Below Menu
Below Menu

सकसपूर्ण परिस्थितिबीच सुखद क्लोजिङ्ग

सकसपूर्ण परिस्थितिबीच सुखद क्लोजिङ्ग

“सुखी सदस्य, दिगो सहकारी” भन्ने परिकल्पनाका साथ सदस्य सेवामा समर्पित हामी भर्खरै आर्थिक वर्ष २०८०/०८१ को सुखद विदाई गर्दै नयाँ आर्थिक वर्षमा प्रवेश गरेका छौं । साँचो अर्थमा भन्नुपर्दा गएको वर्ष निकै सकसपूर्ण र अन्यौलपूर्ण वर्षको रुपमा रह्यो । सहकारी अभियानको २५ वर्षे यात्रामा भोगेको सबैभन्दा तितो सम्झना सायद यो नै होला ।

खासगरि कोभिड १९ को दीर्घकालिन असर पश्चात् विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दी र व्यापार व्यवसायमा देखिएको शिथिलता सँगसँगै ठूला शहर केन्द्रित केही ठूला सहकारीमा अझ ठूला व्यक्तिहरुको संलग्नताको विषयसँग सम्बन्धित श्रृंखलाबद्ध समाचार र त्यसले ल्याएको नकारात्मक वित्तीय तरंगले समग्र सहकारी क्षेत्रलाई स्तब्ध बनायो । धेरै जसो संस्थाहरुको नियमित कार्यक्रम र योजना अस्वाभाविक रुपमा संसोधन गर्नुपर्याे, सदस्य वृद्धि लगभग ठप्प जस्तै भयो भने वित्तीय सूचकहरुमा प्रत्यक्ष असर पर्न गयो ।

ऋण तिर्न पर्दैन भन्दै अभियान थाल्ने समूहका कारण समेत धेरै जसो लघुवित्त र सहकारीको ऋण असुली प्रभावित बन्न पुग्यो । केहि नियतवस र केही व्यवस्थापकीय असावधानीका कारण कतै सहाकरीका सञ्चालक समिति त कतै कर्मचारी व्यवस्थापन र कतै सदस्यहरु स्वयं नियामक निकायको कारबाहीको दायरामा परे ।

करिब दर्जन जति सञ्चालकहरुको नाममा रेड कर्नर नोटिस नै जारी भएको समाचार यत्रतत्र फैलियो । सदस्यहरुको विश्वास र वित्तीय सन्तुलन कायम गर्दै सहकारी अभियानलाई सहि दिशामा डोर्याउनका लागि सहकारी संस्था, सहकारी अभियान, स्थानीय तह र सहकारी विभाग समेतले पटक पटक विभिन्न मार्गदर्शन र निर्देशनमार्फत असामान्य परिस्थितिलाई सामान्य बनाउन एउटा अभियान नै थाल्नु पर्याे। यो नेपालको सहकारी अभियानमा एउटा अर्थपूर्ण र अध्ययन अनुसन्धान गर्नुपर्ने विषय र घट्नाको रुपमा दर्ज भएको छ । 

यो सकसपूर्ण र विषम परिस्थितिमा पनि पोखरा रोयल साकोसले भने सुखद् नतिजाका साथ खाताबन्दी गरेको छ । Dance in the rain प्ठ्यारोमा पनि रमाउनुस् भन्ने उक्तिलाई आत्मसात गर्दै संस्थाले शुरुवाती दिनदेखि नै मिसन १०० लक्ष्यसहित सदस्य केन्द्रित १०० गतिविधी गर्ने महत्वकाँक्षी योजना अगाडि सार्याे । आर्थिक वर्षको पहिलो दिन नै १४० जना नयाँ सदस्य बनाउँदै रणनैतिक रुपमा एउटा जबरजस्त अभियानको थालनी गर्याे ।

वर्षभरि नै संस्थाले सदस्यसँग रोयल कार्यक्रममार्फत ६ हजार बढी सदस्यहरुमा संस्थाको वित्तीय अवस्था, भावी रणनीति बारे सहजीकरण गर्ने र सदस्य सेवाका गतिविधी सञ्चालन गरिरह्यो । सुन्दर भविश्यको लागि बचत भन्ने अभियानका साथ नियमित बचत अभियान, सदस्यलाई ऋणी होईन, उधमी बनाउने अभियान र सयौं सदस्यहरुलाई शीपमूलक तालिममार्फत क्षमता अभिवृद्धिका कार्यक्रमले संस्था र सदस्य बीच नियमित अन्तरकृया र भेटघाट भईरह्यो ।

वर्षभरि नै अन्य सहकारी संघ संस्था, सहयोगी निकाय र सहकारीकर्मीहरु सँग रोयलको असल अभ्यास र रणनीति सिक्ने र सिकाउने काम चलि नै रह्यो । वर्षान्तमा आईपुग्दा ५५९ जना नयाँ सदस्य थप भएको छ । समिक्षा अवधिमा बचत निक्षेपमा वृद्धि हुँदा ऋण लगानीमा भने घटेको छ, २ अर्ब २८ करोडको कूल वासलात बढेर २ अर्ब ५२ करोड भएको छ भने विद्युतीय सेवा लिने सदस्यहरुमा व्यापक वृद्धि भएको छ । समग्रतामा हाम्रो लागि यो सुखद् र स्मरणयोग्य क्लोजिङ्ग हो ।

वर्ष २०८०/०८१ जति चुनौतिपूर्ण रह्यो, यसले त्यति नै सचेतनामूलक शिक्षा सिकाएर गएको छ । सहकारीको मूलभूत सिद्धान्त, मूल्य मान्यता र आदर्शलाई व्यवहारमा लागु गर्ने, सधै सदस्यमूखी गतिविधिमा ध्यान दिने, संस्थागत सुशासनलाई आत्मसात गर्ने, वित्तीय सन्तुलन र अनुशासन कायम गर्ने, नीति विधी र प्रविधीलाई समय सापेक्ष बनाउने, सञ्चालक र कर्मचारीको आचार संहिता निर्माण र पालना, नाफा भन्दा सेवामा केन्द्रित हुने बजेट, जगेडाकोषमूखी संस्था निर्माणमा जोड र दिगो सहकारी निर्माणमा नीतिगत स्पष्टता आजको आवश्यकता हो भन्ने बुझेको छु ।

त्यो अन्यौलपूर्ण र सकसपूर्ण समयमा पनि सदस्यहरुले दिएको साथ र विश्वास शीरमा राख्दै सहकारी क्षेत्रको शुद्धिकरण, सुदृढिकरण र पूनर्जागरणको लागि एकपटक फेरि सिंगो अभियान जुरुक्क उठ्न जरुरी छ । यो अवस्था भन्दापछि जाने र तल झर्ने छुट हामी कसैलाई छैन । फेरि पनि सहकारीको विकल्प सहकारी नै हो । हामीले नयाँ आर्थिक वर्षको प्रारम्भ फेरि पनि पहिलो दिनमा नै ५५ जना नयाँ सदस्य बनाउदै शानदार शुरुवात गरेका छौं । म त्यो सुन्दर भविष्यको कल्पना गरेर बसेको छु, ‘सुखी सदस्य, दिगो सहकारी’ निर्माण गर्ने । जसले समृद्ध नेपाल निर्माणको लागि एउटा ईटा थप्न सकोस् ।

Advertisment