितामा उहाँहरुले केही कुरा राख्नु भएको छ । अनुसूची ९ को ११ नम्बर बुँदामा कम्पनीले अरुमा कारोबार गर्न नपाउने भनेको छ । यसको अर्थ ब्रोकरले शेयर किन्न नपाउने भन्ने हो । ब्रोकरहरुले अहिले अरु कम्पनीबाट कारोबार गरिरहेका छन् । अहिले भएको व्यवस्थाले लगानी र ठूलो साइजको क्यापिटलको कुरामा कम्पनीले अन्यन्त्रबाट शेयर किन्न सक्ने व्यवस्थाले नै थप सहज गर्छ । अझ भनौं बजारलाई विकास गराउने भनेको ब्रोकर कम्पनीले नै हो । उहाँहरु नै शेयर किन्न बञ्चित हुनुभयो भने बजार कसरी अगाडी बढ्छ ।
धितोपत्र बोर्डबाट लागू भएको २ वटा डिम्याट खाता सम्बन्धी निर्देशन पनि खारेजी हुनु पर्ने माग गर्नु भएको छ । यसलाई खुला छोड्न बजारमा विकृति मौलाउँदैन?
यो वास्तवमा बैंकमा खाता खोलेजस्तो कुरा हो । पहिलेको पुँजी बजारको अभ्यासमा लगानीकर्ताले २५ प्रतिशत पैसा लगानी गर्यो भने बाँकी ३ देखि ४ पटक कारोबार गर्न ब्रोकर कम्पनीले लिमिट दिन्छ । तीन दिनभित्र त्यो पैसा हाल्नुपर्छ भन्नेमा मान्यतामा यस्तो सुविधा दिइन्छ । ब्रोकर नै असुरक्षित भयो र क्लोज आउटमा पर्यो भने यसले लगानीकर्तालाई फाइदा गर्दैन । तसर्थ यसलाई जोखिम न्यनीकरणको औजारको रुपमा प्रयोग गरिएको हुन्छ । पहिले सिडिएससीको सिस्टमले नै आईपीओ भर्ने बेलाको त्यो समयमा एउटै मान्छेले ७ वटा सम्म डिम्याट बनाएर अप्लाई गर्यो र आईपीओ पर्यो ।
केही इररहरु देखिएपछि सबोनले यसको दुरुपयोग भयो भनेर २ वटा भन्दा बढी डिम्याट नखोल भन्यो । यो व्यवहारिक रुपमा कार्यान्वयन भएको पनि छैन । बजारमा दुईवटा भन्दा बढी डिम्याट पनि छन् । यसले घाटा कसैलाई पनि छैन । तर, ब्रोकर कम्पनीहरुलाई जोखिम न्युनीकरणका लागि भने यो आवश्यक छ । लगानीकर्तालाई केही घाटा छैन ।
ब्रोकर कमिसनको घटाउने विषय पनि चर्चामा आइरहेको छ, यसमा तपाईको धारणा के छ ?
ब्रोकर कसिशन घटाउनु न्याय संगत हुँदैन । तर, राज्य र लगानीकर्ताले यसलाई घटाउँदा सबैको घटाउनुपर्छ । सेबोन, सिडिएससी, नेप्से र ब्रोकर सबैको घटाउनुपर्छ । राज्यको ब्रोकर कमिसन चाँही कसहले नघट्ने अनि सधै ब्रोकर कम्पानीको मात्र कमिसन घट्नुपर्ने? घटेको कमिसन पनि सेप्रेट रुपमा आउनुपर्यो । यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि छ । कसले कति कमिसन लिएको छ भन्ने कुरा विवरण देखिनुपर्यो र लगानीकर्तालाई थाहा हुनुपर्यो । लगानीकर्ताले सेबोन, नेप्से, सिडिएससी र ब्रोकरलाई कति कमिसन तिरेको छ भन्ने कुरा बिलमा छुट्टिएर आउनुपर्छ । सबैको कमिसन ब्रोकरकोमा आएर एकै चोटि देखिएको छ । सरकारले आफ्नो चार्ज नघटाउने अनि ब्रोकरको कसमसन चाँही घटाइरहनुपर्ने । यो ठिक होइन लगानीकर्ताको हिसाबले कमिसन घट्यो भने भोलुम बढ्छ र फाइदा हुन्छ भन्ने कुरा राज्यको तर्फबाट मात्र हो ।

धितोपत्र ब्रोकर एसोसिएसनको अध्यक्षको हैसियतले अहिलेको शेयर बजारलाई कसरी हेर्नु भएको छ ?
शेयर बजारको उचारचढावको विषयमा ब्रोकरले धेरै भन्न त मिल्दैन । हामी सेवा दिने क्षेत्रमा छौं र यो लगानीकर्ताको कुरा हो । तर, कोरोना महामारीपछि देखिएको आर्थिक संकुचनको असर पनि हो । एकातिरको आर्थिक संकुचन र अर्कोतिरको राज्यका नीतिहरु प्नि शेयर बजारलाई नै लक्षित गरेर आएका छन् ।
शेयर बजारमा लगानी गर्ने रकममा राष्ट्र बैंकको सिमा छ । मार्केटमा कति लगानी गर्ने भन्ने कुरा राष्ट्र बैंकले नै तोकिइरहेको छ । बैंकले एउटा सेक्टरलाई पैसा छुट्याउन सक्छ । तर, राष्ट्र बैंक एकदमै सुक्ष्म तहको व्यवस्थापनमा लाग्यो कि भन्ने लाग्छ । उद्योग, घरजग्गाको कारोबार, विपन्न वर्गका लागि दिइने कर्जा लगायतका क्षेत्रमा लगानी छुट्याउनु स्वभाविक हो । यसरी शेयर बजारमा गर्ने लगानी पनि छुट्ट्याइदिएको भए बजार घट्नु र बढ्नुमा लगानीकर्ता सुझाव दिन्थे नीतिगत रुपमा राष्ट्र बैंकले लिने निर्णय पनि सहि थियो ।
तर, राष्ट्र बैंकले लगानीको लागि छुट्याएको पैसा पनि एक जनालाई कति दिने भनेर नीति बनाईएको छ । त्यो गलत हो । छुट्याएको पैसा एक जनालाई १२ करोड रुपैयाँ भन्दा बढी नदिनु भन्नु बजारलाई नै रोक्ने प्रवृति हो । बैंकको माथिल्लो सिमा स्पष्ट छ । तोेकेको भन्दाबढी लगानी गर्यो भने बैंक पनि डुब्छ भनेर लगानी नै गर्दैनन् । नीतिगत रुपमा लिएको निर्णय पनि परिवर्तन नगर्ने र बजारमा पैसा पनि नआएपछि बजारमा उचारचढाव देखिएको हो । आर्थिक संकुचन सँगै राज्यले लगानीकर्ताले उठाएको विषयलाई सम्बोधन नगर्दा बजारमा असर परेको हो । ब्याजदर घट्छ र बजार बढ्छ भन्ने अपेक्षा पनि देखिएन ।
नेपाली शेयर बजारलाई सुधार गर्न के गर्नुपर्छ ?
शेयर बजारका धेरै पाटाहरु छन् । सबैभन्दा पहिले त यसका औजारहरु बजारमा ल्याउनुपर्छ । यसमा पहिलो भुमिका नेप्सेले नै खेल्नुपर्छ । अहिलेको स्टक एक्सचेञ्ज नेप्से नै हो । यससँगसँगै प्रविधिका हिसाबले अहिले प्रयोग भएको सिस्टममा पनि लगानी गर्ने कुराहरुमा निजी क्षेत्रले पनि गरिरहेका छन् र गर्नुपनि पर्छ ।
यति धेरै नीतिहरु बनाउनुपर्ने छ । त्यसमा नेप्सेको नै बढी भुमिका छ । लगानीकर्ताहरुले त नेप्सेले ल्याएका औजारहरु आएपछि त्यसलाई प्रयोग गर्ने र त्यसको दायरा अझै बढाउँदै जाने हो । हाम्रो तर्फबाट गर्ने प्राविधिक सेवाहरु गरिरहेका छौं । पुँजीबजारको दायरालाई विस्तार गर्ने कुराहरुमा नेप्सेले नै अगाडी आउनुपर्छ । अहिले बजारमा जति औजारहरु ल्याउन सकिन्छ त्यसमा नेप्सेले पहल गर्नुपर्छ । र साथै सेबोनले पनि केही नीतिगत सुधारहरु ल्याउनुपर्छ ।
Advertisment